१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३०६

सभासद साह पक्राउ

थुनामा रहुन्जेल सभासदको हैसियत र अधिकार नहुने

काठमाडौं/जनकपुर — दुई बर्ष अघि ५ जनाको ज्यान जाने गरी जनकपुरमा भएको श्रृंखलाबद्ध बम बिस्फोटको मुख्य योजनाकार रहेको आशंकामा प्रहरीले सभासद् सञ्जयकुमार साहलाई पक्राउ गरेको छ

सभासद साह पक्राउ
दुई वर्षअघि पाँच जनाको ज्यान जाने गरी जनकपुरको रामानन्द चोकमा गराइएको वम विस्फोटका मुख्य योजनाकार भनिएका धनुषा-४ का सभासद एवं सद्भावना पार्टीका वरिष्ठ केन्द्रीय उपाध्यक्ष सञ्जयकुमार साह पक्राउ परेका छन् ।
धनुषा प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी सभासद साहलाई सार्वजनिक गरेको हो । प्रहरी उपरीक्षक उत्तमराज सुवेदीले साहलाई धनुषा प्रहरी र केन्द्रीय अपराध अनुसन्धान महाशाखाको संयुक्त टोलीले वीरगन्जबाट पक्राउ गरेको जानकारी दिए । कार्यक्रममा अपराध अनुसन्धान महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक गौतम कार्की पनि उपस्थित थिए ।
रामानन्द चोकमा गराइएको विस्फोटमा साहको संलग्नता देखिएको प्रहरीले जनाएको छ । 'साह दोषी रहेको यथेष्ट प्रमाण प्रहरीसँग छ,' कार्कीले भने, 'अदालतबाट उनी सजायका भागिदार बन्नेछन् ।'
दुवै हातमा हतकडी लगाइएका साहको अनुहार मलिन थियो । सञ्चारकर्मीसँगको संक्षिप्त बोल्दै उनले आफू निर्दोष रहेको दाबी गरे । 'मलाई अदालतमाथि विश्वास छ,' उनले भने, 'मैले न्याय पाउनेछु ।'
२०६९ वैशाख १८ गते मिथिला राज्यको माग राखी रामानन्द चोकमा शान्तिपूर्ण धर्नामा बसेकालाई लक्षित विस्फोटमा ५ जनाको ज्यान गएको थियो । ३२ जना घाइते भएका थिए ।
विस्फोटमा जनकपुर-८ बलवा टोलका ३५ वर्षीय विमल शरणको घटनास्थलमै मृत्यु भएको थियो भने अभिनेतृ रञ्जु झा, रिक्सा चालक तथा प्रचारक झगरु दास तथा सुरेश उपाध्यायको उपचारका क्रममा जनकपुर अस्पतालमा मृत्यु भएको थियो । बेंगाशिवपुरका दीपेन्द्र दासको काठमाडौंमा मृत्यु भएको थियो ।
विस्फोटमा संलग्न रहेको आरोपमा राजन मुक्ति भन्ने रञ्जितकुमार झा, मुकेश चौधरी, सुरेशकुमार कर्ण, रिपेन्द्र झा र मुकेशकुमार कर्ण यसअघि नै पक्राउ परिसकेका छन् ।
मुकेशले जिल्ला अदालतमा दिएको बयानमा सभासद सञ्जय साह सशस्त्र समूहका प्रमुख सल्लाहकार रहेको र उनकै प्रस्तावअनुसार रामानन्द चोकमा विस्फोट गराइएको बताएका थिए ।
यसका लागि साहले आफूलाई ५ लाख भारतीय रुपैयाँसमेत उपलब्ध गराएको मुकेशको बयान छ ।
विस्फोट गराउनुअघि र गराइसकेपछि मुकेश तथा साहबीच पटक-पटक टेलिफोन सम्पर्क भएको प्रमाण पनि प्रहरीले प्रस्तुत गरेको छ । विस्फोटमा साहको संलग्नता पुष्टि गर्दै प्रहरीले जिल्ला अदालतमा मुद्दा दायर गरिसकेको छ । प्रहरीले जुटाएको सबुत प्रमाणका आधारमा अदालतले गत चैत दोस्रो साता सभासद साहको नाममा वारेन्ट जारी गरेको थियो ।



प्रकाशित : वैशाख २१, २०७१ ०९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?