कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गीतमार्फत बेलायत नेपाल सम्बन्ध

लन्डन — अंग्रेजी, नेपाली दुवै शब्दहरु मिश्रित माथिल्लो गीत कसैबीच आपसी सम्बन्ध प्रगाढ रहेको दर्शाउन पर्याप्त छ ।

गीतमार्फत बेलायत नेपाल सम्बन्ध


गहिरो छ मित्रता हाम्रो, कहिले पनि नटुट्ने
सागर झैं गहिरो, सम्बन्ध छ हाम्रो
साइनो हो कि मितेरीको, अर्थ उस्तै छ
सम्बन्ध यो गहिरो छ, स्वार्थ एउटै छ
आंधीबेहरीले नछुने गहिरो सम्बन्ध

आवर बोन्ड इज डिप एण्ड स्ट्रोंगर द्यान मी
आवर स्प्रिट जोइन याज अल्वेज् क्यान बी
डिप याज द सी थाउजेण्ड फिट
सम्बन्ध छ हाम्रो...


ब्रिटिश सेनामा आवद्ध नेपाली र गोरा मेजरले संयुक्त रुपमा गाएको गीतले यहाँ चाहिं बेलायत र ब्रिगेड अफ गोर्खाज्बीचको सुमधुर सम्बन्ध दर्शाउन खोजेको हो ।

ब्रिगेड अफ गोर्खाज् अर्थात बेलायती सेनामा गोर्खाहरुको प्रवेशले यही साल (सन् २०१५) दुई सय वर्ष टेक्दैछ । यही उपलक्ष्यमा दि रोयल गोर्खा राइफल्स् सेकेन्ड बटालियनका मेजरद्धय हेमकुमार तामाङ र जेस् बक्लीले मौलिक नेपाली संगीतमा पश्चिमा ‘फ्लेवर’ भरेर ल्याएको उक्त गीत अहिले एकाएक हिट लिष्टमा छ ।

मेजरद्धय तामाङ र बक्लीको सैनिक यात्रा धेरै वर्षदेखि सँगसँगै छ । सन् २००९ र २०११ मा अफगानिस्तानको युद्धमोर्चामा पनि यी साथै रहे । यी दुई व्यक्तिबीचको आत्मिय सम्बन्ध युद्धभूमिमामात्र गहिरो रहेन, उनीहरुले दुई सय वर्ष यता बेलायती र समस्त गोर्खाहरुबीचकै प्रगाढ सम्बन्ध गीतमार्फत उजागर गर्न खोजे ।

ब्रदरहुड व्याण्डको गोर्खाली साथी एल्बममा समावेश ६ गीतमध्ये ‘स्प्रिट इज स्ट्रोंगर’ गीतको म्यूजिक भिडियो अहिले लोकप्रियतातर्फ उन्मुख छ ।

बेलायतको बर्नमथका बक्लीले नेपाली शब्दहरु स्पष्ट गाएका छन् भने उनलाई भिडियोमा पनि देख्न सकिन्छ । गोर्खालीहरुसँग अगाढ सम्बन्ध राख्ने बक्ली नेपाल समेत पुगिसकेका छन् । मेजर बक्ली हाल ब्रिगेड अफ गोर्खाज्को चिफ अफ स्टाफ भएर स्याण्डहस्र्टमा कार्यरत छन् । सन् १९८८ मा ब्रिटिश सेनामा भर्ती भएका रानीवास ८ घोरेटार भोजपुरका हेम अहिले साइप्रसमा छन् ।

गीतमा हेम र बक्लीलाई हेमकी १३ वर्षीया छोरी रिहाले पनि साथ दिएकी छिन् जो बेलायतमा अध्ययनरत छिन् ।
आइट्युनमा उपलव्ध गीति एल्बम गोर्खाली साथीमा स्प्रिट इज स्ट्रोंगर, बाडुली चल्दा, शिरमा खुकुरी, यो जुनीमा, गोर्खाली साथी र मेरो प्यारो घोरेटार जस्ता गीत समावेश छन् ।

एल्बम विक्रीबाट आएको पैसा बेलायत र नेपालस्थित भूतपूर्व गोर्खाहरुलाई सघाउने एउटा कल्याणकारी संस्था दि गोर्खा वेलफेयर ट्रष्टलाई दिने उनीहरुको अठोट छ ।

दुई मेजरहरुसँग निकट रहेका बेलायतस्थित एकजना वुद्धिजिवी नारायण अधिकारी गीतले बेलायत नेपाल र गोर्खाहरुबीचको सम्बन्ध झन् प्रगाढ बनाउने  विश्वास व्यक्त गर्छन् । ‘सैनिकहरु राइफल बोकेर लडाईंमात्र गर्दैनन्, उनीहरुमा पनि भावना र सृजना हुन्छ भन्ने गीतले दर्शाएको छ’, अधिकारीको टिप्पणी छ ।

प्रकाशित : पुस १६, २०७१ १७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?