चौबाटोमा दलबहादुर कथा

काठमाडौ — सशस्त्र द्वन्द्व क्रममा १७ हजार नेपालीले ज्यान गुमाए । ११ सय बेत्तपा छन्, एक लाख जति विस्थापित भए । विस्थापितहरूमध्ये धेरैजसो अझै पुनस्र्थापित हुन सकेका छैनन् ।

ती यतैकतै सहरका साँघुरा सडकतिर भरियाको रूपमा भेटिन पनि सक्छन्, टुँडिखेल छेउछाउ नाङ्लो पसल थाप्दै आफ्नो कथा सुनाइरहेका पनि हुन सक्छन् ।
लाजिम्पाटस्थित थिएटर भिलेजको सत्यमोहन नाटकघर पुग्नुभयो भने तपाईंले यस्तै एक विस्थापित पात्र भेट्टाउनुहुनेछ- दलबहादुर । पश्चिम नेपालबाट विस्थापित भएर सहर आइपुगेका उनले आफ्नो नालीबेली पनि सुनाउँनेछन् । ठ्याक्कै विस्थापित पात्र महसुस गराउने कथावाचक चाहिँ खगेन्द्र लामिछाने हुन् ।
द्वन्द्वका बेला विस्थापित एक पात्रको कथामाथि नाटक 'पीडा गीत' यति बेला थिएटर भिलेजमा मञ्चन जारी छ । सन् २००७ मै गुरुकुलमा मञ्चन भइसकेको यो नाटक परिमार्जनसहित फेरि मञ्चनमा आएको छ । नाटकसँगै विस्थापितहरूको मुद्दा एकपटक बहसमा ल्याउने काम गरेका छन् लेखक/निर्देशक खगेन्द्रले । उनी आफैंले एकल अभिनय गरेको नाटकमा दलबहादुरले चौबाटोमा उभिएर आफ्नो कथा सुनाउँछन् विदेश जान लागेको एक तन्नेरीलाई । द्वन्द्वको कथामा केन्दि्रत भए पनि नाटकले सुदूरपश्चिमको पीडाको भिन्न पाटो पनि उजागर गरेको छ । हात घोट्नकै लागि पनि स्वदेशमा अवसर नपाएर भारत पलायन हुनुपर्ने बाध्यता, त्यहाँ अनेक हन्डर खेप्नुपर्ने अवस्था समेत नाटकमा उपकथाको रूपमा आउँछ । दलबहादुर भने आफ्नै मुलुककै गरिखाने गरी फर्किन्छन् । तर, उनी द्वन्द्वको चपेटामा पर्छन् र सारा आफन्त र परिवार गुमाएका उनी आफूलाई जिउँदो राख्न भारी बोक्ने काम गर्छन् सहरमा ।
दलबहादुरप्रति मान्छेहरूले गर्ने असहयोगी व्यवहारका माध्यमबाट नाटकले पछिल्लो समय नेपाली समाजबाट गुम्दै गएको मानवीयतालाई पनि उजागर गरेको छ । भारी बोक्छुभन्दा पनि काम नपाउनु, भरिया सहकर्मीबाटै दुव्र्यहार हुनु अनि काम लाएर पैसा कबुलेको भन्दा कम दिनुजस्ता घटनाहरू सामान्य भए पनि यसले विस्तारै नेपाली समाजमा विकास हुँदै गएको असहयोगी संस्कृति संकेत गर्छ । सशस्त्र द्वन्द्वका बेला जे भयो, त्यसको मनोवैज्ञानिक पीडाले भोग्नेहरूलाई जीवनभर पछ्याई नै रहने छ । दलबहादुर यस्तै मनोवैज्ञानिक अवस्थाबाट पीडित पात्र हुन् । गाउँबाट धेरै टाढाको सहर आइपुगेको भए पनि आकाशमा हेलिकप्टर उड्दा उनी तर्सिन्छन् र कुनै सुरक्षित थलोतिर भाग्न खोज्छन् । जनतालाई सँधै भोटको भर्‍याङ बनाएर राजनीति गर्ने संस्कृतिमाथि पनि नाटकले व्यंग्य कसेको छ ।
भाषाशैली पश्चिमकै टिपेका छन् खगेन्द्रले । भव्य स्टेजको सट्टा प्रकाशका माध्यमबाट बनेको चौबाटोभित्रै उनले आफ्नो कथा भन्छन् । ध्वनिमार्फत सहरी भीडभाड, जाम र ट्राफिक गतिविधिलाई प्रस्ट्याउन खोजिएको छ । रेलिङ नागेको दृश्य नेचुरलजस्तै लागे पनि सडक पार गरेको दृश्य भने अलिक छिटो र नमिल्दो देखिन्छ । सामान्यतः एक फड्कोमै सडक पार गर्न बटुवालाई मुस्किल हुन्छ । यसका लागि खगेन्द्रले एउटै बिन्दुमा अरू केही स्टेप चाल्न सक्थे । सुदूरपश्चिमकै स्वाद मिल्ने पाश्र्व संगीतले पनि नाटकलाई फरक मौलिकताको आभास दिन्छ । तर, फरक फरक चरित्र गर्दा खगेन्द्रले बोलीको ध्वनि विविधता भने अपनाउन सकेका छैनन् । हरेक चरित्रको बोलीको लवज एउटै लाग्छ, जसकारण दर्शकको फिलिङ्स एकबाट अर्को चरित्रमा सजिलै सिफ्ट हुन केही मुस्किल पर्छ ।
'टलक जंग भर्सेस टुल्के' फिल्ममा टुल्केको रूपमा देखिएका उनले 'हजुर बाबाको कथा', 'पानी फोटो', 'अटलबहादुरको आतंक' नाटकमा पनि अभिनय गरेका छन् । 'हजुर बाबाको कथा' मा पनि उनको एकल प्रस्तुति थियो । नाटकमा एकल अभिनय सजिलो छैन । तर, खगेन्द्र भने यसलाई सहज मान्छन् । 'एक्लै गर्दा अभिनयमा स्वतन्त्रता अनुभूति गर्छु,' उनले भने ।
यो नाटक सन् २००९ मा थाइल्यान्डको पथुमथानी अन्तर्राष्ट्रिय नाटक महोत्सवमा पनि छानिएको थियो । त्यसपछि स्कटल्यान्डमा एडिनवर्ग फेस्टिभलमा र बेलायतमा समेत यो नाटक मञ्चन भइसकेको छ । टुकी आर्टस्ले प्रस्तुत गरेको ४० मिनेट लामो यो नाटक लाजिम्पाटस्थित थिएटर भिलेजमा भने पुस २६ सम्म मञ्चन हुने बताइएको छ ।



 

प्रकाशित : पुस १६, २०७१ ०९:२६
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

चीनमा बाघको सिकार गर्नेलाई १३ वर्ष जेल

बेइजिङ (एएफपी) — बाघको सिकार गर्ने सोख पालेका कारणले चीनका एक धनाढ्य व्यापारीलाई १३ वर्ष कारागार सजाय भएको छ । घरजग्गाको कारोबार गर्ने ती व्यापारीले बाघको सिकार गरी मासु खाने मात्र नभई अंगहरू घरमा सजाएर राख्ने गर्थे ।


बाघको हाड पोलेर खाने, खुट्टा सजाएर राख्ने, यौनांग संकलन गर्ने, मासु खाने र बाघको रगतबाट बनेको रक्सी खाने गर्थे । बाघको अवैध सिकार गरेकाले उनलाई चीनको कानुनबमोजिम उक्त सजाय सुनाइएको हो । सू उपनामले चिनिने उनी र उनका अरू १४ साथी मिलेर गत वर्ष थुप्रै बाघ मारी अंगप्रत्यंगको भाग लगाएको र फिल्म खिचेका थिए । उनकै एक साथीले खिचेको फिल्म प्रहरीले फेला पारी उनीहरूमाथि मुद्दा चलाएको थियो । पछि उनले आफू बाघको सिकारको सोखिन भएको जनाएका थिए ।
अन्य दुईजनालाई ५ र साढे ६ वर्ष जेल सजाय भएको छ । चीनमा बाघको हाडलाई परम्परागत शक्तिवर्धक औषधिका रूपमा प्रयोग गरिन्छ । बाघ गोप्य अंगको सेवन गर्दा यौनक्षमता बढ्ने विश्वास गरिन्छ ।

प्रकाशित : पुस १६, २०७१ ०९:२५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT