कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आप्रवासी बालिकाको मृत्युबारे अमेरिकाद्वारा अनुसन्धान 

एएफपी

वासिङ्टन — अमेरिकी अधिकारीले प्रहरी थुनामा ज्यान गुमाएकी ७ वर्षीया बालिकाको मृत्युबारे अनुसन्धान सुरु गरेको जनाएका छन् । 

गैरकानुनी रूपमा अमेरिका प्रवेश गरेकी ग्वाटेमालाकी बालिकाको शुक्रबार मृत्यु भएको थियो । अधिकारीका अनुसार जकेलिन काल मक्विनलाई मेक्सिको सीमा क्षेत्रबाट गैरकानुनी रूपमा अमेरिका प्रवेशपछि नियन्त्रणमा लिइएको थियो ।


अमेरिकी अखबार द वासिङ्टन पोस्टका अनुसार थुनामा रहेकी उनको शरीरमा पानीको मात्रा कम भएका कारण ज्यान गएको हो । अधिकारीले ती बालिकाले कैयौं दिनदेखि पानी पिउन तथा केही खाना नपाएको जनाएका थिए ।


पक्राउ परेपछि निकै डराएकी ती बालिकामा एकाएक काँप्ने समस्यासमेत देखिएको थियो । उनलाई उपचारका लागि स्थानीय अस्पताल पुर्‍याएलगत्तै मृत्यु भएको दाबी अधिकारीको छ ।

उनी आफ्नो बाबु तथा अन्य मानिससँगै गैरकानुनी रूपमा अमेरिका प्रवेश गरेकी थिइन् । अमेरिकी अधिकारीले हालसम्म औपचारिक रूपमा उनको मृत्युबारे उल्लेख गरेका छैनन् ।


पछिल्ला महिना ग्वाटेमाला, होन्डुसर र एल साल्भाडोरबाट हिँडेका हजारौं आप्रवासी मेक्सिकाको सीमा क्षेत्रमा अलपत्र छन् । अमेरिका प्रवेशका लागि मेक्सिको पुगेका हजारौं आप्रवासीहरु सीमा क्षेत्रको टिजुआना सहरमा कुरिरहेका छन् । उनीहरु करिब ४ हजार किलोमिटरको यात्रा तय गर्दै उक्त क्षेत्रमा पुगेका हुन् ।


बीबीसीका अनुसार उक्त क्षेत्रमा हाल ७ हजार ५ सयभन्दा बढी शरणार्थी छन् ।


अमेरिकी अधिकारीले गैरकानुनी रूपमा अमेरिका प्रवेश गर्नेलाई पक्राउ गर्ने, मुद्दा चलाउने तथा डिपोर्ट गर्ने चेतावनीका बाबजुद केही आप्रवासीहरु सीमा पर्खाल चढेर अमेरिका प्रवेश गरेका थिए । तीमध्ये अधिकांशले अमेरिकी सीमा सुरक्षाफौजसामु आत्मसमर्पण गरेका थिए । केही आप्रवासी भने पक्राउ परिने डरले भागेका थिए । सीमा क्षेत्रमा हाल करिब ६ हजार सुरक्षाकर्मी तैनाथ गरिएका छन् ।


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोबाट अमेरिका प्रवेश गर्न खोज्ने व्यक्तिलाई अवैध आप्रवासीको संज्ञा दिँदै उनीहरुलाई अमेरिका प्रवेश गरेमा पक्राउ गरी फर्काइदिने चेतावनी दिएका थिए । ट्रम्पले दक्षिण अमेरिकी देशका आप्रवासीलाई आफ्नो देश प्रवेशमा रोक लगाउन यसअघि विभिन्न समयमा मेक्सिकोसँगका सबै सीमा बन्द गर्न निर्देशनसमेत दिएका थिए । ट्रम्पले नोभेम्बरको सुरुमा राष्ट्रिय सुरक्षा मामिलाको कारण देखाउँदै अमेरिका प्रवेश गर्ने गैरकानुनी आप्रवासीलाई शरणार्थीका रूपमा स्वीकार नगर्ने आदेश जारी गरेका थिए । तर क्यालिफोर्निया राज्यकाको सान फ्रान्सिस्कोस्थित जिल्ला अदालतका न्यायाधीशले गैरकानुनी रूपमा अमेरिका प्रवेश गर्ने आप्रवासीलाई शरणार्थीको मान्यता नदिने राष्ट्रपतिको निर्देशन कार्यान्वयन नगर्न आदेश दिएका थिए ।

उनले राष्ट्रपतिको आदेश तत्काल कार्यान्वयन नगर्न आदेश दिँदै ‘वर्तमान अमेरिकी कानुनअनुसार जस्तोसुकै प्रक्रियाबाट अमेरिका प्रवेश गर्ने आप्रवासीले शरणार्थीको हैसियतका लागि आवेदन दिन पाउने प्रावधान रहेको’ निर्णय सुनाएका थिए ।

प्रकाशित : मंसिर २९, २०७५ २०:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?