कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यसरी छानिए दश

काठमाडौ — 'कान्तिपुर वर्षका दस' फेसबुक मतदानबाट गत वर्षका चर्चित, प्रभावशाली र केही भिन्न काम गरेका व्यक्तिहरूको छनोट गर्नका लागि सुरु गरिएको हो । यो चयनका लागि हाम्रो समाजमा प्रभाव रहेका दशवटा क्षेत्र सबभन्दा पहिले छुट्याइयो ।

यसरी छानिए दश
यसमा राजनीति, उद्योग/व्यवसाय, पेसाकर्मी, प्रशासन/सुरक्षा/ न्याय/कूटनीति/संवैधानिक अंग, लेखन, चलचित्र तथा संगीत, कला (रंगमञ्च/ चित्रकारिता/फेसन/मूर्तिकला), खेलकुद, समाजसेवा/कल्याणकारी कार्य/अभियानकर्ता र विज्ञान/सूचना तथा प्रविधि थिए ।
यी दशवटै क्षेत्रका प्रभावशाली र चर्चित व्यक्तित्वको प्रारम्भिक छनोटका लागि प्रत्येक क्षेत्रमा दख्खल राख्ने ५-५ लब्धप्रतिष्ठित व्यक्तित्वहरूको प्रारम्भिक निर्णायक मण्डल (जुरी) निर्माण गरियो (जुरीको नाम बक्समा हेर्नुस्) । प्रत्येक जुरी सदस्यलाई आ-आफ्नो क्षेत्रका पाँचजना प्रभावशाली व्यक्तित्वको प्राथमिकता क्रममा नाम र त्यसका आधारहरू प्रस्ताव गर्ने अधिकार दिइएको थियो । जुरीले प्रस्ताव गरेका व्यक्तित्वहरूलाई पहिलो नम्बरमा पर्ने ५, दोस्रोमा पर्नेको ४ हुँदै पाँचौं नम्बरमा पर्नेलाई १ अंकका आधारमा क्षेत्रगत रूपमा प्राथमिकता तोकियो । यही प्राथमिकताका आधारमा सबैभन्दा धेरै अंक प्राप्त गर्नेलाई सबैभन्दा अगाडि हुने गरी खुला मतदानका लागि अनलाइनमार्फत सार्वजनिक गरियो । जस्तै ः राजनीतिमा जुरीको सबैभन्दा बढी मत पाएकाले सुशील कोइरालाको नाम यो विधामा पहिलोमा राखिएको थियो । तर, फेसबुक मतदान सुरु भएपछि भने बढी लाइक पाउनेको नाम सबभन्दा अगाडि आउने व्यवस्था मिलाइएको थियो ।
सबै जुरी सदस्यले आफ्नो विधामा पाँचैजना प्रस्ताव गरेका थिएनन् । केही सदस्यहरूले दुई वा तीनजनालाई मात्र पनि मत दिएका थिए । त्यसैगरी, जुरी सदस्यहरूले मनोनीत गरेका नामहरू एकअर्कासँग कोही मिल्ने कोही नमिल्ने हुँदा विधागत रूपमा मतदानका लागि सार्वजनिक गरिएको व्यक्तित्वहरू संख्या बराबर भएन । खेलकुदका पारस खड्का, शरद भेषवाकर र विमल घर्तीमगरले मात्र सबै जुरी सदस्यको मत पाएका थिए ।
अरू कुनै पनि विधामा यस्तो भेटिएन । जुरीबाट दिइएको मतका आधारमा सबैभन्दा बढी व्यक्तित्व कला विधामा मनोनीत भए । यो विधामा जम्मा २२ जना मनोनीत थिए । सबभन्दा कम मनोनीतचाहिँ खेलकुदमा, ११ जना थिए । दशैवटा विधामा गरेर जम्मा १६९ जना मनोनीत भएका थिए ।
मतदानका लागि फेसबुकको लाइक बटनलाई प्रयोगमा ल्याइएको थियो । यसले गर्दा फेसबुक प्रयोगकर्ताहरूले मात्र त्यसमा सहभागी हुन पाउँथ्यो । मतदानका लागि राखिएका व्यक्तित्वहरूको संक्षिप्त परिचय जुरी सदस्यहरूले दिएका छनोटको आधारलाई नै सामान्य भाषिक सम्पादन गरी राखिएको थियो ।
मतदानका लागि मिति २०७० माघ १९ गते मध्यरातदेखि २८ गते मध्यरातिसम्म दश दिनका लागि राखिएको थियो । यस क्रममा भोटिङको क्रममा केही विधामा उतारचढाव देखिएको थियो भने केहीमा सुरुदेखि नै एकै तरिकाको मत आएको देखिन्थ्यो । तर, भोटिङ प्रविधिमा आधारित भएकाले सुरुमै प्रविधिको दुरुपयोग गरिएको पाइएमा मतलाई बदर गरिने जानकारी गराइएको थियो । प्रविधिको दुरुपयोग भए/नभएको व्यवस्थित प्रणालीबाट अनुगमन गरिएको थियो ।
मतदानबाट कुल ४ लाख १ हजार ६८४ वटा वास्तविक मत प्राप्त भएको छ । त्यसबाहेक केही मत प्रविधिको दुरुपयोगबाट प्राप्त भएको पाइएपछि त्यसलाई हटाइएको छ । जसले गर्दा खुला मतदानका लागि राखिएको अनलाइन पृष्ठमा देखिएको भन्दा वास्तविक मतको संख्या केही हेरफेर भएको छ । यस्तो प्रविधिको दुरुपयोग प्रतिस्पर्धामा रहेका व्यक्तित्वहरूबाटै भएको भन्ने अर्थ भने लाग्दैन । त्यही वास्तविक मतका आधारमा 'कान्तिपुर वर्षका दश' छानिएको हो ।
मनोनीतहरूमध्ये सबैभन्दा बढी मत अभिनेत्री रेखा थापाले पाइन् । चलचित्र तथा संगीत क्षेत्रमा सबैभन्दा बढी मत आएको देखियो । उद्योगपतिको सूचीमा मनोनीत विनोद चौधरीले आफ्नो नाम झिक्न लिखित आग्रह गरेपछि उनको नाम हटाइएको थियो । जम्मा मनोनीतमध्ये महिलाको संख्या बीस प्रतिशतभन्दा बढी थियो ।
प्रारम्भिक निर्णायक मण्डल
राजनीति
- प्रा. कृष्ण खनाल, राजनीतिशास्त्री
- नारायण वाग्ले, पत्रकार/लेखक
- कियोको ओगुरा, अध्येता
- विष्णु सापकोटा, विश्लेषक
- चन्द्रकिशोर, पत्रकार/विश्लेषक
उद्योग/व्यावसायिक क्षेत्र
- रामेश्वर खनाल, पूर्वसचिव
- प्रमिला आचार्य रिजाल, अध्यक्ष- सार्क महिला उद्यमी परिषद्
- राजकुमार भट्टराई, अध्यक्ष- नेपाल विज्ञापन संघ
- प्रा. विश्वम्भर प्याकुरेल, अर्थशास्त्री/लेखक
- किरण नेपाल, पत्रकार
पेसाकर्मी
- आशुतोष तिवारी, नेपाल प्रमुख- वाटर एड
- अनिल चित्रकार, लेखक/सामाजिक उत्प्रेरक
- डा. दीपेन्द्रबहादुर क्षेत्री, पूर्वगभर्नर- नेपाल राष्ट्र बैंक
- शिव गाउँले, अध्यक्ष- नेपाल पत्रकार महासंघ
- डा. जुगल भुर्तेल, विश्लेषक
प्रशासन/सुरक्षा/न्याय/कूटनीति/संवैधानिक अंग
- अनन्तबहादुर थेबे, पूर्वउपरथी- नेपाली सेना
- डा.राजन भट्टराई, परराष्ट्रविद्
- बृन्दा हाडा, पूर्वसचिव
- डा.विपीन अधिकारी, कानुन व्यवसायी/लेखक
- नवराज ढकाल, पूर्वएआईजी- नेपाल प्रहरी
लेखन
- डम्बर चेम्जोङ, मानवशास्त्री
- केदार शर्मा, पत्रकार
- डा.सुरेश ढकाल, मानवशास्त्री
- प्रा. सुधा त्रिपाठी
- वसन्त थापा, लेखक
चलचित्र तथा संगीत
- दीपा गौतम, पत्रकार
- भरत शाक्य, पत्रकार
- अनुप सुवेदी, समीक्षक
- विजयरत्न तुलाधर, चलचित्रकर्मी
- लोचन रिजाल, संगीत अध्येता
कला (रंगमञ्च/चित्रकला/फेसन/मूर्तिकला)
- हरिहर शर्मा, रंगकर्मी/कलाकार
- संगीता थापा, आर्ट क्युरेटर
- प्रा.अभि सुवेदी, लेखक
- कला सुब्बा, मोडल/प्रस्तोता
- सुरेश मानन्धर, पत्रकार
खेलकुद
- अजय फुँयाल, अध्यक्ष- नेपाल खेलकुद पत्रकार मञ्च
- सञ्जीव शिल्पकार, पत्रकार
- संगीना वैद्य, खेलाडी
- रमेश खनाल, खेल मनोविज्ञ
- दीपक विष्ट, खेलाडी
समाज सेवा/कल्याणकारी कार्य
- राजेश हमाल, कलाकार
- शर्मिला कार्की, अध्यक्ष- गैरसरकारी संस्था महासंघ
- आरति चटौत, पत्रकार
- शारदा शर्मा, लेखक
- वीरेन्द्रबहादुर बस्नेत, उद्यमी/प्रबन्ध निर्देशक- बुद्ध एयर
विज्ञान/सूचना तथा प्रविधि
- प्रा.उदयराज खनाल
- विमलकुमार शर्मा, पूर्वअध्यक्ष- क्यान
- प्रा.दिनेशराज भुजू
- गणेश साह, पूर्वविज्ञान मन्त्री
- डा. तीर्थबहादुर श्रेष्ठ, वनस्पतिविज्ञ/लेखक

प्रकाशित : फाल्गुन ८, २०७० १९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?