कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

"एक्टर मात्र बन्नु छैन"

काठमाडौ — स्टाइलिस एक्टर । एङग्री लभर । बक्सअफिस किङ । नायक सलमान खान आफ्ना लागि केवल यी विशेषणमा मात्रै सन्तुष्ट लाग्दैनन् ।

भन्छन्, 'म केवल एक्टर बन्नका लागि र पैसा कमाउनका लागि मात्रै जन्मेको होइन ।'
उमेरले ४८ वसन्त पार गर्दा पनि सिङ्गल नै बाँचिरहेका सल्लुलाई नजिकबाट चिन्नेहरू अझ फकिर भन्न रुचाउँछन् । समाजसेवाका लागि 'बिइङ ह्युमन' नामक च्यारिटेबल ट्रस्ट स्थापना गरी आफ्नो फरक छवी देखाएका सलमान भन्छन्, 'मसँग ट्रस्ट छ तर यसमार्फत म कहाँसम्म पुग्छु थाहा छैन । तर थाहा छ कहीं न कहीं अवश्य पुग्नेछु ।' उनी आफ्नो बाबुले भन्ने गरेको 'हामी लिनका लागि यो संसारमा नभई दिनका लागि आएका हौं' वाक्यांशले सानैदेखि दिलदार बनेको टिप्पणी गर्छन् । त्यसो त सानोमा उनीसहितका तीन साथी एउटै बाइकमा सवार हुँदा दुर्घटनामा परेको क्षण सम्झँदै सल्लुले भने, 'हामी घाइते अवस्थामा सडकमा थियौं तर त्यही बाटो भएर जाने कसैले पनि गाडी रोकेन । त्यसबेलाको सहयोगको याचना अझै पनि मेरो दिमागमा ताजा छ' यस्तै घटनाले आफूलाई सामाजिक र मानवीय बनाएको दाबी गर्ने नायकको विचारमा मान्छेहरू आफन्तका लागि बाहेक सहयोग गर्नै खोज्दैनन् । बलिउडका ब्लकबस्टर्स हिरो सलमानलाई भने आफ्नो बुबा सबैभन्दा हिरो लाग्छ रे ।
'मेरो बुबा ८० वर्षको भइसक्नुभयो तर अझै पनि घरको बाहिर बसेर सहयोगका लागि आउने गरिबलाई साढे छदेखि आठ लाख भारुसम्म दिनुहुन्छ । उहाँ एकदमै बुद्धिमान र सोझो हुनुहुन्छ' 'दबंग' हिरो भन्छन् । त्यसो त उनले बुबाकै कारण यतिबेला रिलिजको क्रममा रहेको फिल्म 'जय हो' को नाम फेरेका थिए । पहिलेको नाम 'मेन्टल' को शाब्दिक अर्थमा बुबाले आपत्ति जनाएपछि फिल्मको आफ्नै पात्रको नाम जयबाटै फिल्मको शीर्षक पनि बुबाले नै जुराइदिएको सलमानले बताए ।
'उहाँ हाम्रो बुबा हो । हामीभन्दा कता कता धेरै अनुभव उहाँसँग छ । ४० वर्षअघि उहाँले लेखेको फिल्म 'सोले' हेरेर मान्छे अहिले पनि पागल हुन्छन्,' उनले बुबा सलिमको तारिफ गरे । जनवरी २४ मा रिलिज हुन लागेको 'जय हो' भ्रष्टाचारविरुद्ध एक साधारण जनताको आक्रोश रहेको पनि उनले सुनाए । पछिल्लो समय शाहरुख खान र आमिर खान पनि हावादारी फिल्मतर्फ आकषिर्त भइरहेका बेला यस्तै फिल्मबाट चर्चा बटुल्दै आएका सलमान भने जिम्मेवार नायक बन्न खोज्दैछन् ।



 
 

प्रकाशित : पुस २७, २०७० ०९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?