कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

मलेसियामा नेपाली आफ्नैबाट असुरक्षित

मलेसिया (क्वालालम्पुर) — वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका युवाहरू नेपालीबाटै धेरै ठगिएको निष्कर्ष मलेसियास्थित नेपाली दूतावासको छ ।

मलेसियामा ठगिनु र लुटिनु नौलो कुरा होइन तर नेपालीबाट नेपाली ठगिनुलाई दूतावासले अस्वाभाविक भनेको छ ।
नेपालबाट 'कलिङ भिसा'मा मलेसिया पुर्‍याउने र कामको खोजी गर्ने कार्य सम्बोधन हुने क्रममा छ । तर, एउटा कम्पनीमा काम गर्नेलाई अर्को कम्पनीमा राम्रो कामको आश्वासनमा ठग्ने कार्य जारी रहेको दूतावासले जनाएको छ । यो कार्यमा संलग्न नेपालीलाई कारबाही गर्ने प्रक्रिया दूतावासले अघि बढाउन लागेको छ । यसले नेपालीलाई अलपत्र पार्ने मात्र होइन कागजपत्रविहीन बनाइदिएकाले समस्या चुलिँदै गएको दूतावासको ठहर छ । कागजपत्रविहीन नेपाली सन् २०१४ को अन्त्यसम्म स्वदेश फर्किसक्नुपर्ने वा र्फकन कागज लिइसकेको हुनुपर्नेछ ।
पछिल्लो समय यस्तो ठगीसँगै आपराधिक गतिविधिमा समेत नेपाली संलग्न हुन थालेपछि समस्या थपिएको दूतावासले जनाएको छ । मलेसियामा रहेका नेपाली व्यवसायीहरू नेपालीकै संलग्नतामा अपहरणमा पर्न थालेपछि दूतावासले परराष्ट्र मन्त्रालयमार्फत गृह मन्त्रालयसँग छलफल गर्दै समाधान थालेको छ ।
नेपाली व्यवसायीलाई अपहरण गर्ने, फिरौती माग्ने क्रियाकलापमा नेपाली संलग्न भएको खुलेपछि त्यहाँको सरकारसँग मिलेर निगरानी गर्नेबारे गृह अधिकारीसँग छलफल भइरहेको राजदूत निरन्जनमासिंह बस्न्यातले कान्तिपुरलाई बताए । मलेसियामा रहेका आपराधिक समूहसँग मिलेर केही नेपालीले यस्तो कार्य गरेको मलेसियाली गृह मन्त्रालयको समेत ठहर छ ।
मलेसियाले सुरक्षा गार्डका रूपमा नेपालीलाई मात्र विश्वास गरेको छ । 'पिलन्धरे सुरक्षासम्बन्धी कुनै ज्ञान नभएको तर प्रमाणपत्र भएका' नै भए पनि सुरक्षा गार्ड नेपाली नै हुनुपर्ने मान्यता मलेसियाको छ । इन्डोनेसियाली नागरिकको दबदबा रहेको मलेसियामा नेपाली सुरक्षाकर्मीबाट उनीहरू आफूलाई सुरक्षित सम्झन्छन् । यस्तोमा नेपालीहरू पनि आपराधिक गतिविधिमा संलग्न हुन थालेपछि समस्या बढेको दूतावासका एक अधिकारीले बताए । मलेसियाले नेपालसहित चीन, भारत, बंगलादेश, श्रीलंका, पाकिस्तानलगायत १४ मुलुकका नागरिकलाई रोजगारीका लागि खुला गरेको छ । तर सुरक्षा गार्डका लागि नेपालीलाई मात्र विश्वास गरेको छ । मलेसियामा ८ सयभन्दा बढी कम्पनीमा नेपाली काम गर्छन् । तीमध्ये धेरै नेपाली सुरक्षा गार्डको रूपमा कार्यरत छन् ।
मलेसियामा झन्डै ९ लाख नेपाली कार्यरत रहेको दूतावासको अनुमान छ । पेनाङमा अवैतानिक वाणिज्य दूत नियुक्त गरेर कन्सुलर सेवा दिन सुरु गरिएको छ । जोहरबारुमा पनि सम्पर्क कार्यालय स्थापना गरेर पासपोर्टको फारम भर्ने र त्यो उपलब्ध गराउने काम आरम्भ गर्न लागिएको राजदूत बस्न्यातले जनाए । क्वालालम्पुर विमानस्थलमा भेटिएका चितवनको भण्डारा घर बताउने निराजन पौडेलले भने, 'हामी अभागी नेपालमा पनि ठगिएर नै आएको । ८० हजारमा सही छाप लगाएर डेढ लाख तिरेर आएको यहाँ पनि लुटिएका छौं ।
यहाँको प्रहरीबाट समेत लुटिएका छौं ।' उनले आएको ऋण तिर्न बाध्य भएर काम गरिरहेको बताए । दलका नेता भन्नेहरूले समेत चन्दा लिएर हैरान पारेको उनले गुनासो गरे । 'यहाँ सबै पार्टीको संगठन छ । हामीलाई चुसेको रकममा नेताहरू घुम्न आउँछन् र ठूला गफ गरेर जान्छन्' उनले भने । उनले आफू विमानस्थलमा काम गर्ने हुनाले धेरै नेपाली भेट्ने बताए । भने, 'नेपालदेखि नै ठगिएर आएका हुन्छन् । यहाँ पनि आफ्नै दाजुभाइले अलपत्र पारेको गुनासो गर्छन् ।'

प्रकाशित : पुस १६, २०७१ ०९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?