१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

इजिप्टमा नेपालले भन्यो,'बाघ बढाउने लक्ष्य हामीले अरु भन्दा पहिला पूरा गर्यौँ'

अब्दुल्लाह मियाँ

शाम एल शेख, इजिप्ट — जैविक विविधता सम्बन्धि महासन्धि (सीबीडी) का पक्ष मुलुकहरुको जारी २४ औँ सम्मेलनमा जैविक विविधता संरक्षणका साथै वन्यजन्तु संरक्षणमा नेपालले हासिल गरेका उपलब्धि विश्वसामु सुनाएको छ । 

इजिप्टमा नेपालले भन्यो,'बाघ बढाउने लक्ष्य हामीले अरु भन्दा पहिला पूरा गर्यौँ'

सम्मेलनको नेतृत्व गरिरहेको वन तथा वातावरण मन्त्रालयको टोलीले पछिल्लो अवधिमा नेपालले विश्वमै दुर्लभ पाटे बाघ, एकसिंगे गैंडा लगायतका ठूला वन्यजन्तु, समुदायमा आधारित संरक्षणका साथै प्रकृति संरक्षणमा नेपालले हात पारेका उपलब्धिबारे सुनाएको हो ।


सम्मेलनमा महासन्धिका पक्ष मुलुकहरु १ सय ९६ देशका सरकारी अधिकारी र जैविक विविधता संरक्षणमा काम गर्ने दातृ निकाय,अनुसन्धानकर्ता र पक्ष मुलुक नभएका अमेरिका लगायतका मुलुकबाट पर्यवेक्षक सहभागी छन् ।


सम्मेलनमा सहभागी वन तथा भू संरक्षण विभागका उपमहानिर्देशक सहसचिव डा.राजेन्द्र केसीले विश्व समुदायमाझ गरिएका प्रतिबद्धता नेपालले निश्चित समय अघि नै हासिल गरिसकेकाले ती विषयबारे विश्व समुदायलाई जानकारी गराएको बताए ।


'संरक्षित क्षेत्रको प्रतिशत कायम गर्ने, बाघको संख्या विस्तार गर्ने, जैविक विविधताबाट गरिब, विपन्न र जनजाती समुदायमा लाभको बाँडफाँड लगायतका विषयमा हामीले लक्षित समयअघि नै उपलब्धि हासिल गरेका छौं' उपमहानिर्देशक केसीले कान्तिपुरसित भने,'तीनै विषयमा हामीले सम्मेलनका दौरान विश्व समुदायलाई सुनायौँ, यो हाम्रो उपलव्धी हो ।'


यसै वर्ष सकिएको बाघ गणना अनुसार पर्सा निकुञ्जदेखि शुक्लाफाँटा निकुञ्जसम्मका ५ वटा निकुञ्जमा बाघको संख्या २ सय ३५ पुगेको छ । सन् २०१० मा रुसको पिटर्सबर्गमा भएको बाघ पाइने देशका प्रमुखहरुको सम्मेलनमा नेपालले सन् २०२२ सम्म बाघको संख्या १ सय २१ बाट दोब्बर गरी २ सय ५० पुर्याउने प्रतिबद्धता जनाएको थियो । पछिल्लो गणनाले चार वर्ष अघि नै नेपाल उक्त प्रतिबद्धताको नजिक पुगेकोबारे विश्व समुदायलाई जानकारी गराएको हो ।


सन् २०१० मा बाघ पाइने देशका प्रमुखहरुको सम्मेलनले सन् २०२२ सम्म विश्वभर प्राकृतिक वासस्थानमा बाघको संख्या ३५ सयबाट बढाएरको दोब्बर पार्ने संकल्प गरेको थियो । उक्त सम्मेलनमा नेपालबाट तत्कालीन प्रधानमन्त्री माधव नेपाल सहभागी थिए । विश्वमा १२ देशमा बाघ पाइन्छ । तीमध्ये भारत, नेपाल र रुसमा बाघको बढोत्तरी राम्रो पाइएको छ ।

नेपालले संरक्षण क्षेत्रको प्रतिशतसमेत लक्षित समयभन्दा अघि नै हासिल गरेको छ । सन् २०२० सम्म संरक्षित क्षेत्र कुल भूभागको २० प्रतिशत पुर्याउने लक्ष्यमा नेपालले आधा दशक अघि नै २३.३९ प्रतिशत भन्दा बढी पुर्याएकोबारे पनि नेपालले सुनाएको छ । नेपालमा निकुञ्ज, आरक्ष र संरक्षित क्षेत्र गरी २० वटा कायम गरिएको छ ।

प्रकाशित : मंसिर ४, २०७५ २०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?