कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जडीबुटी निकासीमा आधा कमी

राजेन्द्र नाथ

नेपालगन्ज — जडीबुटी 'हब' का रूपमा चिनिएको नेपालगन्जबाट चालू आर्थिक वर्षको ६ महिनामा झन्डै १४ करोडको जडीबुटी भारत निकासी भएको छ । चालू आवको साउनदेखि पुस महिनासम्म यो नाका भएर झन्डै १८ लाख किलो जडीबुटी निकासी भएको हो ।


यो नाका भएर सबैभन्दा बढी काउलो निकासी भएको छ । नेपाल जडीबुटी व्यवसायी संघका अनुसार काउलो १२ लाख ५० हजार किलो गएको हो । रिठा साढे ५ लाख, टिमुर ४ लाख, पखानभेद ४ लाख, चुत्रो ३ लाख १० हजार, दालचिनी बोक्रा ८० हजार र बोझो ७० हजार किलो भारत निकासी भएको छ । '६ महिनामा झन्डै १४ करोडको जडीबुटी निकासी भएको छ । भारत उत्तरप्रदेश सरकारको अवरोध नहुने हो भने यही ६ महिनामा दोब्बर जडीबुटी भारत जान सक्ने परिणाममा नेपालगन्जमा स्टक छ,' जडीबुटी व्यवसायी संघका उपाध्यक्ष सकिल अहमद जसगढले भने ।
गत वर्षदेखि वाणिज्य सन्धिविपरीत उत्तरप्रदेश सरकारले जडीबुटी निकासीमा 'अनिवार्य ट्रान्जिट पास' लिनुपर्ने व्यवस्था गरेपछि व्यापार सुस्ताउँदा अपेक्षित परिणाममा जडीबुटी भारत निकासी हुन नसकेको गुनासो व्यापारीको छ । आव ०६९/७० मा यो नाका भएर ४७ लाख किलो जडीबुटी बाहिर निकासी भएको थियो । संघका अनुसार उक्त जडीबुटी झन्डै ५२ करोड रुपैयाँको थियो । तर भारत सरकारले परमिट लगाएर किचलो गर्नुअघि यही नाका भएर वर्षमा १ अर्बभन्दा बढीको जडीबुटी भारत जाने गरेको संघले जनाएको छ ।
मध्यपश्चिमका पहाडी र हिमाली जिल्लामा उत्पादित टिमुर, काउलो, बोझो, अतिस, अमलवेद, पखानभेद, पदमचाल, रिठा, तेजपाल, चुत्रो, दालचिनी बोक्रालगायत जडीबुटी यो नाका भएर भारत निकासी हुने गरेका छन् । तर व्यापारीहरूले जडीबुटीमा सरकारी नीति अस्पष्ट हुँदा र भण्डारणमा समस्या भएकाले सम्भावना हुँदाहुँदै पनि जडीबुटी व्यापार फस्टाउन नसकेको गुनासो गरे । 'जडीबुटी निकासीका लागि छुट्टै ऐन, नियमावली छैन,' संघका पूर्वअध्यक्ष मधुकर थापा क्षेत्रीले भने, 'जिल्ला वन कार्यालयले काठ, दाउरा कटान, मुछानको नियमावलीले जडीबुटीलाई सम्बोधन गर्न सक्दैन ।'
नेपालगन्जलाई जडीबुटीको राजधानी भनिन्छ । संघको केन्द्रीय कार्यालय पनि यही छ । तर भण्डारणगृह नहुँदा करोडौं रुपैयाँका अमूल्य जडीबुटी कुहिएर खेर जाने गरेका छन् । लामो समयसम्म अव्यवस्थित तरिकाले गोदाममा थन्क्याउँदा तीनको गुणस्तरमा समेत कमी आइरहेको व्यापारीको गुनासो छ । 'धेरै दिनसम्म एकैठाउँमा राख्दा रिठा, अमला र कुटकीजस्ता जडीबुटी कुहिने गरेका छन्,' संघका उपाध्यक्ष तथा नेपाल हब्र्स प्रोसेसिङ प्लान्टका सञ्चालक जसगढले भने, 'यी जडीबुटी अति संवेदनशील हुने भएकाले शीतभण्डार आवश्यक पर्छ ।'





प्रकाशित : माघ २१, २०७० ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?