काठमाडौं पुग्न २ सय किमि छोटो

माधव अर्याल

पाल्पा/तनहुँ/स्याङ्जा — उत्तर-दक्षिण जोड्न कालीगण्डकी नदीमा दोस्रो पक्की पुल निर्माण अन्तिम चरणमा छ । जसले, स्याङ्जाको साँखर र पाल्पाको दर्छा जोड्छ । । डेक राख्न र फिनिसिङ्को काम मात्र बाँकी रहेको पुल वैशाखभित्र उद्घाटन गर्ने योजना रहेको डिभिजन सडक कार्यालयले जनाएको छ ।


उक्त पुलका कारण तानसेन, बुटवल हुँदै पोखरा पुग्न ७० र काठमाडौं १ सय २० किमि दूरी कम हुनेछ । पोखरा, तनहुँ र पाल्पा हुँदै नवलपरासीस्थित पूर्वपश्चिम राजमार्ग जोड्न उक्त पुलले सहज बनाउने छ । 'लामो समयको सपना बल्ल पूरा भएको छ,' पाल्पा दर्छाका डोलराज पाठकले भने । अहिले पाल्पाबाट काठमाडौं पुग्न ३ सय ७० किमि दूरी पर्छ । पुल बनेपछि २ सय ३५ किमिमै पुगिनेछ । हाल १ सय ५० रुपैयाँ भाडा लाग्छ । दूरी छोट्टएिपछि ७ सय ५० मात्र तिरे पुग्छ ।
पाल्पाको पूर्वी, तनहुँको पश्चिम-दक्षिण भेग, नवलपरासीको उत्तरी पहाडी गाविस र स्याङ्जाको पूर्वका बासिन्दा यसबाट लाभान्वित हुनेछन् । ६ वर्षअघि निर्माण सुरु भएर ४ दशमलव २५ मिटर चौडाइ र १ सय ६६ मिटर लम्बाइको पुल निर्माण अन्तिम चरणमा पुगेको हो । डिभिजन सडक कार्यालय प्रमुख कर्णबहादुर रानाभाटका अनुसार यसका कारण पाल्पा, स्याङ्जा, तनहुँ र नवलपरासीका करिब १० लाख बासिन्दा प्रत्यक्ष लाभान्वित हुन्छन् भने नारायणगढ र पोखरा पुग्न सहज हुनेछ ।
यस क्षेत्रमा उत्पादित तरकारी, फलफूल र जडीबुटीलाई बजार पुर्‍याउन सहज हुने भएको छ । पुल निर्माणपछि तनहुँ खैरेनीटारदेखि भिमाद हुँदै केलादीघाट हुँदै रामपुरसम्म सोझो यात्रा हुनेछ । पाल्पा रामपुरबाट मित्याल हुँदै अरुणखोला र नवलपरासी कावासोती, रजहर, दलदले, गैंडाकोट निस्किने सडकको ट्रयाक खुलिसकेकाले तराई जोड्ने अर्को मार्गसमेत बन्नेछ । रामपुरका कृष्णकुमार अर्यालले तानसेन भएर बुटवल, पोखरा, काठमाडौं, नारायणघाट जानुपर्ने बाध्यता हट्ने बताए । 'रामपुरबाट सीधै काठमाडौं र पोखरा बस सेवा सञ्चालन गर्न सकिनेछ,' उनले भने, 'घुमेर जानु पर्दैन, यात्रा छोटो र सहज हुन्छ ।' तानसेन पुगेर पोखरा, काठमाडांै र तराई जाने समय बचत हुने उनले बताए । यात्रा चार घन्टा छिटो हुनेछ ।
उक्त पुललाई मध्यनजर गर्दै रामपुरका बासिन्दाले यातायात व्यवसायी समितिसमेत गठन गरिसकेका छन् ।
१ सय २० बाट ६५ किमिमात्र पुलका कारण तनहुँ र कास्कीका बासिन्दालाई नवलपरासीको दलदले निस्किन करिब ५५ किमि छोटो पर्छ । तनहुँ खैरेनीटारबाट मुग्लिन, नारायणघाट र दलदले पुग्न करिब १ सय २० किमियात्रा तय गर्नुपर्नेमा करिब ६५ किमिमै पुगिन्छ । पोखरा आउने पर्यटकलाई समेत दलदले हुँदै लुम्बिनी पुग्न १ सय २० किमि छोटो हुनेछ । 'ग्रामीण क्षेत्रका अदुवा र सुन्तला दलदले पुर्‍याउन सजिलो हुनेछ,' पुल नजिकको गजरकोट केलादीघाटका ५२ वषर्ीय राजन पोखरेलले भने, 'सडक विस्तारलाई प्राथमिकता दिए पर्यटक र कृषकलाई धेरै फाइदा हुनेछ ।'
उक्त क्षेत्रको अदुवा र बेसारको मुख्य व्यापारिक स्थल दलदले भएकाले आफूहरूलाई सहज हुने उनले बताए ।
उद्योग वाणिज्य संघ खैरेनीटार बजार एकाइका पूर्वअध्यक्ष समुन्द्रराम श्रेष्ठका अनुसार नारायणघाट-मुग्लिन सडकमा सवारी भारसमेत कम हुनेछ । स्याङ्जाको साखरबाट भिमाद हुँदै पोखरा र काठमाडौंका लागि १० वर्षदेखि यातायात सञ्चालन भइरहेको छ । हालसम्म
स्याङ्जाका साखर, चापाकोट, रत्नपुरलगायत आधा दर्जन गाविसका बासिन्दाले चापाकोट, गल्याङ हुँदै बुटवल र नारायणगढ पुग्नुपर्ने बाध्यता थियो । 'अब त रामपुर हुँदै छोटो बाटो बुटवल जान पाइने भयो,' साखरका प्रमोद पोखरेलले भने, 'पुलले पाल्पा,नवलपरासी र तनहुँसँग व्यापारिक सम्बन्ध पनि जोडिने छ ।'
हालसम्म सिद्धार्थ राजमार्गबाट गल्याङ बजारमा पुर्‍याएर बुटवलका लागि तरकारी र फलफूल निकासी हुँदै आएको थियो । अब रामपुर हुँदै बुटवल लान सहज हुने छ । 'हामीलाई यस पुलले आशावादी बनाएको छ,' साखरका कृषक कमल अधिकारीले भने । साखरबाट गल्याङ हुँदै बुटवल पुग्न ६/७ घन्टा लाग्नेमा रामपुर आर्यभञ्ज्याङ हुँदै ४ घन्टामा पुग्न सकिनेछ ।

प्रकाशित : वैशाख १४, २०७१ ०९:३२
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

अन्तर्राष्ट्रिय गन्तव्य बन्दै तिलौराकोट

मनोज पौडेल

कपिलवस्तु — जमिनमा प्वाल पारेर एक हात लामो उपकरणको आधा भाग गाडिएको छ । आधा मिटरको यूबीएस तारले उपकरणलाई कम्प्युटरसँग जोडेको छ । माटोमा कम्प्युटरको 'कनेक्सन' देख्ने जोकोही अचम्म मान्छन् ।

बेलायतको युनिभर्सिटी अफ स्टर्लिङका प्राध्यापक डा. इयान ए सिमसन माटोको नमुना संकलन गरिरहेका थिए । उनले २ साता लगाएर तिलौराकोटका २ ठाउँबाट माटोका नमुना कम्प्युटरमार्फत लिए ।
बेलायतकै डुर्‍हाम विश्वविद्यालयका प्राध्यापक डा. रवीन कनिङ्घम पनि गैंची र बेल्चा प्रयोग गरेर खनिरहेका थिए । उनको उद्देश्य बुद्धकालीन तथ्य र सामग्रीको खोजी गर्दै उत्खनन गर्नु थियो ।
बुद्धस्थल तिलौराकोट (प्राचीन कपिलवस्तु) अध्ययनको अन्तर्राष्ट्रिय गन्तव्य बन्दै गएका उदाहरण हुन् यी । ३ महिनायता तिलौराकोटमा विश्वकै ख्याति प्राप्त माटो विशेषज्ञदेखि वरिष्ठ पुरातत्त्वविद्सम्म अध्ययनका लागि आइसकेका छन् । क्यानडाका चर्चित उपन्यासकारदेखि ८० वर्ष उमेरमा पीएचडी गरिरहेकी जापानी प्राध्यापकले अध्ययन/अनुसन्धान गरिसकेका छन् । कोही समूहमा आएका थिए भने केही एक्लै ।
उनीहरूले प्रयोग गरेको प्रविधि उच्चस्तरको थियो । यस्तो प्रविधिको एकीकृत प्रयोगबाट उत्खनन गरिएको दक्षिण एसियामै पहिलो भएको डा. कनिङ्घमले बताए । यहाँ प्रयोग गरिएजस्तो उत्खनन विधि बेलायतमा पनि एकसाथ उपयोग नगरिएको जानकारी उनले दिए ।
ती सबै पुरातत्त्व विभाग, लुम्बिनी विकास कोष, युनेस्को र डुर्‍हाम विश्वविद्यालयको तिलौराकोट उत्खनन अन्वेषण परियोजनाअन्तर्गत तिलौराकोट आएका हुन् । प्राध्यापक सिमसनले माटोको सबैभन्दा उच्चस्तरको अध्ययन मानिने ओएसएल प्रविधिका लागि नमुना संकलन गरे । ओएसएलबाट माटोको सूक्ष्म अध्ययन गरी कुन समयमा केका लागि प्रयोग भएको थियो भन्ने वैज्ञानिक पुष्टिसहित स्पष्ट उत्तर आउँछ । यसले कुन ठाउँ, कति पुरानो र महत्त्वको थियो भन्ने सजिलै थाहा हुने भएकाले बढी प्रभावकारी मानिन्छ । प्राध्यापक कनिङ्घमले तिलौराकोटमा 'पोस्ट होल' (काठ/बाँसको खाँबो गाडिएका डोबहरू) भेटेपछि हौसिएका छन् । राजदरबारको भग्नावशेषदेखि ५० मिटर उत्तर सुरक्षा किल्ला पर्खालमा उत्खनन गर्दा पोस्ट होल पाइएको छ ।
जमिनमुनिको अध्ययनमा पोख्त मानिने बेलायती विशेषज्ञ पुरातत्त्वविद्द्वय डंकन हल र पटिसिया एडबार्ड पनि तिलौराकोट आएका थिए । भूभौतिक सर्भे (जियोफिजिक्स) बाट ४ स्थानमा ठूला घर र ट्याङका विशाल भग्नावशेष भेटिएको उनीहरूले बताए । यस्तै, लुम्बिनी विकास कोषको आग्रहमा श्रीलंकाको क्यालिनिया विश्वविद्यालयका प्राध्यापक डा. पि्रशान्ती गुनाबर्धने पनि अध्ययन गरी फर्केका छन् । दक्षिण एसियाको प्राचीन बौद्ध विहार विषयमा विद्यावारिधि गरेका गुनाबर्धनेले तिलौराकोट अध्ययन/अनुसन्धानका लागि खुला संग्रहालय भएको बताए । कनिङ्घम र सिमसनसँगै १३ विदेशी पुरातत्त्वविद् यस वर्षमात्र आएर फर्केका छन् । । उनीहरू इटाली, इरान, बेलायत, आयरल्यान्ड, प|mान्स र स्वीडेनका थिए । उनीहरूसँगै युनेस्कोका दुई नेपाली परामर्शदाता, पुरातत्त्व विभागका २ र लुम्बिनी विकास कोषका ३ विषेशज्ञ तथा पुरातत्त्वविद्समेत आएका थिए ।
८० वषर्ीय जापानी नागरिक श्रीमती सेट्सुको कर्निस विद्यावारिधिका लागि अध्ययन गरेर फर्किन् । बौद्ध धर्म र वास्तुकलामा विद्यावारिधि गर्न लागेकी उनले २ साताभन्दा बढी तिलौराकोटमा बिताएकी थिइन् । सबै प्राणीको जीवनमा शान्ति ल्याउन मानव चोला लिएका शाक्यमुनि बुद्धको शिक्षा र दर्शनबाट प्रभावित भई वृद्धावस्थामा पढ्न लागेको उनले बताइन् । डुरहाम विश्वविद्यालयकी विद्यार्थी उनी युनिभर्सिटी अफ लन्डनमा ३० वर्षभन्दा बढी जापानी भाषाकी प्राध्यापक थिइन् । १ छोरा, ४ छोरी, ६ नातिनातिना र १ पनाति भएकी उनी विश्वविद्यालयकी सबैभन्दा वृद्ध विद्यार्थी हुन् ।
उनीपछि क्यानडाका चर्चित उपन्यासकार श्याम सेल्भाडुराई आए । उनी यशोधराबारे पुस्तक लेख्न आएका हुन् । आख्यानमा कलम चलाउने उनले बुद्धबारे धेरै पुस्तक, जर्नल, पत्रपत्रिका प्रकाशित भए पनि यशोधराबारे खासै नपाइने भएकाले आफूले कलम चलाउन खोजेको बताए । ४ उपन्यासका लेखक उनले एक दर्जनभन्दा बढी पुरस्कार जितिसकेका छन् ।
बोलाएर प्रचारप्रसार गराउनुपर्नेमा विज्ञहरू आफैं आउनु राम्रो भविष्यको संकेत भएको वरिष्ठ पुरातत्त्वविद् कोषप्रसाद आचार्यले बताए । 'यसले तिलौराकोटको महत्त्व अझै बढाएको छ,' उनले भने ।

प्रकाशित : वैशाख १४, २०७१ ०९:३०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT