२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७५४

धमिलो आकाश, अमिलो मन

पोखराको आकाश तुँवालोले ढाकेर हिमाल हेर्न नपाउँदा निराश पर्यटक
दीपक परियार

पोखरा — मौरिस हर्जोगको चर्चित किताब ‘अन्नपूर्ण’ बाट प्रभावित भएर हिमाल हेर्न नेपाल आएका फ्रान्सका पास्कल ब्लेन्क र सुजेन ब्लेन्कको जोडीले पोखराबाट अन्नपूर्ण देखेनन् । उनीहरु हर्जोग हिँडेकै भेग घोरेपानी–पुन हिल पदयात्रामा निस्कने तयारीमा छन् । सोमबार काठमाडौंबाट पोखरा आउने क्रममा अन्नपूर्ण हिमशृंखला हेर्ने कल्पना गर्दै आएको ७१ वर्षीय पास्कलले सुनाए । 

धमिलो आकाश, अमिलो मन

मंगलबार फेवा ताल किनारमा सूर्यास्तको अवलोकनपछि उत्तरतिर सराङकोटपट्टि फर्किएर उनले भने, ‘आकाश हेजी (धमिलो) छ । यहाँबाट अलि दिन हिमाल हेर्न पाउँदैनौं होला ।’ ७४ वर्षीय सुजेनले अर्को साता पदयात्रामा गएर हिमाल हेर्ने धोको पूरा गर्ने बताइन् । उनले भनिन्, ‘आशा छ हामी पुग्ने ठाउँमा यस्तो धुँवा र प्रदूषण हुने छैन ।’

आकाश छयाङ्ग खुलेको बेला पोखराबाट ८ हजार मिटरमाथिका तीनवटा हिमाल देखिन्छ । अन्नपूर्ण प्रथम, धवलागिरि र मनास्लु । पोखरा आउने आन्तरिक र बाह्य पर्यटक माछापुच्छ्रेलाई पृष्ठभूमिमा राखेर तस्बिर खिच्न लालायित हुन्छन् । चैत सुरु भएयता भने पोखराको आकाश नीलो छैन । धुँवा र प्रदूषणले यहाँको हावा स्वस्थ छैन । उपत्यका वरिपरि बसेको तुँवालोले हिमाल पूरै ढाकिएको छ । काठमाडौं शंखमुलबाट ६ जनाको परिवारसहित बिदा मनाउन पोखरा आएका दलबहादुर श्रेष्ठ मंगलबार पुम्दीभुम्दी पुगे । लस्करै उभिएका हिमाललाई अग्लो डाँडाबाट अरुबेलाजस्तो आँखाअघि हेर्न पाएनन् । फेवाताल र पोखरा बजार पनि धमिलो देखियो । ‘यसपल्ट पहिलापहिलाजस्तो रमाइलो भएन, हिमाल नै देख्न पाइएन,’ पाँचौँपल्ट पोखरा घुम्ने आएका उनले भने, ‘जे सोचेको आइएको थियो, त्यो पूरा नहुँदा नरमाइलो लाग्ने रहेछ । धमिलो आकाश देखेर मनै अमिलो भयो ।’

डढेलोको धुँवा र प्रदूषणको असर पोखराको पर्यटनमा पनि देखिन थालेको छ । पोखरामा यतिबेला भारतीय र अन्य विदेशी पर्यटकको उपस्थिति बाक्लो देखिए पनि दृश्यावलोकनमा निस्कने पर्यटकको संख्यामा भने कमि आएको छ । तुँवालोले आकाश ढाकिएपछि दृश्यावलोकनका लागि चल्तीका गन्तव्यमा पर्यटनक जान नखोजेको पोखरा सिटी टुर गाइड एसोसियसनका अध्यक्ष आनन्द गुरुङ बताउँछन् । हिमशृंखला, फेवा ताल, पोखरा बजार लगायतको दृश्यावलोकनका लागि सराङकोट, पुम्दीभुम्दी, कास्कीकोट, काहुँडाँडा चल्तीका गन्तव्य हुन् । अहिले ती गन्तव्यमा पुग्ने पर्यटकको संख्यामा २५ प्रतिशतले कमि आएको गुरुङले बताए । ‘हामीले पनि हिमाल देखाउँदै व्याख्या गर्न नपाइने भयो,’ उनले भने, ‘पर्यटकले पनि त्यहाँ गएर केही देखिँदैन, किन जाने भन्छन् । यसले व्यावसायिक रुपमा सबैभन्दा बढी मार सिटी टुर गाइडलाई परेको छ ।’ तुँवालोले मौसम नै नरमाइलो भएपछि पर्यटकले बसाइ छोट्याएको उनको अनुभव छ ।

पोखरा पर्यटनको राजधानी घोषणा भएपछि पर्यटकको संख्या बढेको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ बताउँछन् । पर्यटक आइसकेपछि भने हिमाल हेर्न नपाउँदा निराश हुने गरेको उनले सुनाए । ‘विश्वव्यापी रूपमा भएको तापमान वृद्धि र जलवायु परिवर्तनको असरले पनि होला,’ उनले भने, ‘समयमै ख्याल नपुर्‍याउँने हो भने यसले पर्यटन व्यवसायमा गम्भीर क्षति पुर्‍याउँछ ।’ धुँवा र धुलोले पोखरामा मात्रै होइन, कास्कीका अन्य गाउँमा रहेका पर्यटन व्यवसायमा पनि असर पुगेको छ । पोखरादेखि उत्तर पूर्वमा रहेको पर्यटकीय गाउँ सिक्लेस हिमालको नजिकै छ । अन्नपूर्ण र लमजुङ हिमाललाई नजिकबाट अवलोकन गर्ने उद्देश्य सिक्लेस पुग्ने पर्यटकको हुन्छ । अहिले चैतको अन्तिम साताबाट सिक्लेस र ताङतिङबाट समेत हिमाल देखिएको छैन, धुँवाले ढाकिएको छ । सिक्लेस होटल व्यवस्थापन समितिका अध्यक्ष पारस गुरुङका अनुसार हाल नजिकैको गाउँ तप्राङको वनमा आगलागी भइरहेको छ । तप्राङपारि घ्याम्राङमा पनि डढेलो फैलिएको छ ।

पोखराबाटै अलि परको डाँडा नदेखिएको अवस्थामा पर्यटकले सिक्लेसबाट हिमाल देखिएको/नदेखिएको बारे सोधपुछ गर्छन् । ‘पाहुनालाई ढाँट्ने कुरा पनि भएन, अहिले हिमाल देखिएको छैन भन्छौं,’ अध्यक्ष गुरुङले भने, ‘त्यसो भन्दा कति बुकिङ क्यान्सिल भएको छ ।’ सिक्लेस नै आएका पर्यटक पनि हिमाल हेर्न नपाएपछि बसाइ छोट्याएर फर्किएको उनले सुनाए । ‘पहिलो पनि डढेलो लाग्थ्यो तर यसरी जमेर बस्न थालेको २–३ वर्ष मात्रै भयो,’ उनले भने, ‘पानी पर्‍यो भने सफा होला । पानी पर्नै सकेन ।’

पोखराबाट अन्नपूर्ण क्षेत्रसम्मै तुँवालो फैलिएको छ । पर्यटकीय गाउँ घान्द्रुकबाटै पर्यटकलाई हिमाल देखाउन नपाएको ट्रेकिङ गाइड हीरा मल्लले सुनाइन् । उनी दुईजना विदेशी पर्यटक लिएर १४ दिनका लागि मर्दी, घान्द्रुक, घोरेपानी–पुन हिल–खोप्राको पदयात्रामा निस्किएकी थिइन् । मौसम सफा नभएकोले पर्यटकको आग्रहमा यात्रा छोट्याएर ११ दिनमा पोखरा फर्किएको उनले बताइन् । ‘पर्यटकले यहाँको मौसम सँधै यस्तै हो भनेर सोध्छन्,’ उनले भनिन्, ‘हामीले डढेलोको कारण यस्तो भएको हो भन्छौं ।’

अन्तर्राष्ट्रिय वायु जाँच संस्था आईक्यूएयरको तथ्यांकअनुसार मंगलबार पोखराको वायु गुणस्तर सूचकांक (एक्यूआई) १५२ थियो, जुन अस्वस्थकर हो । सोमबारको एक्यूआई १६४, आइतबार १५६ र शनिबार १५३ थियो । पोखराकाो प्रदूषण मानव स्वास्थ्यलाई हानी हुने तहमा पुगेको देखिन्छ । प्रदूषणकै कारण भिजिबिलिटी कम हुँदा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान अवरुद्ध भए । संरक्षणकर्मी हुमबहादुर गुरुङ वन डढेलो र उत्तरपूर्वी भारतबाट आएको प्रदूषणको कारण पोखराको आकाश पनि धुम्मिएको बताए । पोखरामा पनि कचौरामा जमेर बसेजस्तै तुँवालो बसेकोले बाहिर जान नसक्दा प्रदूषण उच्च भएको उनको भनाइ छ । ‘यसले दक्षिणि भेगका हिमाली गाउँमा असर परिरहेको छ,’ उनले भने, ‘ग्रामीण अर्थतन्त्रमा पनि यसको असर देखिन्छ ।’ हिमाल हेर्न जाने पाहुना घट्दा स्थानीय होटल व्यवसायी, होम स्टे सञ्चालकको आम्दानी घट्ने उनले बताए ।

डिभिजन वन कार्यालय कास्कीको तथ्यांक अनुसारा फागुनयता ५ हजार हेक्टर वन क्षेत्रमा डढेलो लागेको छ । स्थानीयले मकै लगाउनुअघि खेतबारीमा कान्लामा लगाउने आगो फैलिएर वनसम्म पुगेको छ । कास्कीका डिभिजनल वन अधिकृत कोमलराज काफ्ले वन डढेलो न्यूनीकरणमा समुदायकै प्रमुख भूमिका हुने देख्छन् । ‘डढेलो लगाउनुहुन्न भन्ने चेतना पहिला समुदायमै हुन जरुरी छ,’ उनले भने, ‘सचेतना वृद्धिमा वन मन्त्रालयले विस्तृत योजना बनाउनुपर्छ । डढेलो लागिसकेपछि त्यसलाई नियन्त्रण गर्ने जिम्मेवारी वन कार्यालय एक्लैको हो भनेर उम्कन मिल्दैन ।’

प्रकाशित : वैशाख १२, २०८१ १७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?