कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८५

कांग्रेसलाई प्रधानमन्त्रीको जवाफ- 'संसद्‌मा घुर्की चल्दैन'

कान्तिपुर संवाददाता

ललितपुर — प्रधानमन्त्री केपी ओलीले सभामुख-उपसभामुखको विषयलाई लिएर संसद्‌मा बखेडा ननिकाल्न प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसलाई आग्रह गरेका छन् । तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का इन्जिनियरहरुको एकता घोषणा कार्यक्रममा शनिबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सभामुख-उपसभामुख निर्वाचनमा उम्मेदवारी नदिने अनि अहिले एउटै पार्टीका हुनुहुँदैन भन्न नमिल्ने बताए ।

कांग्रेसलाई प्रधानमन्त्रीको जवाफ- 'संसद्‌मा घुर्की चल्दैन'

'सभामुखमा उहाँहरुले उम्मेदवारी नै दिनु भएन । अहिले एउटै पार्टीका सभामुख, उपसभामुख हुँदैन भन्नुहुन्छ । उम्मेदवारी दिएको भए सकिन्थ्यो त्यतिबेला' उनले भने, 'भइसकेपछि कोही एकता गर्छ, कोही कता जान्छ, त्यसले असर गर्ने होइन' प्रधानमन्त्री थपे, 'घरमा घुर्की चल्छ, पार्लियामेन्टमा घुर्की चल्दैन ।'


स‌ंसद् नियमावली, संविधानअनुसार चल्ने भन्दै उनले विभिन्न बाहनामा अब अवरोध नहुने बताए । 'पार्लियामेन्टमा निहुँ खोजेर चल्न नदिने होइन, दुई/तीन जना उठेर पार्लियामेन्ट अवरोध हुँदैन' प्रधानमन्त्रीको भनाइ थियो, 'यो पार्लियामेन्ट असफल हुनका लागि बनेको होइन ।' जनताको म्यान्डेट पाएको संसद् भएकोले अब यसले आफ्नो काम अगाडि बढाउने समेत उनले स्पष्ट पारे । 'पार्लियामेन्टले कानुन पास गर्छ, अगाडि बढ्छ । यो जनताको म्यान्डेट हो, जनम्यान्डेटको खिलापमा दुई/चार जना मिलेर गलत उद्देश्य पूरा गर्न खोजियो भने, त्यो हुँदैन, सहँदैन ।'


प्रतिपक्षी दल कांग्रेसले संविधानअनुसार सभामुख-उपसभामुख फरक फरक दलको हुनुपर्ने माग सं‌सद्‌मा उठाइरहेको छ । तर, सत्तामा रहेका नेकपाले एकीकरण पूर्व नै सभामुख-उपसभामुख निर्वाचित भएकोले केही असर नगर्ने बताइरहेको छ । तत्कालीन एमाले र माओवादी केन्द्र एकतापछि सभामुख-उपसभामुखका विषयमा संसद्‌मा प्रश्न उठेको हो । सभामुख कृष्णबहादुर महरा तत्कालीन माओवादी र उपसभामुख डा.शिवमाया तुम्बाहाम्फे एमालेबाट निर्वाचित भएका थिए ।


राष्ट्र निर्माणमा सबैले योगदान गर्नुपर्ने भन्दै प्रधानमन्त्रीले सबै बुद्धिजीवी, राजनीतिक दल, तिनका नेता, कार्यकर्तालाई आह्वान गरे । 'हाम्रा कतिपय मतभेद होलान् । तर, राष्ट्रनिर्माणमा, सुशासन दिने कुरामा, देशलाई थितिमा हिँडाउन, आर्थिक समर्द्धितिर लान र राष्ट्रिय एकता बनाउने कुरामा कमसेकम सहकार्य गरौं' उनको भनाइ थियो ।


नेकपाका अध्यक्षसमेत रहेका ओलीले पार्टीका सबै तह एकताको चरणमा भए पनि पार्टी एकढिक्क रहेको दाबी गरे ।

यो पनि पढ्नुहोस्

कांग्रेसको अबको मुद्दा : ‘फरक दलका सभामुख र उपसभामुख’

प्रकाशित : श्रावण १२, २०७५ १८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?