१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६०

जनकपुर बम काण्डका योजनाकार सार्वजनिक

श्यामसुन्दर शशि

जनकपुर — पाँच जनाको ज्यान गएको रामानन्द चोकको विस्फोट तथा सञ्चार उद्यमी अरुण सिंहानियाको हत्याका योजनाकार अर्जुन सिंह भन्ने मुकेश चौधरीलाई बिहीबार प्रहरीले सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी धनुषाले बिहीबार गरेको पत्रकार सम्मेलनमा मध्य क्षेत्रीय प्रहरी कार्यालय हेटांैडाका प्रमुख नायव प्रहरी महानिरीक्षक प्रकाश अर्यालले चौधरीलाई आइतबार पक्राउ गरिएको जनाए ।
प्रहरीको विशेष टोलीले उनलाई धनुषा सीमावर्ती नगराइन ९, जटहीमा पक्राउ गरेको अर्यालले बताए । यसअघि विभिन्न सञ्चार माध्यममा चौधरीलाई भारतीय भूमिमा पक्राउ गरी नेपाल प्रहरीलाई बुझाइएको समाचार आएको थियो । 
नायब प्रहरी महानिरीक्षक अर्यालयले चौधरीलाई धनुषामै पक्राउ गरिएको दाबी गरे । चौधरीमाथि कम्तीमा १० हत्या, दर्जनौं अपहरण, चन्दा असुलीलगायत आपराधिक घटनामा संलग्न रहेको आरोप छ । २०६६ फागुन १७ गते जनकपुर टुडे सञ्चार समूहका प्रमुख सञ्चार उद्यमी अरुण सिंहानियालाई शिवचाेकमा गोली प्रहार गरी हत्या गरिएको थियो । यसैगरी २०६९ वैशाख १८ गते जानकी नवमीका दिन मिथिला राज्य संघर्ष समितिको आह्वानमा जारी शान्तिपूर्ण धर्नालाई लक्षित गरी गराइएको विस्फोटमा पाँच जनाको मृत्यु भएको थियो । ३२ सर्वसाधारण घाइते भएका थिए । प्रहरी अनुसन्धानमा यी दुवै घटनाको मुख्य योजनाकार अर्जुन सिंह भन्ने मुकेश चौधरी रहेको उल्लेख छ ।
अर्यालका अनुसार चौधरीले २०६७ सालमा महेन्द्र बहुमखी क्याम्पस बाँकेका क्याम्पस प्रमुख रन्जितराम पाठकलाई अपहरण गरी बन्धक बनाई ७ लाख फिरौती लिएको, २०६८ चैत १७  गते राति दुई बजे जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरी जलेश्वरस्थित कार्यालय भवनमा रिमोर्ट कन्ट्रोल बम विस्फोट गराएको समेत आरोप छ । 
२०६६ माघ १२ गते नेपालगन्ज निवासी बाँके जिविसमा कार्यरत गाविस सचिव इन्द्रबहादुर श्रेष्ठलाई गोली हानी हत्या गरेको, २०६९ माघ ११ गते नेपालगन्जस्थित भेरी अस्पताल अगाडि नेपालगन्ज नगरपालिकाका २८ वषर्ीय गौरव मल्ललाई गोली हानी हत्या प्रयास गरेको लगायतका आरोप उनीमाथि छ ।

प्रकाशित : फाल्गुन २३, २०७० १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?