कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मध्य तथा पूर्वी तराई शीतलहरले २१ को मृत्यु

विराटनगर र भरतपुर — तराईका जिल्लाहरूमा एक सातायता कठ्यांगि्रएर २१ जनाको मृत्यु भएको छ । महोत्तरीमा ७, रौतहटमा ६, सिराहमा ३, मोरङमा ३, सप्तरी र झापामा १/१ जनाएको मृत्यु भएको हो ।
पूर्वी तराई शीतलहरमा जमेसरह भएको छ ।

तराईका जिल्लाहरूमा एक सातायता कठ्यांगि्रएर २१ जनाको मृत्यु भएको छ । महोत्तरीमा ७, रौतहटमा ६, सिराहमा ३, मोरङमा ३, सप्तरी र झापामा १/१ जनाएको मृत्यु भएको हो ।
पूर्वी तराई शीतलहरमा जमेसरह भएको छ । केही दिनबीचै महोत्तरीमा ७, सिराहमा ३, मोरङमा ३, सप्तरी र झापामा १/१ गरी १५ जनाको मृत्यु भइसकेको छ । जनजीवन स्वाभाविकै कष्टकर हुँदा दलित र सुकुम्बासी परिवारहरू सबैभन्दा बढी समस्यामा छन् । चिसोका बिरामीहरू स्वास्थ्य संस्थाहरूमा भिडमभीड छन् । खासगरी वृद्धवृद्धा र बालबालिकामा श्वासप्रश्वास, निमोनिया, कोल्ड डायरियालगायत समस्या अत्यधिक देखिएको छ ।
महोत्तरीमा मात्रै एक सातामा यति धेरै मानवीय क्षति भएको हो । सोमबार बिजुलपुरा-१ मा ४० वर्षीय लालमोहमद राइन र ७३ वर्षीय गोनौर महतोको मृत्यु भयो । स्थानीयका अनुसार राइन शौच गर्न जाँदा चौरमै कठ्यांगि्रएर ढलेका थिए ।
दक्षिण महोत्तरीमा पश्चिमवर्ती स्याँठ चल्दा चिसो हवात्तै बढ्यो । शीतलहरको चौथो दिन मंगलबार पनि घाम झुल्केन । जिल्ला पशु कार्यालयका अनुसार बढदो जाडोका कारण २ सयभन्दा बढी बाख्रापाठा मरिसके । चौपायाहरूमा विभिन्न प्रकोप देखापरेको छ । ३ हजारभन्दा बढी हेक्टरमा लगाइएको आलु र गोलभेडामा डढुवा रोग फैलिएको छ ।
परिकौलीस्थित नेपाली सेनाको शेर गणले दाउरा बाँडेर जलेश्वर, मटिहानीलगायत २ दर्जनभन्दा बढी सार्वजनिक स्थानमा आगो ताप्ने व्यवस्था मिलाएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, जलेश्वर तथा गौशाला नगरपालिकासमेतले दाउरा वितरण गरेका छन् ।
पूर्वक्षेत्रीय प्रहरी कार्यालयका अनुसार गाउँ, सहर सबैतिर ठन्डीले क्षति भइरहेको छ । पुस ८ गते विराटनगर-१० का ५० वर्षीय आशा ऋषिदेव र पुस ३ गते मोरङकै हसनदह-३ का ८३ वर्षीय नोहा सतारको जाडोकै कारण मृत्यु भयो । गत साता नै भारतीय नागरिक ६० वर्षीय नारायण तत्मा बबियाबिर्तामा मृत फेला परे । यसैगरी गत साता सप्तरी बनौनिया-२ का ७० वर्षीय चन्द्रेश्वर खाङ शीतलहरबाट ज्यान गुमाउन पुगे ।
पूर्वाञ्चलमा चिसोका कारण प्रभावित हुनेको संख्या बढ्दै गए पनि प्रभावकारी रूपमा राहत वितरण हुन नसकेको पीडितको भनाइ छ । चिसोका कारण बालबालिका र बृद्धबृद्धा बढी प्रभावित भएका छन् । चिसोका कारण अस्पतालमा बिरामीको संख्यामा भने खासै वृद्धि नभएको कोसी अञ्चल अस्पतालका डा. दीपक सिग्देलले बताए । 'अहिले बिरामीको संख्यामा पनि वृद्धि भएको देखिँदैन र चिसोबाट हुन सक्ने रोगका बिरामीको संख्यामा पनि उल्लेख्य छैन,' उनले भने, 'चिसोबाट बच्ने उपायबारे राम्रो जानकारी राख्न सके डाक्टरकहाँ आउनै पर्दैन ।'
यसैबीच, एनआईसी एसिया फाउन्डेसन, नेपाल प्रहरी श्रीमती संघ, न्यानो संसारलगायत संस्थाले कम्बल, धुस्सा, न्यानो कपडा, चाउचाउ र बिस्कुट आदि खाद्यसामग्री वितरण गरेका छन् । मोरङमा ७५, सप्तरीमा छ सय ९० परिवारलाई राहत वितरण गरिएको पूर्वक्षेत्रीय प्रहरी प्रमुख नवराज सिलवालले बताए । सिराहमा पनि दुई सय ४० थान कम्बल वितरण गरिएको छ । पीडितहरूलाई निःशुल्क स्वास्थ्य परीक्षण र औषधिसमेत वितरण गरिएको सिलवालले जनाए ।
कष्टकर सिराह
सिराहमा चिसोले कठ्यांगि्रएर सातायता तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दलितबस्तीका सुकुम्बासी भूमिहीन छन् । चिसोले कठ्यांगि्रएर सिराह इटहर्वा-२ का ६० वषर्ीय लखन पासवानको मृत्यु भएको छ ।
प्रहरीका अनुसार शौच गर्न निस्केका लखन खेतमा मृत भेटिएका थिए । त्यसैगरी अत्यधिक चिसोका कारण सातायता सिराहमा सुखिपुर-८ का बृद्ध बौबा सदाय मुसहर, चन्द्रअयोध्यानगर-७ का २० दिनकी शिशु अन्जु सदाय मुसहर र विधानगर-२ का ५० वर्षीया आशादेवी मण्डलको मृत्यु भएको छ । चिसो र शीतलहरकै कारण न्यानो कपडाकै कारण बर्सेनि सर्वसाधारणले ज्यान गुमाउनुपरेको छ ।
चिसोले बढीजसो बालक र बृद्धबृद्धामा प्रभाव परेको छ । अत्यधिक चिसोका कारण सिराहका लहान, धनगढी, गोलबजार, मिर्चैयालगायत बजार क्षेत्रमा सर्वसाधारणको चहलपहलमा कमी आएको छ । बाक्लो हुस्सु र चिसोका कारण कोल्ड डायरिया, ज्वरो, हाडजोर्नी, रुघाखोकी बिरामी बढेका छन् । लहान अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट मिश्रीलाल साहका अनुसार कोल्ड डायरियालगायत चिसोका दैनिक ४५ जनाभन्दा बढी बिरामी उपचारका लागि आउँछन् । त्यसैगरी जिल्ला अस्पताललगायत ग्रामीण क्षेत्रका अस्पतालमा समेत चिसोका बिरामीको चाप बढेको छ ।
चिसो बढेपछि नगरपालिका, प्रहरी र जिल्ला वन कार्यालयले बजार क्षेत्रमा दाउरा वितरण गरेको छ । त्यसैगरी प्रहरीलगायत अन्य संघसंस्थाले जिल्लाको केही स्थानमा न्यानो कपडासमेत वितरण गरे ।
झापाको कुमरखोद-८ का ८० वर्षीय होपना सोरेनको मंगलबार मृत्यु भएको प्रहरी कार्यालय कुमरखोदले जनाएको छ । प्रहरी नायब निरीक्षक खडगनारायण श्रेष्ठका अनुसार सोरेनको अत्यधिक चिसोका कारण सुतेकै ठाउँमा मृत्यु भएको हो । श्रेष्ठका अनुसार सोरेन परिवारको आर्थिक अवस्था अति दयनीय थियो । उनको गतिलो घर र जीउ ढाक्ने पर्याप्त कपडा थिएन ।
मध्य र पश्चिमको उही हाल
मध्य र पश्चिम तराईका बासिन्दालाई पछिल्लो साता शीतलहर कठिन अनुभव बन्न पुगेको छ । रौतहटमा कठ्यांगि्रएर ६ जनाको मृत्यु भएको छ । पिप्राराजवडा-७ का ६० वर्षीया सुखल महतो सुतेको सुत्यै चिसोले मरेको अवस्थामा फेला परे । देबाही-१ का ६० वर्षीय काशी साह, गम्हरिया बिर्ता-२ का ४५ वर्षीय राजदेव पण्डित, पिप्राराजवडा-७ का ६२ वर्षीया रामकलिया देवी, सग्रामपुर-२, पर्साटोलका ७१ वर्षीय जनक हजरा र पिपरिया-६ का १२ वर्षीया रिमाकुमारी यादवको चिसोले मृत्यु भएको रौतहटका प्रहरी उपरीक्षक सानुबाबु थपलियाले बताए । प्रहरीले सञ्चारमाध्यममार्फत जाडो प्रभावित बस्तीमा कम्बल तथा कपडा वितरणका लागि अपिल गरेको छ ।
रौतहटका सबै विद्यालय एक साताका लागि बन्द भएका छन् । सोमबार वीरगन्जबाट धरान जाँदै गरेको ना२ख २७७७ नम्बर बसका चालक वीरबहादुर माझी शीतलहरले मूच्र्छा परे । चन्द्रनिगाहापुर चोकमा काँपेर बेहोस भएपछि तत्काल उनलाई स्थानीय क्लिनिकमा पुर्‍याइएको थियो । प्रभावित दलित बस्तीमा विभिन्न संस्था तथा व्यक्तिले न्यानो कपडा वितरण गर्न थालेका छन् । प्रमुख जिल्ला अधिकारी मदन भुजेलको सक्रियतामा चोकचोकमा आगो बाल्न दाउराको व्यवस्था गर्न लागिएको छ । त्यसका लागि वन कार्यालयसँग दाउरा माग गरेको भुजेलले जनाए ।
'घुर प्यारो
बारामा हुस्सु र शीतलहरले जनजीवन अस्तव्यस्त छ । न्यानो पहिरन नहुने गाउँले 'घुर' तापेर बच्ने मेलोमा छन् । पराल, धान, गहुँको भुसी र गुइँठाको थुप्रोमा आगो लगाएर ताप्नुलाई स्थानीय भाषामा 'घुर' भनिन्छ । बालबालिका, वृद्धवृद्धाहरू ठाउँठाउँमा आगो ताप्दै दिन गुजार्छन् । बालबालिका विद्यालय जान छाडेका छन् । घरबाट बाहिर निस्कनेहरू कम छन् । बजार र सरकारी कार्यालयमा आवागमन कम भएको छ । अस्पतालमा जाडोका बिरामीको चाप बढ्न थालेको छ । दैनिक ५/६ जना कोल्ड डायरिया, रुघाखोकी र निमोनियाका बिरामी आउन चिकित्सक विजय कुसवाहाले बताए ।
जिल्ला दैवी प्रकोप उद्धार समिति पीडितको व्यवस्थापनमा जुटेको छ । जोखिमका समुदायको लगत संकलन, ठाउँठाउँमा आगो ताप्न दाउरा, कम्बल र न्यानो लुगा खरिद गर्न समिति लागिपरेको छ । 'सुरुमा जोखिम समुदायको लगत संकलन गर्ने र त्यसपछि दाउरा तथा कम्बल खरिद गरी बाँड्ने योजना तत्काल सुरु हुन्छ,' प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीले भने ।
बिरामीको चाप
मकवानपुर र रूपन्देहीका अस्पतालमा चिसोका बिरामीको चाप बढेको छ । मकवानपुरको उच्च भूभागमा हिमपात नभए पनि चिसो दैनिक बढिरहेको छ । साँझ बिहान हातखुट्टा कठ्यांगि्रन्छन् ।
हेटौंडा अस्पताल होस् वा स्थानीय स्वास्थ्य केन्द्रमा भीड बढेको छ । 'गत सातादेखि बिरामी हवात्तै बढेका छन्,' अस्पतालका चिकित्सक डा. हरिबहादुर खडकाले भने, 'बालबालिका र बृद्धबृद्धाहरूलाई ठन्डीका कारण विभिन्न किसिमका रोग लागेको छ ।' विकट चेपाङ बस्तीका बालबालिकामा ज्वरो, रुघा र खोकी देखापरेको छ । 'बिहान/बेलुका चिसो छ तर दिउँसो घाम लाग्ने भएकाले स्कुल बिदा गर्नुपरेको छैन,' जनकल्याण उच्च माविका प्राचार्य सानोभाइ कार्कीले बताए । त्यस्तै बुटवलका अस्पतालमा भीड छ । बिरामी पर्नेमा ५ वर्षमुनिका बालबालिका र बृद्ध बढी छन् । बालबालिकामा निमोनिया र झाडापखालाको समस्या छ ।
वृद्धहरू खोकी, दम, धम्की र पखालाबाट पीडित छन् । सरकारी, सामुदायिक र निजी अस्पतालसँगै मेडिकलहरूमा समेत बिरामी बढेका छन् । सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दामा चिसोका कारण निमोनिया र झाडापखालाको समस्या लिएर आउने बालबालिका ५० प्रतिशतले बढेका छन् ।
कपिलवस्तु नगरपालिकाले आगो ताप्न दाउरा वितरण गरेको छ । जिल्ला विपद् व्यवस्थापन समितिको आग्रहमा ५ वटै नगरपालिकाले बजार क्षेत्रमा आइतबारबाट दाउरा वितरण गरिरहेको छ । २ दिनमा २ ट्रयाक्टर दाउरा वितरण गरिएको छ । लगत्तै सर्वसाधारणले दाउरा बालेर आगो ताप्न थालेको जिल्ला विपद् व्यवस्थापनका फोकल पर्सन प्रशासकीय अधिकृत मेघनाथ पाध्याले बताए ।
सर्लाही र पर्सामा पनि समान अवस्था छ । सर्लाहीस्थित बेला गाउँका रामचन्द्र माझीलाई -मुसहर) कसरी जाडो छल्ने भन्ने चिन्ता छ । ९ जना परिवारका अभिभावक शीतलहरलाई सबैभन्दा ठूलो दुस्मन ठान्छन् । 'दिनभरि घाम नलागेपछि हामी गरिब परिवारको बिचल्ली हुन्छ,' उनले भने, 'ओढ्ने ओछ्याउने धेरै नभएकाले आगो ताप्ने र परालमा सुतेर गुजार्नुपर्छ ।' ग्रामीण भेगमा शीतलहरले पार्ने प्रभावबाट सबैभन्दा बढी गरिब आक्रान्त छन् । जनजीवन प्रभावित भएपछि आइतबार सैनिक श्रीमती संघले ईश्वरपुर नगरपालिका १० का अति विपन्न १ सय ६० परिवारलाई न्यानो कपडा र कम्बल वितरण गरेको थियो । रिपुमर्दन गणका गणपति अन्जन केशर खत्रीले ग्रामीण भेगमा शीतलहरले निकै दुस्प्रभाव पारेको बताए । उनले आगो तापेर गुजारा गर्नसमेत गरिब परिवारलाई समस्या परेको उल्लेख गरे । पर्सामा गत साता यता जनजीवन कष्टकर बनेको छ । ५ दिनयता घाम लागेको छैन । दिन प्रतिदिन जाडो बढ्दै छ । विशेष गरी मजदुर तथा विपन्न वर्गलाई समस्या भएको छ । उमनपाको कार्यालयले बटुवा तथा मजदुरलाई आगो ताप्न चोकचोकमा दैनिक दाउरा उपलब्ध गराउँदै आएको छ । जिल्लाका सम्पूर्ण विद्यालय बन्द गरिएको छ । जिल्ला शिक्ष्ाा कार्यालयले सूचनामार्फत आइतबारदेखि पुस १८ सम्मका लागि विद्यालयमा बिदा आहवान गरेको हो ।
दुर्घटनाको जोखिम
बाक्लो कुहिरोका कारण चितवनलगायत जिल्लाका राजमार्गमा दुर्घटनाको जोखिम बढ्दै गएको छ । चालकले हुस्सुका कारण केही नदेख्ने अवस्था छ । साइकल, मोटरसाइक र पैदल यात्रु बढी दुर्घटनामा परिरहेको ट्रफिक प्रहरी तथ्यांकले देखाउँछ । दुर्घटनाको जोखिम कम गर्न चालकलाई फोकस लाइट बालेर सुस्त गतिमा सवारी हाँक्न अनुरोध गरिएको प्रहरीले जनाएको छ । यसैगरी नवलपरासीको जाडो प्रभावित मुसहर बस्तीमा कम्बल र लत्ताकपडा वितरण गरिएको रेेडक्रसले जनाएको छ ।









प्रकाशित : पुस १६, २०७१ ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?