कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ब्रेक्जिट मिति सार्न ‘गोप्य’ बैठक

नवीन पोखरेल

लन्डन — बेलायत बिनासम्झौता युरोपेली संघ (ईयू) बाट बाहिरिने स्थिति आउन नदिन सरकारकै मन्त्री र वरिष्ठ सांसदहरूबीच छलफल भइरहेको खुलासा भएको छ ।

ब्रेक्जिट मिति सार्न ‘गोप्य’ बैठक

बेलायतबाट प्रकाशित हुने पत्रिका ‘द अब्जर्भर’ का अनुसार सत्तारूढ कन्जर्भेटिभ पार्टीका वरिष्ठ नेताहरू तथा प्रमुख विपक्षी लेबर पार्टीका केही सांसदबीच त्यस्तो छलफल भइरहेको छ । तर त्यसबारे औपचारिक रूपमा केही बताइएको छैन ।


आउँदो मार्च २९ तारिखमा बेलायत ईयूबाट बाहिरिने मिति तय गरिसकिएको छ । त्यसबारे प्रधानमन्त्री टेरेजा मेले ईयूसँगको एक सम्झौताको खाका बेलायतको संसद्मा अझै पेस गरिएको छैन ।

विपक्षी लेबर तथा सत्तारूढ दलकै कैयौं सदस्यहरू प्रस्तावित सम्झौताको विपक्षमा रहेको ठानिएको छ । यदि सरकारी प्रस्ताव संसद्ले अस्वीकार गरेमा बेलायत बिनासम्झौता (नो डिल) ईयूबाट बाहिरिनुपर्नेछ ।


‘नो डिल’ को स्थिति आए बेलायतको यातायात, औषधि आपूर्ति, सुरक्षालगायत अत्यावश्यक क्षेत्रमा नकारात्मक असर पर्न सक्ने र दंगा हुनसक्ने चेतावनी दिइएको छ ।

त्यस्तो स्थिति आउन नदिन सरकारका मन्त्री र विपक्षी सांसदबीच छलफल भइरहेको पत्रिकाले जनाएको छ ।


नाम बताउन नचाहने सत्तारूढ दलका एक वरिष्ठ सदस्यले यसबारे अनौपचारिक वार्ता भइरहेको र बेलायत ईयूबाट बाहिरिने मिति पर सार्ने सम्भावनाबारे छलफल भइरहेको पनि पत्रिकालाई बताएका छन् ।


कन्जर्भेटिभ पार्टीका एक सांसद तथा भूतपर्व महान्यायाधिवक्ता डोमिनिक ग्रीभले प्रधानमन्त्री मेले संसद्मा लगेको सम्झौता अनुमोदनको प्रस्ताव पारित नभए बेलायत ईयूबाट बाहिरिने मिति (मार्च २९) लाई पर सार्नुको विकल्प नरहने बताए । त्यो स्थितिमा नयाँ जनमत संग्रह गर्नुपर्ने अवस्था आउन सक्ने पनि उनले जनाउ दिए ।


लेबर पार्टीका ब्रेक्जिटसम्बन्धी प्रवक्ता कियर स्टार्मरले यही जनवरीमा प्रधानमन्त्री मेले संसद्मा निर्णयार्थ प्रस्तुत गर्ने सम्झौता अस्वीकृत भए अर्थतन्त्रलाई कसरी जोगाउने भन्नबारे संसद्ले निकै गहिरो बहस गर्नुपर्ने र त्यो बेला जुनसुकै विकल्प पनि अपनाउन सकिने बताए । ईयूका पदाधिकारीले बेलयातले चाहे ब्रेक्जिट मिति पर सार्न सकिने जनाएका छन् । तर, उनीहरूले बेलायतसँग पटकपटक सम्झौता गर्न नसकिने स्पष्ट पारे ।


यसैबीच एक जर्मन समाचारपत्रसँग कुरा गर्दै युरोपेली आयोगका अध्यक्ष जाँ क्लाउड यान्करले आफूहरूले बेलायतलाई ईयूमै राखिरहन षड्यन्त्र गरिरहेको भन्ने आरोपको खण्डन गरेका छन् । उनले भने, ‘पहिले बेलायतले आफ्नो मतभिन्नता देश भित्रै सुल्झाउनुपर्छ । हामीबाट समाधानको अपेक्षा गर्नु एकदमै अनुपयुक्त कुरा हो ।’

प्रकाशित : पुस १५, २०७५ २१:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?