३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९४

महँगो ढुवानी लागतले प्रयोगमा आएन कार्गो रेलवे यार्ड

गत जेठ १८ मा प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीले कार्गो रेलमार्गको संयुक्त उद्घाटन गरेका थिए, त्यस दिन आरती स्ट्रिप्सको कच्चापदार्थ एचआर सिट आएको थियो, त्यसपछि यो रेलमार्ग प्रयोगमा आएको छैन 
विनोद भण्डारी

विराटनगर — इन्डियन रेलवे कस्टम यार्डको तुलनामा नेपाल रेलवे कस्टम यार्डबाट औद्योगिक कच्चापदार्थ ढुवानी गर्दा लागत बढी पर्ने भन्दै सुनसरी मोरङ औद्योगिक क्षेत्रका उद्योगीले १० महिनाअगाडि उद्घाटन भएको विराटनगर भन्सारको आईसीपीसम्मको कार्गो रेलमार्ग प्रयोग गरेका छैनन् ।

महँगो ढुवानी लागतले प्रयोगमा आएन कार्गो रेलवे यार्ड

नेपाल कस्टम यार्ड (एनसीवाई) को तुलनामा इन्डियन कस्टम यार्ड (आईसीवाई) बाट औद्योगिक कच्चापदार्थ आयात गर्दा प्रतिटनमा ६४ रुपैयाँदेखि दुई सय रुपैयाँसम्म ढुवानी भाँडा सस्तो पर्ने औद्योगिक क्षेत्रका उद्योगी व्यवसायी बताउँछन् ।

गत जेठ १८ मा प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीले भारतको बथनाहदेखि विराटनगर भन्सार आईसीपीसम्मको कार्गो रेलमार्गको उद्घाटन संयुक्त रूपमा गरेका थिए । कार्गो रेलको उद्घाटन गरेका दिन आरती स्ट्रिप्सको कच्चा पदार्थ एचआर सिट आएको थियो । त्यसपछि उक्त रेलमार्ग प्रयोगमा आएको छैन ।

नेपालतर्फको रेलवे यार्डमा कार्गो ह्यान्डलिङ चार्ज र ढुवानीदरमा भएको ठूलो अन्तरका कारण उद्योगी व्यवसायीले नेपालतर्फको यार्ड प्रयोग नगरी भारत तर्फको रेलवे यार्ड प्रयोग गर्दै आएको उद्योग संगठन मोरङका वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठीले बताए । वीरगन्जको आईसीडीकै बराबरको शुल्क राख्ने हो भने यहाँको रेलवे कस्टम यार्ड प्रयोगमा आउन सक्छ । ‘वीरगन्जको आईसीडीमा ढुवानी र ह्यांगरिङ शुल्क मनासिब छ ।’

नेपाली भूमिसम्म कार्गो रेलमार्ग आएको छ । तर ह्यान्डलिङ चार्ज र ढुवानीदरमा भारतको तुलनामा निकै महँगो भएको राठीले जनाए । ‘कार्गो रेलबाट औद्योगिक कच्चापदार्थ ढुवानी गर्दा ढुवानी लागत सस्तो पर्ने उद्योगी व्यवसायीको विश्वास थियो । तर ठीक उल्टो भइदियो,’ उनले भने । ह्यान्डलिङ चार्ज र ढुवानीदरमा निकै अन्तर भएकै कारण यहाँका उद्योगीले भारततर्फको यार्डमा औद्योगिक कच्चापदार्थ अनलोड गरेर उद्योगसम्म पुर्‍याउँदै आएका छन् । उनका अनुसार त्यसो गर्दा औद्योगिक कच्चापदार्थका आधारमा प्रतिटन ६४ रुपैयाँदेखि दुई सय रुपैयाँसम्म ढुवानी खर्च न्यून पर्छ । रेलमार्गबाट जोगबनीको आईसीपीस्थित इन्डियन कस्ट यार्डर्सम्म स्पन्ज आइरन ल्याउँदा कार्गोको लोडिङ–अनलोडिङ चार्ज र २५ किमिसम्मको ढुवानी दर प्रतिटन ६ सय ६४ रुपैयाँ रहेको उद्योग संगठनका महानिर्देशक चूडामणि भट्टराई बताउँछन् । पार्किङ शुल्क ३२ रुपैयाँ तोकिएको छ । यसरी एक टन स्पन्ज आइरन इन्डियन कस्टम यार्डबाट उद्योगसम्म पुर्‍याउँदा ६ सय ९६ रुपैयाँ खर्च छ ।

‘त्यही स्पन्ज आइरन विराटनगरको आईसीपीस्थित नेपाल कस्टम यार्डबाट ल्याउँदा प्रतिटनको लोडिङ–अनलोडिङ चार्ज ४ सय र २५ किमिसम्मको ढुवानी खर्च प्रतिटन ३ सय ६० रुपैयाँ गरी ७६० रुपैयाँ लागत पुग्छ,’ भट्टराईले भने । स्पन्ज आइरनका आयातकर्ताका अनुसार एक र्‍याकमा कम्तीमा २५ सय टन स्पन्ज आउँछ । भारतीय कस्टम (आईसीवाई) बाट ल्याउँदा एक टनको ६४ रुपैयाँ सस्तो पर्छ । यसले २५ सय टन आयरन आयात गरेर आइसीवाईबाट ल्याउँदा १ लाख ६० हजार रुपैयाँ ढुवानी खर्च कम लाग्छ ।

जीआई वायरको मुख्य कच्चा पदार्थ एमएस वायर रड आईसीवाईबाट ल्याउँदा प्रतिटनको लोडिङ–अनलोडिङ र २५ किमिसम्मको ढुवानी खर्च ४ सय ४० रुपैयाँ छ । यसबाहेक आईसीवाईमा टनको ३२ रुपैयाँ पार्किङ शुल्क छ । यसरी लोडङ–अनलोडिङ, ढुवानी र पार्किङ खर्च गरेर प्रतिटन ४ सय ७२ रुपैयाँ खर्च पर्छ । त्यही एमएस वायर रड एनसीवाईबाट ल्याउँदा प्रतिटनको लोड अनलोडको ४ सय र ढुवानी खर्च २ सय ४० गरी ६ सय ४० रुपैयाँ पर्छ ।

महानिर्देशक भट्टराई भने यसमा एनसीवाईको तुलनामा आईसीवाईबाट ल्याउँदा प्रतिटनमा १ सय ६८ रुपैयाँ न्यून परेपछि उद्योगीले नेपाल रेलवे कस्टम यार्ड प्रयोग नगरेको बताउँछन् । आईसीवाईबाट एक टन एचआर सिट ल्याउँदा लोडअनलोडसहित २५ किमिसम्मको ढुवानी ४ सय १६ र पार्किङ चार्ज ३२ गरेर ४ सय ४८ रुपैयाँको खर्च पर्ने उनको भनाइ छ । तर यही एचआर सिट एनसीवाईबाट ल्याउँदा ६ सय २० रुपैयाँ पर्छ ।

प्रकाशित : चैत्र १४, २०८० ०७:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लगानी सम्मेलन-२०२४ मा सरकारले 'सोकेस' मा राखेका परियोजनाहरूको सूची कस्तो लाग्यो ?