अर्थ / वाणिज्य
असार ३२, २०७५

खाद्यान्न २० लाख टन अपुग

कृषिप्रधान मुलुक भनिए पनि परनिर्भरता बर्सेनि बढ्दै गएको तथ्यांकले देखाएको छ । कृषि मन्त्रालयका अनुसार करिब २० लाख टन खाद्य तथा फलफूल विदेशबाट आयात गरी पूर्ति गरिएको छ ।

विदेशी लगानीको झन्डै आधा जलविद्युत्मा

यो वर्ष मुलुक भित्रिएको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) मध्ये झन्डै आधा जलविद्युत् आयोजनामा उपयोग भएको छ । गत वैशाखसम्म नेपाल भित्रिएको कुल विदेशी लगानीको करिब ४६ प्रतिशत विभिन्न जलविद्युत् आयोजनामा लगानी भएको हो ।

एकीकृत भन्सार निर्माण सुरु

चीनसँग सीमा जोडिएको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा एकीकृत भन्सार कार्यालय भवनको निर्माण सुुुरु भएको छ । ५४ करोड ८५ लाख ५५ हजार ८ सय १९ रुपैयाँ लागतमा ६ तले भवनको निर्माण सुरु भएको हो ।

सलाद फिर्ता लियो म्याकडोनल्डले

अमेरिकी फास्टफुड चेन कम्पनी ‘म्याकडोनल्ड’ ले आफ्नो हजारौं आउटलेटमा रहेको सलाद फिर्ता गरेको छ । परजीवीजन्य रोगका कारण सर्वसाधारण बिरामी भएपछि कम्पनीले अमेरिकाभरि रहेका झन्डै ३ हजार आउटलेटबाट सलाद फिर्ता गरेको ‘दि वासिङटन पोस्ट’ ले जनाएको छ ।

एडीएसएलको भाउ नबढ्ने

सरकारले नयाँ बजेटमार्फत टेलिफोन र इन्टरनेटमा १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क लगाउने निर्णय गरे पनि नेपाल टेलिकमले केही सेवाहरूमा भने भाउ नबढाउने भएको छ । उपभोक्तामाझ लोकप्रिय रहेका केही सेवामा उपभोक्तालाई आर्थिक भार नपर्ने गरी पहिलेकै दरमा उपलब्ध गराइने टेलिकमले जनाएको छ ।

असार ३१, २०७५

चोरी रोक्न ट्यांकरमै ताला

भारतीय डिपोबाट पेट्रोलियम पदार्थ आपूर्ति गर्ने टयांकरमा आइतबारदेखि अनिवार्य लकिङ सिस्टम (ताल्चा) लागू गरिएको छ । इन्डियन आयल निगमको डिपोबाट पेट्रोलियम पदार्थ बोकेर आउने ट्यांकरमा कम्प्यूटरीकृत ताल्चा लगाउनुपर्ने व्यवस्था गरिएको हो ।  

अनुदान दिने बहानामा लाखौं ठगी

अनुदान दिने प्रलोभनमा दुई दर्जन बढी किसानलाई ठगी गरेको खुलासा भएको छ । कृषिसम्वन्धी विभिन्न फर्म सञ्चालन गर्ने किसानहरुलाई ७० प्रतिशत अनुदान दिने प्रलोभनमा खोटाङका दुई दर्जन बढी किसानलाई ठगी गरेको हो ।

मेगा बैंकको अध्यक्षमा पुन: शाह  

मेगा बैंक नेपाल लिमिटेडको सातौं साधारण सभाले भोजबहादुर शाहलाई पुन: संचालक समितिकाे अध्यक्षमा चयन गरेकाे छ । शुक्रबार सम्पन्न साधारण सभाले आगामी चार बर्षका लागि ६ सदस्यीय नयाँ संचालक समिति चयन गरेको हो ।

संस्थागत चिया किसान १ प्रतिशत

चिया उत्पादनमा संलग्न एक प्रतिशत किसानले मात्रै संस्थागत रूपमा खेती गर्ने गरेको पाइएको छ । केन्द्रीय तथ्यांक विभाग र राष्ट्रिय चिया तथा कफी विकास बोर्डले संयुक्त रूपमा गरेको ‘व्यावसायिक चिया खेती सर्वेक्षण २०७५’ मा यस्तो देखिएको हो ।

ट्यांकरमा लकिङ सुरु

नेपाल आयल निगम लिमिटेड प्रदेश १ डिपो विराटनगरमा भारतबाट पेट्रोलियम ढुवानी गर्ने ट्यांकरमा सुरक्षित लकिङ प्रणाली शनिबारदेखि लागू भएको छ ।

बिक्री भएन अलैंची बेर्ना

लाखौं रुपैयाँ लगानी र तीन वर्ष खर्चेर उमारेको अलैंचीको बिरुवा बिक्री नहुँदा किसान निरास बनेका छन् । अलैंचीको बेर्ना रोपिसक्नुपर्ने बेलामा बिक्री नै नभएपछि उनीहरू चिन्तित बनेका हुन् । बिक्री हुने बेर्ना पनि झन्डै ५० प्रतिशत कम मूल्यमा बेच्नुपर्ने बाध्यता किसानलाई छ ।

पकेट क्षेत्रकै आलुमा ऐँजेरु

लेकाली बस्तीको मुख्य खाद्य बाली र आम्दानीको प्रमुख स्रोतका रूपमा रहेको आलु यस पटक ऐँजेरु पलाउने र कुहिने भएपछि किसान चिन्तित छन् । धार्चे ४ को लाप्राक र ५ को गुम्दामा आलु बारीमै कुहिएको छ ।

बिमाको कारोबार हिस्सा बढ्यो

यो साता कुल कारोबारमा बिमा समूहले २२.६८ प्रतिशत हिस्सा ओगटेको छ । यसको अर्थ बिमा कम्पनीहरूको सेयर लगानीकर्ताले बढी किनबेच गरिरहेका छन् भन्ने हो । पुँजी वृद्धिका लागि अहिले कम्पनीहरूले विभिन्न योजनाहरू सार्वजनिक गरिरहेका छन् । यही कारण बिमा समूहको सेयरमा लगानीकर्ताको आकर्षण बढेको हो ।

किसानलाई सिँचाइकै पिरलो

सिँचाइको अभावमा प्रदेश २ मा धान रोपाइँ प्रभावित भएको छ । प्रदेशको आधाभन्दा बढी खेती आकासेपानीको भरमा रहेको तथा पूर्वाधार भएका जग्गामा पनि समयमै सिँचाइ उपलब्ध नहुँदा रोपाइँ प्रभावित भएको हो ।