साहित्य - संगीत

काठमाडौ — स्थानीय विकास मन्त्रालयका सहसचिव दिनेश थपलियाको अर्को चिनारी गीतकारको छ ।

साहित्य - संगीत
सहसचिवका आधुनिक गीत
काठमाडौं (कास)- करिब पाँच दर्जन गीत रेकर्ड गराइसकेका उनी बल्ल पहिलो सोलोसाथ श्रोतामाझ आएका छन् ।
'सारांश' मा दस गीत छन् ः 'आफ्नो मान्छे...', 'बिरानो 'नि आफ्नो...', 'पहिलो पल्ट भेट भो...,' 'तिमी नभए...', 'मेरो हातले तिम्रो सिउँदो...', 'मायालाई म अनमोल भन्छु...', 'तिम्रो केशमा हराएँ म...', 'मकालुको शिरबाट...' र 'राम्रो मान्छे रिसाउनु हुन्न...' । दीपक शर्माको एकल संगीत रहेको एल्बममा अञ्जु पन्त, राजेशपायल राई, स्वरूपराज आचार्य, सत्यराज आचार्य, प्रमोद खरेल, सरोज ओली, माण्डवी त्रिपाठी, रामचन्द्र काफ्ले, मिलन अमात्य र कृष्ण काफ्लेको स्वर सुन्न सकिन्छ । आधुनिक स्वादका गीत रहेको उक्त एल्बम शुभ मिडिया होमले बजारमा ल्याएको हो ।

मलेसियामा भानु कविता
क्वालालम्पुर (कास)- कामपछिको फुर्सदमा साहित्य-संगीत लगायत विभिन्न रचनात्मक कार्यक्रम गर्दै आएका मलेसियाका नेपालीले यस पटक भिन्न कार्यक्रम गरे । आदिकवि भानुभक्त आचार्यको सम्झनामा उनको साहित्यिक योगदानको चर्चा गर्दै उनीहरुले कविता प्रतियोगिता गरे । भानुको योगदानलाई देशविदेशमा सम्झना र चर्चा गर्ने ध्येयका साथ मौलश्री लिम्बूको संयोजकत्वमा गठित भानुभक्त द्विशतवाषिर्की समारोह समिति मलेसियाले कार्यक्रम गरेको हो ।
केस्रा लेखन मञ्च, अनाम मण्डली, विश्व नेपाली साहित्य महासंघ, सुम्निमा फाउन्डेसन, प्रवासी नयन साहित्य समाज र उदाउँदो तारा साहित्य समाज लगायत मलेसियामा क्रियाशील संघसंस्थाको समेत संलग्नता रहेको प्रतियोगितामा मलेसियाका विभिन्न क्षेत्रमा कार्यरत नेपाली स्रष्टाले क्वालालम्पुर आएर कविता सुनाए । साहित्यकार मनिराई गोठाले, दिलदुःखी जन्तरे, सविन राई र राज अविरल यात्री रहेको निणर्ायकमण्डलले १८ जना प्रतियोगीमध्येबाट भीम स्नेही पहिलो, आदर्श सुशील दोस्रो, काप्पोवा चुम तेस्रो र टुकेन्द्र पौरखी सान्त्वना घोषणा गर्‍यो । उनीहरुले क्रमशः ३ सय रिंगिट, २ सय, एक सय र र ५० रिंगिट सहित प्रमाणपत्र पाए, प्रमुख अतिथि रामचन्द्र गिरी र निणर्ायक मण्डलका दिलदुःखी जन्तरेले पुरस्कार हस्तान्तरण गरे ।
कार्यक्रममा अनलाइनमार्फत साउदी अरबबाट पञ्च विस्मृत सहभागी भए भने यूएईबाट समदर्शी काइँला । कामबाट फुर्सद नमिले पनि कतिपयले टेलिफोनमार्फत नै आदिकविबारे कविता सुनाउँदा कार्यक्रम रोचक बनेको थियो । साहित्यकार जीवन देवानका अनुसार मलेसियामा गरिएको यो दोस्रो कविता प्रतियोगिता हो ।

कट्टेलका गजल
काठमाडौं (कास)- होमा कट्टेलको गजल कृति 'दमित आवाज' राजधानीमा शुक्रबार सार्वजनिक गरियो । गीतकार तथा सामालोचक प्रा. कृष्णहरि बरालले उक्त संग्रह सार्वजनिक गर्दै होमाका सिर्जनालाई 'गमलामा रोपिएका फूल नभई स्वतःस्फूर्त उमि्रएका प्राकृतिक फूल' को उपमा दिए ।
संग्रहमाथि प्रकाश सायमी, ज्ञाननिष्ठ ज्ञवाली, भागवत आचार्य, डा. रेणुका थापा 'सोलु', मणिराज सिंह लगायतले टिप्पणी गरेका थिए । प्रभा बराल, संगीता शर्मा, ईश्वरी कार्की 'वर्षा', भुवन थापा, राजेश चोच्छे, पूर्व सांसद आङ्दावा शेर्पा लगायतले होमाका रचना वाचन गरे ।
कार्यक्रममा अमेरिकाको बोस्टनमा बस्दै आएका महेश्वर पन्तलाई ज्योति साहित्य प्रतिष्ठानले सम्मान गर्‍यो । संगीतकार नरहरि प्रेमीले सम्मानित व्यक्तित्वबारे बोलेका थिए ।

प्रकाशित : असार ७, २०७१ १०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले यस वर्ष ल्याउने वार्षिक नीति तथा कार्यक्रम मुख्य रुपमा कुन क्षेत्रमा बढी केन्द्रित हुनुपर्छ ?