प्रधानन्यायाधीशका लागि अस्वीकृत जोशीले लिए थप ६ दिन बिदा
काठमाडौँ — संसदीय सुनुवाई समितिबाट अस्विकृत भएपछि १५ दिन बिदा बसेका न्यायाधीश दीपकराज जोशीले थप ६ दिन बिदा लिएका छन् । साउन २० गतेबाट बिदामा बसेका जोशीको आइतबारबाट बिदा सकिएसँगै उनले थप ६ दिन भैपरी बिदा लिएका हुन् ।
अाजबाट पुन: सर्वोच्च जाने/नजाने बारे बुझ्न उनीसँग सम्पर्क गर्दा उनले आफूले थप ६ दिन बिदा लिएको बताएका हुन् ।
संविधानको धारा १२९ को उपधारा ६ मा ‘प्रधानन्यायाधीशको पद रिक्त भएमा सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीशले कामू प्रधानन्यायाधीश भई काम गर्नेछ’ भन्ने व्यवस्था छ । जोशीको अनुपस्थितिमा ओमप्रकाश मिश्रले कामु प्रधानन्यायाधीशको हैसियतमा सर्वोच्चमा मुद्दाको पेशी तोक्नेदेखि प्रधानन्यायाधीश उपस्थित हुनुपर्ने कार्यक्रममा सहभागी हुँदै आएका छन् ।
सर्वोच्च अदालतमा कार्यरत १९ जना न्यायाधीशमध्ये वरिष्ठता क्रममा जोशी पहिलो स्थानमा रहेकाले अर्को प्रधानन्यायाधीश नियुक्त नभएसम्म जोशी काममा फर्किए उनी कामू प्रधानन्यायाधीशमा यथावत हुनेछन् । तर प्रधानन्यायाधीश पदमा अस्वीकृत भइसकेको अवस्थामा पदमा रहिरहँदा उनीमाथि नैतिक प्रश्न भने खडा हुनेछ ।
संघीय संसद्को संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई अस्वीकार गरेको थियो ।
प्रकाशित : भाद्र ३, २०७५ ११:००