कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारतीय मूलका नडेला माइक्रोसफ्टका प्रमुख कार्यकारी

एजेन्सी

काठमाडौ — कम्प्युटर अपरेटिङ सिस्टम डेभलपर चर्चित कम्पनी माइक्रोसफ्टले भारतीय मूलका सत्य नडेलालाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ ।

भारतीय मूलका नडेला माइक्रोसफ्टका प्रमुख कार्यकारी
माइक्रोसफ्ट बोर्डले कम्पनीकै क्याउड एन्ड इन्टरप्राइज ग्रुपको कार्यकारी उपाध्यक्ष रहेका ४६ वर्षीय नडेला २२ वर्षदेखि माइक्रोसफ्टमा कार्यरत थिए । उनी भारतको हैदराबादमा जन्मेका हुन् ।
कम्पनीका उनी तेस्रो प्रमुख कार्यकारी हुन् । पहिलो प्रमुख कार्यकारी कम्पनीका संस्थापक बिल गेट्स थिए । त्यसपछि नियुक्त भएका स्टिभ वाल्मरले ६ महिनाअघि अवकाश लिने घोषणा गरेका थिए ।
कम्पनीका अध्यक्ष बिलगेट्सले नडेलाको क्षमताले कम्पनीलाई निकै प्रगतितिर लैजाने अपेक्षा गरेको बताएका छन् । इलेक्ट्रोनिक्स, कम्प्युटर साइन्स र बिजनेस एडमिनिस्ट्रेसको डिग्री लिएका उनमा इन्जिनियरिङ कौशल, व्यापारिक दूरदर्शिता र मानिसलाई समेट्ने खुबी रहेको गेट्सले बताएका छन् । 'परिवर्तनको यस दौडमा माइक्रोसफ्टको नेतृत्व गर्न सत्या जत्तिकै क्षमता भएको व्यक्ति अर्को छैन, गेट्सले भने, प्रविधिबारे उनको दृष्टिकोणको फाइदा कम्पनीलाई हुने छ । प्रमुख कार्यकारी नियुक्त भएपछि नडेलाले प्रविधिको माध्यमबाट विश्वमा क्रान्ति ल्याउने दुर्लभ कम्पनीमध्ये एक माइक्रोसफ्ट भएको बताए । 'यस्तो धुरन्धर कम्पनीको नेतृत्व गर्न पाउनु मेरा लागि सम्मानको कुरा हो, उनले भने ।  नडेला स्कुल पढ्दा क्रिकेट खेल्न रुचाउँथे । उनी विद्यालयको क्रिकेट टिमका सदस्य थिए । 'क्रिकेट खेलले मलाई समूहमा काम गर्न र नेतृत्व लिन सिकायो, उनी भन्छन् । उनी सधै नयाँ कुरा गर्न चाहन्थे । उनलाई कम्प्युटर साइन्सले त्यसमा सघाउँछ भन्ने लाग्थ्यो । उनी मेंगलोर युनिभर्सिटीमा अध्ययन गर्न जाँदा उनले कम्प्युटर पढ्ने अवसर पाएनन् । उनले त्यहाँबाट इलेक्टि्रकल इन्जिनियरिङमा ब्याचलर डिग्री हासिल गरे । त्यसपछि उनी युनिभर्सिटी अफ विस्कोनसिनमा मास्टर्स डिग्री हासिल गर्न गए । त्यसपछि उनले बिजनेस एडमिनिस्ट्रेसनमा स्नातकोत्तर गरे । 'म अझै सिकिरहेको छु,' नडेला भन्छन्, 'म केही क्षेत्र, मानिसबाट सिकिरहेको
छु, फरक काम गरेर सिकिरहेको छु ।'
नडेलाले आफ्नो करियर सन माइक्रोसिस्टमबाट एउटा टेक्नोलोजी स्टाफका रूपमा सुरुआत गरेका थिए । त्यसपछि उनी सन् १९९२ मा माइक्रोसफ्ट प्रवेश गरे । माइक्रोसफ्टबाट नोकरीको प्रस्ताव आउँदा उनी व्यवस्थापनमा स्नातकोत्तर गर्दै थिए । त्यतिखेर माइक्रोसफ्ट विन्डोज एनटी नाममा अपरेटिङ सिस्टम बनाउँदै थियो । त्यसैले त्यसको समूहमा युनिक्स र ३२ विट अपरेटिङ सिस्टमको ज्ञान भएको व्यक्तिको आवश्यकता थियो । उनी डिग्री र माइक्रोसफ्टको जागिर दुवै चाहन्थे । उनले दुवै सँगै पाए पनि । 'म हरेक साता शुक्रबार राति सिकागोका लागि उड्थें, शनिबारको कक्षा लिन्थें । त्यसपछि काम गर्न रेडमोड र्फकन्थें ।' उनलाई स्नातकोत्तर सक्न साढे २ वर्ष लागेको थियो ।
आलोचकहरूले भने नडेलाको योग्यतामा प्रश्न गरेका छन् । उनीहरूको भनाइमा नडेलासँग माइक्रोसफ्ट जस्तो ठूलो कम्पनी सञ्चालन गर्ने कुनै योग्यता छैन ।

गेट्सले छाडे अध्यक्ष पद

माइक्रोसफ्टले कम्पनीमा प्रमुख कार्यकारीमा नयाँ नियुक्ति गरेलगत्तै कम्पनीका संस्थापक अध्यक्ष बिलगेट्सले समेत पद छाड्ने घोषणा गरेका छन् । उनी 'संस्थापक तथा प्रविधि सल्लाहकार' को नयाँ भूमिकामा रहनेछन् ।
नयाँ भूमिकामा उनी प्रमुख कार्यकारी अधिकृत सत्य नाडेलालाई प्रविधि र उत्पादनका क्षेत्रमा सघाउन सातामा करिब तीन दिन माइक्रोसफ्टमा आउनेछन् । गेट्स केही समयदेखि लगानीकर्ताहरूबाट अध्यक्ष पद छाड्नुपर्ने दबाबमा थिए । समाचार एजेन्सीहरूका अनुसार लगानीकर्ताहरूले गेट्स अध्यक्षमा रहँदा कम्पनीलाई नयाँ नीतिगत निर्णय गर्न अवरोध भइरहेको बताएका थिए । कम्पनीमा गेट्सको सेयर होल्डिङ घट्दै गएकाले उनले आफ्नो अधिकांश समय च्यारिटी संस्थामा बिताउन थालेको भन्दै चिन्ता व्यक्त गर्दै आएका थिए । माइक्रोसफ्टले नयाँ परिवर्तनपछि गेट्सले कम्पनीको दैनिक कार्य सञ्चालनमा धेरै समय दिने बताएको छ ।


 

प्रकाशित : माघ २३, २०७० ०९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?