कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रदूषणले बसिनसक्नु दिल्ली

सुरेश न्यौपाने

नयाँदिल्ली — आकाश धुम्म  । वरपरको हावा यति धेरै प्रदूषित छ कि श्वाससमेत लिनै गाह्रो  । श्वासप्रश्वास र मुटुसम्बन्धी विभिन्न समस्याको उस्तै जोखिम । वायु प्रदूषणका कारण सिर्जित यिनै समस्याका कारण भारतको राजधानी नयाँदिल्ली बस्नका लागि दुष्कर बन्दै गएको छ ।

प्रदूषणले बसिनसक्नु दिल्ली

प्रदूषणकै कारण दिल्लीबासीमा फोक्सो र मुटु रोगको जोखिम बढेको छ ।


वातावरणसम्बन्धी विभिन्न निकायको मापनले यहाँको हावाको प्रदूषण स्तर ‘निकै जोखिमपूर्ण’ छ । बुधबार दिल्लीको हावाको गुणस्तर मापन गर्ने सूचक एअर क्वालिटी इन्डेक्स (एक्बूआई) ३५८ थियो । जब कि जनस्वास्थ्यका हिसाबले त्यस्तो इन्डेक्स सयभन्दा तल हुनुपर्छ । पछिल्लो समयमा हावामा पनि हानिकारक पदार्थको मात्रा पनि मापदण्डभन्दा निकै नै बढी पाइएको छ ।


बुधबार राति दिल्लीको इन्डियागेटमा हावामा पीएम १० मात्रा ७०५ मापन गरिएको थियो । जुन सामान्य मापदण्डभन्दा सात गुणाले बढी हो । त्यसैगरी पीएम २.५ को मात्रा २७२ थियो जब कि सामान्य मापदण्ड ६० मात्र हो । दिल्लीका सबभन्दा प्रदूषित स्थान भनेर चिनिने आनन्द विहार क्षेत्रमा पीएम १० को मात्रा ८४९ र पीएम २.५ को मात्रा २७२ थियो । अझै यहाँको वायु प्रदूषण तथा मौसम अनुमान अनुसन्धान केन्द्रले आगामी दस दिनभित्र राजधानी दिल्लीको वायु गुणस्तर थप बिग्रने जनाएको छ ।


दिल्लीको वातावारण यो हदसम्म प्रदूषित हुनुमा गाडीबाट हुने प्रदूषणका अलावा पन्जाब र हरियाणाका किसानले हिउँदे बाली लगाउनका लागि खेतमै पराल र धानको ठुटो जलाउनुलाई पनि जिम्मेवार ठानिएको छ । दिल्ली छेउका पञ्जाब र हरियाणा राज्यका किसानले हिउँदे बालीका लागि राम्रो मल हुने विश्वासका साथ पराल र धानका ठुटा जलाउने गर्छन् । जब कि सरकारले त्यसरी जलाउन गतवर्ष नै प्रतिबन्ध लगाएको थियो ।


प्रदूषणका कारण हावामा कार्बनमोनोअक्साइडजस्ता विषालु ग्यासको मात्रा बढ्दै गएको सरोकारवाला निकायले जनाएका छन् । जसका कारण दिल्लीमा पछिल्लो समय मुटु र फोक्सोका बिरामीको संख्यामा पनि उल्लेख्य वृद्धि भएको छ ।


दिल्लीको प्रदूषण मानव स्वास्थ्यका हिसाबले चिन्ताजनक अवस्थामा पुगेको भन्दै त्यसलाई नियन्त्रण गर्न सर्वोच्च अदालतले विभिन्न आदेशसमेत जारी गरेको थियो । अदालतले राजधानी दिल्लीको एनसीआर र वरपरका भागमा कोइलाबाट चल्ने थर्मल प्लान्ट र औद्योगिक क्षेत्र बन्द गर्न सरकारका नाममा परमादेश जारी गरेको थियो ।


प्रदूषण नियन्त्रण गर्न सर्वोच्च अदालतद्वारा गठित वातारण प्रदूषण नियन्त्रण तथा रोकथाम प्राधिकरण (ईपीसीए) ले विभिन्न निर्देशनसमेत जारी गरेको छ ।


प्राधिकरणले १ देखि १० नोभेम्बरसम्मका लागि मुन्डका औद्योगिक क्षेत्र, ठूला निर्माणका काम, कोइला र बायोमासबाट चल्ने उद्योग र ढुंगा क्रसर उद्योग लगायत बन्द गर्न सरकारलाई निर्देशन दिएको छ । साथै, अदालतले प्रदूषण अपेक्षाकृत सुधार नभए निजी सवारीसाधनमाथि केही समयका लागि जोरबिजोर प्रणाली लागू गर्न वा सडकमा गुड्नसमेत प्रतिबन्ध लगाउन आदेश दिएको छ । यस अवधिमा निजी गाडीको चाप कम गर्न दिल्ली मेट्रोले २१ वटा मेट्रो थप गर्ने निर्णयसमेत गरेको छ ।


तिहारका बेला पड्काइने पटाकाले गर्दा पनि नोभेम्बरमा अत्यधिक प्रदूषण बढ्ने गरेका कारण अदालतले राजधानी दिल्लीमा हावालाई प्रदूषित नगर्ने वातावरणमैत्री पटाका मात्र पड्काउन पाउने आदेश जारी गरेको छ ।


अदालतले तिहारलगायतका चाडपर्वमा पटाका पड्काउनका लागि साँझ ८ देखि १० बजेसम्मको समय तोकेको छ ।

प्रकाशित : कार्तिक १६, २०७५ ०८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?