२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९४

कांग्रेस महासमिति बैठक : महामन्त्री, सहमहामन्त्री र कोषाध्यक्षद्वारा विभिन्न प्रस्ताव पेश, छलफल जारी

काठमाडौँ — शनिबारदेखि काठमाडौंमा सुरु भएको नेपाली कांग्रेसको महासमिति बैठकमा महामन्त्री डा. शशांक कोइरालाले पार्टीको संगठन सम्बन्धी प्रस्ताव, सहमहामन्त्री प्रकाशसरण महतले आर्थिक प्रस्ताव र कोषाध्यक्ष सीतादेवी यादवले कोषाध्यक्षको प्रतिवेदन पेश गरेका छन् ।

कांग्रेस महासमिति बैठक : महामन्त्री, सहमहामन्त्री र कोषाध्यक्षद्वारा विभिन्न प्रस्ताव पेश, छलफल जारी

उनीहरुले प्रस्तुत गरेको प्रस्ताव माथि छलफल गर्नका लागि महासमिति सदस्यहरुलाई सात प्रदेशको समूहमा विभाजित गरेर छलफल गराउने र उक्त समूहले बुझाउने प्रतिवेदनसहित प्रस्तुत भएका प्रतिवेदन माथि भोली हुने बैठकमा छलफल हुने भएको छ । यस्तै उपसभापति विमलेन्द्र निधिले हिजै राजनीतिक प्रस्ताव पेश गरिसकेका छन् ।


यो पनि पढ्नुहोस् : राजनीतिक प्रस्तावमा प्रदेशगत छलफल


यस्तै विधान संशोधनको मस्यौदामा भने सहमति जुट्न बाँकी रहेको छ। विधान मस्यौदामा सहमति गर्न अहिले कांग्रेसको संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बसिरहेको छ । सहमतिपछि केन्द्रीय समितिले पारित गरी बैठकमा विधान संशोधन प्रस्ताव पेश गरिने जनाइएको छ ।


साथै महासमिति बैठक चलिरहेको स्थानमा स्व. खुमबहादुर खड्का निकटका नेता शंकर भण्डारीको नेतृत्वमा हिन्दु राज्य कायम गर्नुपर्ने माग गर्दै महासमिति सदस्यहरुबाट हस्ताक्षर संकलन पनि गरिँदै छ । पार्टीलाई हिन्दु राज्यको पक्षमा उभिन दबाब दिनका लागि हस्ताक्षर संकलन गरेर भोलीको बैठकमा बुझाइने जानकारी नेता भण्डारीले दिए ।


बैठकमा ७७ जिल्ला र विदेशस्थित जनसम्पर्क समितिका गरी एक हजार ७०० भन्दा बढी प्रतिनिधि एवं पर्यवेक्षकको सहभागिता छ । बैठक पुस ३ गते समापन हुने जनाइएको छ । बैठक मङ्सिर २९ गतेदेखि शुरु भएको हो ।


प्रकाशित : पुस १, २०७५ १२:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?