कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अफगानिस्तानको संसदीय निर्वाचन लक्षित १६६ आक्रमण, दर्जनौं व्यक्ति हताहत

रासस

काबुल — अफगानिस्तानमा शनिबार भएको संसद्को तल्लो सदन अर्थात् ‘बोलेसी जिर्गा निर्वाचनका क्रममा दर्जनौं व्यक्ति हताहत भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।  शनिबार भएको निर्वाचनका क्रममा हत्या र हिंसा प्रायः काबुलमा भएको बताइएको छ ।

अफगानिस्तानको संसदीय निर्वाचन लक्षित १६६ आक्रमण, दर्जनौं व्यक्ति हताहत

काबुलको कैयौँ स्थानमा भएको विस्फोटमा परी चार व्यक्तिको मृत्यु हुनुका साथै अन्य ७८ जना घाइते भएका स्वास्थ्य मन्त्रालयका प्रवक्ता मोहिबुल्लाह जारले बताएका छन् ।


तालिवान आतङ्ककारी समूहले अफगान मतदातालाई मतदान केन्द नजान चेतावनी दिँदै आएका थिए ।


अफगानिस्तानमा शनिबार बिहान ७ बजेदेखि नै संसदीय निर्वाचन सुरु भएको थियो । तालिवान आतङ्ककारी समूह शनिबार बिहानबाट मतदान केन्द्र, प्रहरी चौकी र सेनाको इलाकालाई लक्षित १६६ वटा आक्रमण गरेका छन् । कुन्दुज प्रान्तमा पनि तीन वटा रकेट आक्रमण गरिएको र तर यसबाट मानवीय क्षति भने नभएको बताइएको छ । स्थानीय समयानुसार शनिबार बिहान ७ बजेदेखि सुरु भएको निर्वाचनमा तालिावान आतङ्ककारी समूहको चेतावनीको बाबजुद पनि लाखौँको सङ्ख्यामा सर्वसाधारण मतदानमा भाग लिएका थिए ।


लामो समयको प्रतिक्षापछि संसद्को तल्लो सदन अर्थात् ‘बोलेसी जिर्गा २४९ सिटका लागि दुई हजार ५०० जनाले उम्मेदवारी दिएका छन् । निर्वाचनमा हत्याहिंसा मच्चाउने प्रतिज्ञा गरेर बसेका तालिवान आतङ्ककारीका कारण निर्वाचनमा ५० हजारभन्दा बढी सुरक्षा अधिकारी तैनाथ गरिएको थियो । उक्त निर्वाचनका लागि ३० लाख महिलासहित करिब ९० लाख व्यक्तिले मतदाता नामवलीमा आफ्नो नाम दर्ता गरेका थिए ।


निर्वाचनका लागि एक करोड २० लाख व्यक्ति मतदानयोग्य मतदाता रहेका र सोमध्ये ९० लाखले मात्र आफ्नो नाम दर्ता गरेका थिए । अफगानिस्तानको तल्लो सदनमा निर्वाचित सदस्यको पाँच वर्षको अवधि हुने गरेको छ । अफगानिस्तानमा तालिवान र इस्लामिक स्टेट्स् आतङ्ककारी समूहका कारण आम निर्वाचनमा हत्या र हिंसाको अत्यन्त डरलाग्दो स्थिति रहेको पाइन्छ ।

प्रकाशित : कार्तिक ३, २०७५ २२:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?