सरकारी कामकाजमा नेपाली, तामाङ र नेपाल भाषा प्रयोग गर्ने वाग्मती प्रदेश सरकारको निर्णय
मकवानपुर — वाग्मती प्रदेश सरकारले सरकारी कामकाजमा अब नेपाली, तामाङ र नेपाल भाषा प्रयोग गर्ने भएको छ । प्रदेश मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले ‘प्रदेश सरकारी कामकाजको भाषा’ सम्बन्धी ऐन उक्त दिनबाट पूर्णरुपमा लागू गर्ने र सोही अवसरमा प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
वैठकले ऐनबमोजिम वैशाख २४ गते प्रधानमन्त्री पुष्पकमल दाहालको आतिथ्यतामा काठमाडौंको वसन्तपुरमा विशेष समारोहकाबीच सरकारी कामकाजको भाषा प्रयोगको सुरुवात भएको घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार उक्त ऐन लागू भएसँगै सरकारी कार्यालयका साइनबोर्ड लेटरप्याडमा तीन वटा भाषाको प्रयोग हुनेछ । नेपाली, तामाङ र नेपाल भाषाको चल्ती अब प्रदेश तहमा हुनेछ । मन्त्रिपरिषद्को वैठकले विभिन्न १४ वटा निर्णय गरेका छन् ।
उनका अनुसार मन्त्रिपरिषद्को वैठकले प्रदेश तहमा सरकारी तथा सामुदायिक भवन वा कुनैपनि किसिमको भौतिक संरचना निर्माण गर्दा स्वदेशमै उत्पादन भएका काठ अनिवार्य प्रयोग गर्नपर्ने, जिल्ला अदालत मकवानपुरको नयाँ कार्यालय भवन उद्घाटन गर्न भएको खर्च भुक्तानी गर्न ५ लाख रकम उपलब्ध गराउने भएको छ ।
‘स्थानीय तहमा हस्तान्तरण हुने वित्तिय समानिकरण अनुदान रकम स्वीकृत गर्ने र प्रदेशस्तरीय सरकारी पदाधिकारी तथा कर्मचारीको कार्यकक्षको स्तरीकरण सम्वन्धी मापदण्ड २०८० संशोधनसहित स्वीकृत गर्ने निर्णय वैठकले गरेको छ ।’, मन्त्री श्रेष्ठले लैंगिक तथा यौनिक अल्पसंख्यक सम्वन्धि नीति २०८१ समेत वैठकले स्वीकृत गरेको छ ।
यसैगरी, आर्थिक वर्ष २०७८/७९ मा सम्पन्न भएको विभिन्न योजनाको बाँकी भुक्तानी रकम निकासा गर्ने प्रदेश श्रम सल्लाहकार परिषद्को गठन गर्नेलगायत निर्णय वैठकले गरेको छ ।
मन्त्रिपरिषद्को वैठकले प्रदेशसभाको अधिवेशन अन्त्यको लागि प्रदेश प्रमुख समक्ष सिफारिस समेत गरेको थियो ।
प्रकाशित : वैशाख १२, २०८१ १९:०७