२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६१

श्रीसँग नेपालमा सर्वाधिक वायुयान

काठमाडौँ — श्री एयरलाइन्सले मंगलबार ८० सिट क्षमताका दुइटा बम्बार्डियर ड्यास–८–क्यू–४०० जहाज थपेको छ । यससँगै श्रीसँग फिक्स्ड विङ (जहाज) १० र ८ वटा रोटर (हेलिकोप्टर) गरी वायुयानको संख्या १८ पुगेको छ । श्रीपछि नेपालमा बढी जहाज हुनेमा बुद्ध एयर छ । यससँग उडानमा १७ वटा एटीआर विमान छन् ।

श्रीसँग नेपालमा सर्वाधिक वायुयान

श्रीले थपिएका विमानबाट पोखरा, सुर्खेत, जनकपुर तथा सिमरालगायत आन्तरिक गन्तव्यमा उडान सेवा विस्तार गर्ने जनाएको छ । यसले जहाज थपिएसँगै तुम्लिङटार तथा भरतपुर विमानस्थलमा समेत नियमित उडान सञ्चालन गर्ने योजना रहेको जनाइएको छ । कम्पनीले सन् २०१९ मा २ वटा र सन् २०२२ मा थप २ गरी ४ वटा ८० सिट क्षमताको क्यानडा निर्मित बम्बार्डियर ड्यास–८–क्यू–४०० जहाज ल्याएको थियो । त्यसअघि यसले ५० र ७० सिटका सीआरजे विमान आन्तरिक उडानमा ल्याएको थियो । त्यसताका श्रीले सुरुमा काठमाडौं विमानस्थलबाट भद्रपुर, विराटनगर, भैरहवा, नेपालगन्ज, धनगढी तथा पर्वतीय उडान नियमित रूपमा सञ्चालन गरेको थियो । मंगलबार ल्याइएका दुइटा बम्बार्डियर ड्यास–८–क्यू–४०० जहाज यसअघि अमेरिकाको होराइजन एयर तथा अलास्का एयरले उडाउँदै आएका थिए ।

आरामदायी, सुरक्षित तथा यात्रुलाई कम ध्वनि अनुभूति दिने यी जहाजलाई श्रीकै पाइलटले संयुक्त राज्य अमेरिकाको अरेगन राज्यको पोर्टल्यान्डबाट मिनेसोटा राज्यको डुलुथ, क्यानडाको गुजबे, आइसल्यान्डको केफलामिक, जर्मनीको म्युनिख, इजिप्टको काइरो, संयुक्त अरब इमेरिट्सको दुबई तथा भारतको इन्दौर हुँदै मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराएको श्रीका प्रबन्धक अनिल मानन्धरले जनाए ।

प्रकाशित : चैत्र १४, २०८० ०७:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लगानी सम्मेलन-२०२४ मा सरकारले 'सोकेस' मा राखेका परियोजनाहरूको सूची कस्तो लाग्यो ?