कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

करेन्टबाट गैंडा मर्दा ४ जनालाई जरिवाना

रमेशकुमार पौडेल

चितवन — पश्चिम चितवनको पर्यटकीय होटल मेघौली सेराइको आडमा बिजुलीको करेन्ट लागेर गैंडा मरेको घटनामा चितवन जिल्ला अदालतले बुधबार ४ जनालाई जरिवानाको सजाय गरेको छ । 

करेन्टबाट गैंडा मर्दा ४ जनालाई जरिवाना

२०७३ सालको साउन २५ मा करेन्ट लागेर गैंडा मरेपछि चितवन निकुञ्ज कार्यालयको तर्फबाट सोही वर्षको भदौ ५ मा जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । ९ जना विरुद्ध मुद्दा दायर भएकोमा अन्य पाँचजनाले सफाइ पाएका छन् ।


मेघौली सेराई होटलमा सीजी ग्रुपको समेत लगानी भएको होटल हो । जरिवाना हुनेमा सो होटलका तत्कालीन उच्च कर्मचारीहरु समेत छन् । चितवन निकुञ्ज र राप्ती नदी आडैमा सो होटल रहेको छ । होटल वरपर गैंडा चर्न आउँछन् । फलामको ड्रमहरु जोडेर डुंगा बनाउने सिलसिलामा वेल्डिङ गर्न लगेको बिजुलीको तार त्यसै छाड्दा त्यही तारमा परेर गैंडा मरेको थियो ।


चितवन जिल्ला अदालतका सूचना अधिकारी केशव पौडेलका अनुसार अदालतले रितेश भट्टलाई एक लाख रुपैयाँ जरिवाना हुने फैसला सुनाएको छ । रितेश भारतीय नागरिक हुन् । घटना हुँदा रितेश होटलका प्रबन्धक रहेका थिए ।


त्यसै गरी होटलका नेचर गाइड रहेका अर्का भारतीय नागरिक दिपु शशीलाई अदालतले ५० हजार रुपैयाँ जरिवाना गरेको छ । तोकेको पेशी पटक पटक सर्दै आएर २८ औं पेशीमा बल्ल फैसला आएको हो ।


सूचना अधिकारी पौडेलका अनुसार यो मुद्दामा जिवन महतो र सुनिल महतोलाई पनि ५०/५० हजार रुपैयाँ जरिवाना भएको छ । जिल्ला न्यायाधीश विनोदकुमार गौतमले यो मुद्दाको फैसला गरेका हुन् ।


यो मुद्दामा अभियुक्त रहेका विकास दराई, विरजा महतो, बुधराम चौधरी र गिरिजलाल कछडियाले सफाइ पाएका छन् ।वेल्डिङ गराउने कामको जिम्मा पाएका सुवास विक गदाललाई पनि अदालतले सफाइ दिएको छ ।


मुद्दा दायर हुँदा तत्कालिन जिल्ला न्यायाधीश टेकनारायण कुँवरले अहिले अदालतले सजाय गरेका चारैजना अर्थात रितेश, दीपु, जिवन र सुनिललाई पुर्पक्षका लागि थुनामा राख्न भरतपुर कारागार चलान गर्ने आदेश दिएका थिए ।


तर पछि उच्चअदालतले यो आदेश उल्ट्याएर सबैलाई दुई/दुई लाख रुपैयाँ धरौटी लिएर तारेखमा छाड्ने आदेश गरेको मुद्दामा प्रतिवादीका तर्फबाट बहस गरेका अधिवक्ता कमल पाठकले बताए ।


दुर्लभ वन्यजन्तु भएका कारण गैंडा मार्नु र यसको अंगको कारोबार तथा ओसारपास गर्नु अपराध मानिएको छ । तस्करले मात्रै नभएर पछिल्लो समय खेतवाली जोगाउन किसानले थापेको विद्युतीय धराप तथा अन्य पासोमा परेर पनि गैंडा मर्ने गरेका छन् । यसरी गैंडा मर्दा पनि सजाय हुने गरेको छ । गैंडा मारेमा १० लाख रुपैयाँसम्म जरिवाना या पाँचदेखि १५ वर्षसम्म कैद वा कैद र जरिवाना दुवै हुने कानुनी व्यवस्था छ ।


यो पनि पढ्नुहोस्ः

निकुञ्जले ‘शून्य चोरी सिकारका हजार दिन’ भनेर प्रचार गरेकै समयमा गैंडाको सिकार भएको पुष्टि

प्रकाशित : मंसिर २६, २०७५ १७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?