कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गाजामा यातनाको चित्कार

काठमाडौ — एउटा जिउँदोजाग्दो सिंगो मुलुक विश्वको मानचित्रबाट विस्तारै-विस्तारै गायब पारिँदै छ।

गाजामा यातनाको चित्कार
प्यालेस्टाइन
उनीहरूले बर्बाद गर्न सक्दैनन्
तिमीलाई कहिले पनि
किनभने तिम्रा टुटेका आशाहरूबीच
सलिबमा चढाइएको तिम्रो भविष्यबीच
तिम्रो लुटिएको हाँसोबीच पनि
तिम्रा बच्चाहरू मुस्कुराउँछन्
ध्वस्त घरहरू, भवनहरू र यातनाहरूबीच
रगताम्य भित्ताहरूबीच
जिन्दगी र मृत्युको थरथर कँपाइबीच पनि।
- फदवा तुकन, प्यालेस्टाइनी कवयित्री

एउटा देशका सहर, गाउँ र बस्तीमा एउटा जातिको अनधिकृत बसाइ विस्तार अभियान जारी छ र अधिकांश स्थानीयबासीको विस्थापन, बहिष्करणसँगै आफ्नै मुलुकमा उनीहरूको शरणार्थीकरण हुँदै छ। यसरी एउटा सिंगो राष्ट्र लुटिँदै छ, त्यस मुलुकको सीमा अतिक्रमण गरिँदै छ। त्यस देशको भूमि, जल र आकाश समेत खोसिँदै छ। यस्तो अवस्थामा त्यस देशका बासिन्दा चुपचाप बस्न सक्छन् कि सक्दैनन्?
यस्ता प्रश्न उठेका छन्, इजरायलद्वारा लुटिएको मुलुक प्यालेस्टाइनको गाजापट्टी र त्यहाँका बासिन्दाका सन्दर्भमा पनि। काठमाडौं जिल्लाभन्दा आधा सानो रहेको गाजापट्टी शताब्दीयौंदेखि वैदेशिक आक्रमण, कब्जा र अधीनताको रंगमञ्च हुँदै आएको छ। सन्् १९४८ देखि १९६७ सम्म इजिप्टको अधीनमा रहेको गाजापट्टी सन् १९६७ देखि १९९४ सम्म इजरायलको कब्जामा रहेको थियो। अहिले पनि इजरायलको अप्रत्यक्ष सैनिक कब्जामा रहेको गाजापट्टीले आजसम्म पनि स्वतन्त्रताको सास फेर्न पाएको छैन। अठार लाख प्यालेस्टाइनीको बाक्लो जनघनत्व भएको गाजापट्टी एक्काइसौं शताब्दीको दोस्रो दशकमा पनि मेडिसिन साँस फ्रन्टियर्सका जोनाथन
ह्वाइट्टलले भनेझैं 'खुला बन्दीगृह' भन्दा कुनै मानेमा फरक छैन। गाजा नाम मात्रको स्वतन्त्र देश प्यालेस्टाइनको एउटा स्वायत्त क्षेत्र हो, जहाँको जल, जमिन र आकाशमाथि अर्कै देशः इजरायलको कब्जा छ, जहाँ सानोभन्दा सानो निहुँमा वर्षौंवर्षसम्म इजरायलद्वारा आर्थिक नाकाबन्दी लगाइन्छ। कुनै पनि निहुँमा जल, थल र आकाशबाट हमला गरी युद्धक्षेत्रमा फेरिने र नरसंहारकारी हमला गरिने गाजापट्टी हिटलरको यातनागृहभन्दा पृथक छैन। फरक कति मात्रै हो भने हिटलरका यातनागृह: ग्यासच्याम्बरमा यहुदीहरू मारिन्थे भने गाजामा स्थापित खुला यातनागृहमा यहुदीहरूको देश: इजरायलले प्यालेस्टाइनी वा अरबीको संहार गर्दै आएको छ।
तड्पी मर्ने कि विद्रोह गर्ने?
इजरायलको भरमा विद्युत् बाल्नुपर्ने, पेसा-व्यवसाय गर्नुपर्ने, हिँडडुल गर्नुपर्ने र मर्नुपर्ने विधान चलिरहेको गाजापट्टीमा प्यालेस्टाइनीहरूले आफ्नो देश पाएका छैनन् र उनीहरूलाई आफ्नो सार्वभौमिकता अभ्यास गर्नमा इजरायली बारबन्देज छ। देश बन्न नसको यस देशमा गाजाबासीले छेउको भूमध्य सागरमा समेत माछा मार्न, पानीसँग जोडिएका व्यापार-व्यवसाय गर्न र यात्रा गर्न पनि पाउँदैनन्, इजरायलको स्वीकृतिबिना। हुन त यहाँ जननिर्वाचित हमास (इस्लामी प्रतिरोध अभियान) नामक राजनीतिक दलको सरकार छ, शासन भने इजरायलको चल्दछ, आक्रमणकारी इजरायली सैनिकको मनोमानी अधिकार छ। यहाँ १६ वर्षको उमेरपछि सबैले हमासको नेतृत्वमा रहेको 'प्यालेस्टाइनी अथोरिटी' बाट परिचयपत्र बनाउनुपर्छ, तर त्यसको प्रामाणीकरण गर्छन्- इजरायली अधिकारीहरूले। गाजापट्टीकै गाजा सहरबाट रफाहा सहरसम्म जानुपर्‍यो भने पनि प्यालेस्टाइनी अथोरिटीको होइन, इजरायली सैनिकको अनुमति लिनुपर्छ। उसको अनुमतिबिना आफ्नै देशमा स्वतन्त्र ढंगले घुमफिर पनि गर्न पाइँदैन।
प्यालेस्टाइनकै गाजापट्टीबाट वेस्ट ब्याङ्कका गाउँ-सहर जानुपर्‍यो भने त बीचको भूमिमा रजाइँ गरिरहेको इजरायल नै पार गर्नुपर्छ, अनेक कडा सैनिक पहरा, अमानवीय चेकजाँच र ठुल्ठूला पर्खाल र ढोका नाघेर। उडेर जानका लागि न कुनै आफ्नै विमानस्थल छ, न त हवाई जहाज नै छ, न त उड्ने अनुमति नै छ। रफाहा सहरमा बनाइएको विमानस्थल पूर्ण निर्माण नहुँदै इजरायलले बम वर्षा गरी ध्वस्त पारेको थियो भने त्यसको मैदान र रणवेलाई लामो समयसम्म इजरायली हवाई सैनिकले गाजापट्टीमाथि आक्रमण गर्नमै सैन्य शिविरका रूपमा दुरुपयोग गरेका थिए। वास्तवमा प्यालेस्टाइनी कवि महमुद दरवेशले भनेझैं गाजाका हरेक घर एउटा जेल हो र प्रत्येक कोठा पिँजडा हो। कोही पनि गाजाबासी जिन्दगीको उत्सवमा सामेल छैनन् किनभने यहाँ प्रत्येक दिन जात्रामात्राभन्दा बेसी शवयात्रा हुन्छ। यस्तो यातनागृहमा कठोरतम् जीवन बाँचिरहेका प्यालेस्टानीहरूको जिउने अधिकारसमेत हनन गरिएको छ। र, दिनदिनै तड्पी-तड्पी मर्दै जाने कि विद्रोह गरी बाँच्न खोज्ने भन्ने कठोर विकल्प मात्रै बाँकी राखिएको छ।
'प्यालेस्टाइनी चेतनालाई जलाउनु'
कुनै जमानामा प्यालेस्टाइनी मुक्ति संगठन (पीएलओ) ले यासेर अराफातको अगुवाइमा पचासौं वर्षसम्म विद्रोह गरेको थियो, लुटिएको देश प्राप्तिका लागि। पीएलओले गरेको संघर्षको क्रममा इजरायलबाट स्वतन्त्र र सार्वभौम देश त पाउन सकिएन, सीमित भूमिमा सरकार चलाउने अनुमतिसम्म पाइयो। इजरायली इतिहासकार तथा प्राज्ञ इलान पाप्पेका अनुसार पीएलओको विद्रोह -इन्तिफादा)लाई कमजोर बनाउन हमासलाई इजरायलद्वारा प्रश्रय दिइएका र शक्तिशाली बनाइएको थियो। तिनै हमास विद्रोहीहरूले सन् २००७ देखि प्यालेस्टाइनी क्षेत्रमा जननिर्वाचित सरकार चलाइहेका छन्। तर, हमास नामक राजनीतिक दलको सरकार इजरायललाई मात्रै होइन, इजरायलका संरक्षक अमेरिका र युरोपलाई अपि्रय लागेको देखिन्छ। त्यसैले हमासजस्तो 'आतंककारी संगठन' लाई निर्वाचित गर्ने प्यालेस्टाइनी जनतालाई सामूहिक रूपमा सजाय दिन, हमासलगायत प्यालेस्टाइनी वा अरबहरूलाई सखाप पार्न कुनै न कुनै निहुँमा इजरायल आक्रमण र नाकाबन्दीमा व्यस्त रहँदै आएको छ।
पाप्पेका अनुसार पछिल्लो चरणमा पीएलओ र हमासबीचको सहमतिसँगै संयुक्त सरकार निर्माणको क्रमलाई निष्तेज पार्न नै आक्रमण गरिएको छ। यस अर्थमा इजरायल आक्रमणको निसाना पीएलओ वा हमास होइन, प्यालेस्टाइनी चेतना हो। इजरायली रक्षामन्त्री बोगुई यालोनले चिफ अफ स्टाप हुँदा भनेझैं 'प्यालेस्टाइनी चेतनालाई जलाउनु नै इजरायली आक्रमणको मुख्य निसाना' रहेको तथ्य इजरायल डिफेन्स फोर्सेजका पूर्वकमान्डर यहुदा साउलले लेखेका छन्।
तीतो सत्य के हो भने प्यालेस्टाइनीहरूसँग त्यही विद्रोही चेतनाबाहेक अरू केही छैन, अन्यथा कुनै पनि जनता आफ्नो स्वतन्त्र र सार्वभौम देश नहुँदा-नहुँदै पनि यति लामो समयसम्म न बाँच्न सक्छन्, न त लड्न नै। उनीहरूको लडाइँकै कारण उनीहरूको लुटिएको मुलुक उनीहरूको मनमस्तिष्कमा बाँचिरहेको छ, देश बन्न नसकेको क्षेत्रको रूपमा भए पनि बचेखुचेको छ। स्वतन्त्र देशलाई नै लुट्दै, केकजस्तै काट्दै टुक्राटुक्रामा बाँड्दै, त्यहाँ बस्ने मानिसहरूलाई अमानवीयकरणको पराकाष्ठा नाघ्ने गरी यातनागृहमा बन्द गर्ने अमानवीय काम जारी रहेमा प्रतिरोधको आगो अरू व्यापक हुन सक्छ, निभाउन झन् मुस्किल हुन सक्छ।

आधिपत्य र हमलाको विराम
बीसौं शताब्दीदेखि एक्काइसौं शताब्दीसम्म पनि कुनै देशलाई यसरी लुट्दै-खुम्च्याउँदै सखापै पार्न लागिएको कल्पना गर्न पनि सकिँदैन। यस्तै कल्पनाभन्दा टाढाको कटु यथार्थ भोग्ने प्यालेस्टाइनीहरू मानव बम भएको वा हमास विद्रोही भएकोमा आश्चर्य मान्न सकिँदैन। शान्तिपूर्ण विरोध र लोकतान्त्रिक नेतृत्वलाई सखाप पारियो भने आतंकको जवाफ आतंक हुने रहेछ। बाँच्नभन्दा मर्न-मार्न सहज तुल्याइएपछि हिंसाको उत्तर हिंसा नै हुने रहेछ। त्यसो त आक्रमणकारीको आतंक र हिंसासँग प्रतिरोधी शक्तिको हिंसा र आतंक तुलना गर्न सकिँदैन, न त एउटै तराजुमा तौलेर एकसाथ भत्र्सना नै गर्न सकिन्छ। र पनि ठूला आक्रमणकारीलाई सिकारका लागि निहु दिने हिंसा रट-आतंक स्वीकार्य हुन सक्दैन। ठूला आक्रमणकारीद्वारा जारी आधिपत्य र हमलाको विरामबाट मात्रै सशस्त्र प्रतिरोधको अन्त्यको थालनी तथा स्वतन्त्र देश निर्माणको सुरुआत गर्न सकिन्छ।
आफ्ना तीनजना युवा मारिएको र हमासले इजरायली भूमिमा रकेट आक्रमण गरेको निहुँमा असार २४ गतेदेखि थालिएको इजरायली आक्रमण र नरसंहार एउटा हिंसा र आतंकको दुष्चक्रको एक कडी मात्रै हो। सयौं बालबालिका मारिँदा, हजारौं विस्थापित हुँदा र गाजामा इजरायली आतंकको राज नै चल्दा पनि कुनै संयुक्त राष्ट्रसंघ वा राष्ट्रसंघभन्दा सुपर राष्ट्र ठान्ने अमेरिका वा युरोपले हस्तक्षेप गर्नु जरुरी ठानेका छैनन्। कुवेतमाथि आक्रमण गर्ने इराकलाई ध्वस्तै पार्ने अमेरिका र बेलायतको आँखामा इजरायली आक्रमणचाहिँ 'आत्मरक्षाका लागि गरिएको प्रतिरोध मात्रै हो, कुनै सैनिक हमला वा युद्ध होइन।' उनीहरूको नजरमा आतंककारी त हमास वा प्यालेस्टाइनी वा अरबी वा मुसलमान मात्रै हुन सक्छन्, इजरायल वा यहुदी वा इसाई हुन सक्दैनन्। यस्तो जातिवादी-नस्लवादी हेराइ र साम्राज्य स्वार्थका कारण इजरायलले प्यालेस्टाइनलाई हडप्दा पनि, सबै छिमेकीको भूभाग कब्जा गर्दा पनि उसलाई न्यायको कठघरामा उभ्याइँदैन, न त इराकलाई जस्तै आक्रमणै गरिन्छ। यस्तो सहुलियतप्राप्त हमलावरले गाजामा सैनिक दादागिरी गर्दा गाजाबासीको प्रतिरोध स्वाभाविक हुन्छ भने विश्वभरि उसको यहुदीवादी आक्रामकता भत्र्सनाको लायक बन्छ नै।
त्यसैले आज प्रश्न उठेको छ, अर्काको देश हडप्दै जानेले आत्मरक्षाको माला जप्दै बम वर्षा गरिरहेको दृश्य वल्र्ड कपजस्तै कति दिन हेरिरहन सकिन्छ? प्यालेस्टाइन र प्यालेस्टाइनीलाई सखाप पार्ने यहुदी जातिवादी अभियान कसरी हिटलरको यहुदीविरोधी संहारभन्दा फरक हुन सक्छ? हाम्रा आफन्त इजरायलमा कार्यरत रहेकै आधारमा कुनै पनि आक्रान्तको राज्यआतंक, क्रूर हिंसा र सीमा अतिक्रमणलाई कसरी समर्थन गर्न सकिन्छ? यस्तै मतका साथ मण्डला थियटरमा साहित्यकार खगेन्द्र संग्रौलासँगै हस्ताक्षर गर्दा खुला यातनागृहबाट आइरहेको चित्कार मनमा पनि गुन्जिरहेको थियो। त्यही चित्कार सुन्न नसकेर पुल्चोकस्थित संयुक्त राष्ट्रसंघ भवनअगाडि झरीमा रुझ्दै उभिएका नेपालीहरूले छातीमा टाँसेका थिए: 'मानवताको चिहान नखन !'









 

प्रकाशित : श्रावण १३, २०७१ ०९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?