कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिनेट प्रस्तावप्रति साउदीको आपत्ति

एएफपी

रियाद — साउदी अरबले यमनका विद्रोहीविरुद्धको युद्धका लागि अमेरिकाले गर्दै आएको सैनिक सहायता रोक्ने तथा युवराजलाई पत्रकार जमाल खसोग्गीको हत्याको दोष लगाउने सिनेटको प्रस्तावको विरोध गरेको छ । 

साउदी विदेश मन्त्रालयले उक्त कदम ‘अनावश्यक हस्तक्षेप’ तथा ‘झूटो आरोप’ को संज्ञा दिएको छ । बिहीबार सिनेटमा दर्ता प्रस्तावको सांकेतिक अर्थ भएको तथा कानुन बन्ने सम्भावना नरहेको जनाइएको छ ।


यद्यपि, उक्त कदमलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको साउदी अरबप्रतिको नीतिमाथि अमेरिकी सिनेटले व्यक्त गरेको रोषका रूपमा व्याख्या गरिएको छ ।


‘साउदी अरब अमेरिकी सिनेटको पछिल्लो दृष्टिकोणको भत्र्सना गर्दछ किनभने सिनेटका आरोप अपुष्ट छन् । त्यसैले साउदी अरब आन्तरिक मामिलामा भएको अमेरिकी ठाडो हस्तक्षेप अस्वीकार गर्दछ,’ विदेश मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख छ ।


अमेरिकी सिनेटले यमनमा साउदी अरब समर्थित गठबन्धनले जारी राखेको हवाई आक्रमणमा अमेरिकी हातहतियारको प्रयोग रोक्न चाहेको हो । साथै, सिनेटले पत्रकार जमाल खसोग्गी हत्यामा साउदी राजकुमारलाई जिम्मेवार ठहर्‍याएको छ ।


राष्ट्रपति ट्रम्पले यमनमा जारी द्वन्द्वमा अमेरिकी हतियारको व्यापक प्रयोग भएको तथा पत्रकार खसोग्गीको हत्याका बारेमा विश्वव्यापी आलोचना भइरहेको साउदी अरबको शासन सत्तालाई समर्थन गर्दै आएका छन् ।


यमनको गृहयुद्धमा अमेरिकी समर्थन त्याग्नुपर्ने पक्षमा ५६ सिनेटरले मतदान गरेका थिए । उक्त मतदानमा डेमोक्रयाट र उनीहरूका विचारमा समर्थन जनाउने ७ रिपब्लिकन सिनेटर सहभागी थिए । राष्ट्रपति ट्रम्पको पार्टी रिपब्लिकनका ३ सिनेटर मतदानमा उपस्थित भएनन् ।


सिनेटले पत्रकार खसोग्जीको हत्यासम्बन्धी निन्दा प्रस्ताव पनि पारित गरेको छ । त्यसको प्रतिक्रियामा साउदी विदेश मन्त्रालयले राजपरिवारमाथि हुने कुनै पनि किसिमको ‘अपमान’ सहय नहुने बताएको छ । ‘अमेरिकी सिनेटको यो कदमले साउदी–अमेरिकी सम्बन्धमा दरार ल्याउन खोज्नेलाई मद्दत गरेको’ विदेश मन्त्रलायले जनाएको छ ।


सिनेटको उक्त प्रस्तावमाथि जनवरी अघि हाउस अफ रिप्रिजेन्टेटिभमा छलफल हुने अवस्था छैन । राष्ट्रपति ट्रम्पले विशेषाधिकारको प्रयोग गर्ने सम्भावना छ । तर सिनेटको मतदानले ह्वाइटहाउसमा साउदी अरब नीतिप्रति फेरबदल ल्याउन दबाब दिएको ठानिएको छ ।


अमेरिकी अखबार वासिङ्टन पोस्टका नियमित स्तम्भकार जमाल खसोग्गीको टर्कीको इस्तानबुलस्थित साउदी कन्सुलेट कार्यालयमा गत अक्टोबर २ मा हत्या गरिएको थियो । उनी साउदी युवराज मोहम्मद विन सलमानका कट्टर आलोचक थिए । टर्कीका राष्ट्रपति रेसेप तैयप इर्दोगानले घटनामा साउदी युवराज मोहम्मद बिन सलमानको संलग्नता रहेको दाबी गर्दै आएका छन् ।

प्रकाशित : पुस ३, २०७५ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?