कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गलत उपचारले मस्तिष्कघात

८ महिनादेखि दिल्लीमा नेपाली नाबालिका
देवेन्द्र भट्टराई

नयाँदिल्ली — काठमाडौंको एउटा चल्तीको बाल अस्पतालले एक नाबालिकालाई 'ब्याक्टेरल म्यानेन्जाइटिस' भन्दै गलत औषधि दिएको छ ।

गलत उपचारले मस्तिष्कघात
काठमाडौंको एउटा चल्तीको बाल अस्पतालले एक नाबालिकालाई चर्को ज्वरो आएको लक्षणमा 'ब्याक्टेरल म्यानेन्जाइटिस' भन्दै गलत औषधि दिनाले मस्तिष्कघात भइसकेको दिल्लीस्थित सर गंगाराम अस्पतालमा उपचार गर्न थालेपछि जानकारीमा आएको छ ।
आठ महिने उमेरमा भएको गलत 'डायग्नोसिस' का कारण एउटी बालिका आँखा नदेख्ने, कान नसुन्ने तथा मृगौला/कलेजोको संक्रमणले ग्रस्त छिन् । अति विशिष्ट उपचार पद्धति अपनाउँदासमेत 'भ्यान्टिलेटर' का भरमा श्वास धान्ने अन्तिम अवस्थामा उनी संघर्षरत छिन् ।
सुरुमा रोगको प्रारम्भिक पहिचानै नभई 'ब्याक्टेरल म्यानेन्जाइटिस' को औषधि ख्वाउनाले र ढाडको पानी परीक्षण गर्दा 'टीबी म्यानेन्जाइटिस' को लक्षण देखिए पनि गलत उपचार पद्धति अपनाउनाले अस्पतालमा लगेको ६ दिनमै बालिकालाई कृत्रिम श्वासप्रश्वास पद्धति -भेन्टिलेटर) मा राख्नुपर्ने भएको थियो ।
एयर एम्बुलेन्सबाट गत वर्ष मार्च २० मा दिल्लीस्थित गंगाराम अस्पताल ल्याइएकी बालिका अहिले पनि सघन बाल उपचार कक्षमा छिन् । छोरीको जीवन बाँच्ने आशामा बाबुआमाले ८ महिनामा १ करोड रुपैयाँभन्दा बढी खर्चेका छन् । काखको अर्को छोरालाई पनि अस्पताल आसपासकै एउटा पब्लिक स्कुलमा भर्ना गरेर नसोचेको सास्तीपूर्ण जीवन गुजार्न बाध्य भएका छन् ।
चितवन, बछ्यौली-९ मूल घर भई ललितपुर, धापाखेलमा बस्दै आएका पर्यटनकर्मी वसन्त र एलिजा रिजालकी आठ महिने छोरी -हाल १६ महिना) आनभीलाई गत मार्च दोस्रो साता ज्वरोले समातेको थियो । रिजाल दम्पतीले मार्च १० को बिहान १ बजे छोरीलाई बसुन्धरास्थित इशान बाल तथा महिला अस्पताल पुर्‍याउनासाथै रक्त परीक्षणबाट सामान्य 'डिहाइड्रेसन' भएको भन्दै 'एन्टिबायोटिक' औषधि ख्वाउन थालिएको थियो । अस्पतालमा उपचाररत रहेको ३० घन्टापछि बालिकामा कामज्वरोसहित मुखबाट फिँज निकाल्ने, आँखा पल्टाउने लक्षण देखिएपछि बाल चिकित्सक धनराज अर्यालले 'ढाडको पानी परीक्षण गर्ने' -सीएफएस) उपाय सुझाएका थिए । त्यसअघिका ३० घन्टासम्म लगातार ज्वरो आइरहेको भए पनि यसप्रकारको गहन परीक्षण 'आवश्यक नरहेको' अस्पतालले बताउँदै आएको थियो ।
पछि कामज्वरोसहित मुखबाट फिँज निकाल्ने लक्षण देखिएपछि गरिएको सीएफएस परीक्षणमा 'ब्याक्टेरल म्यानेन्जाइटिस' भएको भन्दै बालिकालाई औषधि ख्वाउन थालिएको थियो । सीएफएस परीक्षण रिपोर्टमा 'ब्याक्टेरल' भनेर कहींकतै उल्लेख नभए पनि किन र कसरी यही शीर्षकमा औषधि गर्न थालिएको हो भन्ने जवाफ पनि अस्पताल प्रशासनले नदिएको रिजाल परिवारको भनाइ छ ।
त्यसबेला 'न्युरो' सम्बन्धी डाक्टरसँग कुनै परामर्श नगरिएकै अवस्थामा बलजफ्ती उपचार जारी राखिएको आनभीका बुबा वसन्तले बताए । म्यानेन्जाइटिस भएपछि सिटिस्क्यान र एमआरआई गर्नका निम्ति आग्रह गरिरहँदा पनि सुनुवाइ नभएपछि बेहोस अवस्थामा रहेकी छोरी साथमा लिएर रिजाल दम्पतीले दिल्ली आउने निर्णय गरेका थिए । रिजालले एयर एम्बुलेन्सबाट छोरीलाई दिल्ली ल्याएका थिए ।
'गंगाराम अस्पताल उत्रिएको रातमै बाल सघन उपचार कक्ष -पीआईसीयू) मा राखेर परीक्षण गर्दा आएको रिपोर्टबाट छोरीलाई केही दिनअघि मस्तिष्कघात -ब्रेन ह्यामरेज) भइसकेको थाहा पायौं,' अस्पताल परिसरमा भेटिएका वसन्तले भने, 'छोरीमा ब्याक्टेरल होइन, ट्युवरकुलर म्यानेन्जाइटिसको संक्रमण रहेको अर्को रिपोर्ट पनि आयो ।'
तत्कालै अपरेसन गरी टाउकोबाट मस्तिष्कघात हुँदाको रगत र टाउकोमा जमेर बसेको पानी बाहिर निकाल्ने काम भयो ।
इशान अस्पतालमा उपचारमा राखेको १० दिनमै बच्चीलाई मृगौला/कलेजोको संक्रमण भइसकेको र निमोनियालगायत संक्रमण गहिरोसँग फैलिइसकेको पछिको रिपोर्टबाट थाहा भएको थियो । गंगाराम अस्पतालमा डा.अनिल सच्देवाको नेतृत्वमा आनभीको उपचार भइरहेको छ । यसबीचमा आनभीको टाउको, पेट र घाँटीमा गरेर आठ पटक अपरेसन भइसकेको छ, कतै मस्तिष्कमा जमेको पानी निकाल्न, कतै अक्सिजन दिन त कतै खानाको पाइप घुसाउन । यतिखेर उनको शरीरमा सामान्य 'मुभमेन्ट' मात्रै देखिन्छ । बारम्बार भइरहेको 'इन्फेक्सन'का कारण स्वास्थ्य स्थितिमा जटिलता घटबढ भइरहेको छ ।
बिचल्लीको शृंखला
३८ वषर्ीय वसन्त रिजाल र ३१ वषर्ीया एलिजा ढुंगेलबीच आठ वर्षअघि बिहे भएको हो । एउटा छोरा अधिप रिजाल -६ वर्ष) र छोरी आनभीसहित आफ्नै संघर्षको दुनियाँमा रमाइरहेका बेला ९ महिनाअघि काखकी छोरी बिरामी परेपछि रिजाल दम्पतीको जीवनमा नसोचेको कष्ट आइपरेको हो ।
'छोरा अधिपलाई पटेलनगरको एउटा स्कुलमा १ कक्षामा भर्ना गरेका छौं, हाम्रो सहयोगका निम्ति सासू ज्ञानु ढुंगेल पनि ७ महिनादेखि यता आउनुभएको छ,' वसन्तले सुनाए, 'छोरी आनभीको स्वास्थ्यमा सुधारको त्यति धेरै संकेत छैन, सामान्य परिवर्तन मात्रै देखिएको छ । भ्यान्टिलेटर बाहिर झिक्न सकिने अवस्था पनि छैन, हामी श्वास रहिन्जेल आसको अवस्थामा छोरी हेरेर दिन काटिरहेका छौं ।'
इशान अस्पतालको उपचार पद्धतिमा रहेको मनपर्दी र चिकित्सक डा.अर्यालले गरेको गलत डायग्नोसिसका कारण बेहोरेको मानसिक/आर्थिक क्षतिलाई लिएर रिजाल दम्पतीले गत असार २० मा काठमाडौं जिल्ला प्रशासन, कार्यालय क्षतिपूर्ति समितिमार्फत उजुरी पनि हालेका छन् । तर यसको छिनोफानो भएको छैन ।
'स्वास्थ्य स्थिति बिग्रने र संक्रमणबाट गुज्रने हदैसम्मको स्थितिमा बच्ची पुगेकी रहिछन् । गंगाराम अस्पतालमा ल्याएर परीक्षण सुरु गर्नासाथै चिकित्सकले सुझाएका थिए, अब उपचार असम्भवप्रायः छ भनिसक्दा पनि हामीले आफ्नै ढिपीमा यहाँ राखेका हौं,' आनभीकी आमा एलिजाले भनिन्, 'आँखैसामुको सकुशल र स्वस्थ सन्तानलाई यो अवस्थामा ल्याइदिने अस्पताल र चिकित्सकका बारेमा समयमै जनचासो बढाउन सके मात्रै पनि अरूको हित हुन सक्ने थियो भन्ने अहिले लागेको छ । हामीमाथि परेको मानसिक आघात कुनै पनि क्षतिपूर्तिले निको पार्न सक्ने छैन, हाम्रो असाधारण तथा अकल्पनीय अवस्थाको सिर्जना हुन गएको छ । यही कारण मिडियामा पहिलो पटक बोल्न चाहेका हौं ।' ट्राभल एजेन्सी चलाउँदै आएका वसन्तको यो व्यवसाय पनि आठ महिनायता ठप्प छ । भएको सम्पत्ति धितो राख्दै र आफन्तबाट ऋण लिएर छोरीको उपचार क्रममा दिल्ली बसाइका उनका दिनहरू बितिरहेका छन् । 'पेडिटि्रक इन्टेन्सिभ केयर युनिट'मा राखिएकी छोरीलाई सामान्य हेरदेख गर्न बाबुआमालाई अनुमति दिइए पनि अरूका निम्ति भ्रमण/आवतजावत गर्ने अनुमति छैन ।
डा. अर्याल भन्छन् यो प्रकरणमा प्रत्यक्ष संलग्न इशान बाल तथा महिला अस्पतालका चिकित्सक डा.धनराज अर्यालले आनभीको स्वास्थ्य स्थितिको डाइग्नोसिस र रिपोर्टअनुसार नै उपचार गरिएको प्रतिक्रिया दिए । 'प्रोभिजनल र फाइनल डाइग्नोसिसको कुरा फरक रहन्छ नै । तर रिपोर्टमा जे भनिएको छ, टि्रटमेन्ट त्यही दिलाइएको हो,' उनले फोनमा भने । उनले इशान अस्पतालमा भ्यान्टिलेटरमा बच्चीलाई राख्नुअघि नै सिटिस्क्यान गर्ने भनिएकामा अभिभावकले दिल्ली लगेर सिटिस्क्यान गर्ने भनेको र 'टीबी म्यानेन्जाइटिस'कै औषधि प्रयोग गरिएको दाबी गरे । 'यो कुरा धेरै प्राविधिक छ, फोनमा बुझाउन गाह्रो छ,' डा. अर्यालले भने, 'फेरि जिल्ला प्रशासनको तहमा अनुसन्धानमा रहेकाले यसबारे छिट्टै निर्णय बाहिर आउनेछ ।'



प्रकाशित : मंसिर १, २०७१ ०८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?