२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

आशिषद्वारा पुरानो कीर्तिमान भंग

ध्रुव तुलाधर

काठमाडौँ — सुदूरपश्चिम प्रदेशका आशिष महरले दशरथ रंगशालाको ट्र्याक एन्ड फिल्डमा बिहीबार जुनियरतर्फको ३६ वर्ष पुरानो राष्ट्रिय कीर्तिमान तोडेका छन् ।उनले त्यो कीर्तिमान छात्र ट्रिपलजम्पमा बनाए ।

आशिषद्वारा पुरानो कीर्तिमान भंग

उनले १४ औं केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्डमा १४.१९ मिटर जम्प गर्दै स्वर्ण जितेका थिए । आशिषले २०४४ सालमा धनवीर चौधरीले बनाएको १४.०६ मिटरको कीर्तिमान तोडेका हुन् । धनवीरले उक्त कीर्तिमान तत्कालीन वीरेन्द्र सिल्ड (क्षेत्रीय शिक्षा निर्देशनालय खेलकुद) मा बनाएका थिए ।

धनवीरकै सामुन्ने आशिषले रेकर्ड बनाएका थिए । कञ्चनपुर महेन्द्रनगरका खेलाडी आशिषले आफ्नै प्रयासको अभ्यासबाट यो सफलता भेट्टाएका हुन् । उनले राष्ट्रिय कीर्तिमान बन्दा आफू अचम्मित र खुसी रहेको सुनाए ।

‘सामान्य ट्रेनिङ गर्छु, सक्दो प्रयास गरिरहेको थिएँ । कीर्तिमान नै बनाउनु होला भन्ने थिएन, त्यसैले अचम्मसँगै खुसी अनुभव भइरहेछ,’ आशिषले भने । ११ कक्षामा पढ्दै गरेका आशिषले ट्रेनिङ पाए अझै राम्रो गर्न सक्छु भन्ने मनोबल बढेको सुनाए ।

गत सातामात्र वाग्मती अन्तरप्रदेश खेलकुदमा उनले १३.६१ मिटर जम्प गर्दै स्वर्ण जितेका थिए ।

झन्डै चार दशक पुग्न लाग्दा आफ्नो कीर्तिमान तोडिँदा धनवीर चौधरी पनि खुसी देखिए । उनले आशिषलाई धाप मार्दै भने, ‘प्रतिभावान खेलाडी जन्मेको महसुस गरेको छु । तिम्रो प्रतिभा देखेर खुसी लागेको छ । अझै राम्रो गर्न सक्छौं । मैले आफूले सिकेको अनुभव सेयर गर्नेछु ।’

चौधरी पनि एथलेटिक्सको फिल्डतर्फका थुप्रै रेकर्डधारी खेलाडी हुन् । एथलेटिक्स संघको महासचिव भइसकेका उनले आशिषलाई प्रोत्साहनस्वरुप केही रकम पनि प्रदान गरे ।

आशिष दोस्रोपल्ट दशरथ रंगशाला राष्ट्रपति रनिङ सिल्ड खेल्दै थिए । यसअघि १२ औं संस्करणमा भने उनले १०० मिटर दौडेका थिए । यसपालि पनि ४ गुणा १०० मिटर रिले दौडिए । त्यसमा उनको टिम तेस्रो भयो । लङजम्पमा पनि उनी तेस्रो भए ।

ट्रिपलजम्पमा उनका प्रतिस्पर्धा वाग्मती प्रदेशका विशाल गुरुङ दोस्रा र लुम्बिनी प्रदेशका विजय थारु तेस्रा भए । सोही विधाको छात्रातर्फ लुम्बिनीकी अनिशा थारुले १०.५७ मिटर जम्प गर्दै स्वर्ण जितिन् । सुदूरपश्चिमकी रेनुका ऐर दोस्रो र वाग्मतीकी अपेक्षा महतो तेस्रो भए ।

सुदूरपश्चिमकै देवकीकुमारी धामीले पनि छात्रा ३ हजार मिटर दौडमा जुनियर राष्ट्रिय कीर्तिमान बनाइन् । स्वर्ण जितेकी देवकीले १० मिनेट ५२.८२ सेकेन्डमा दौड पूरा गरिन् । उनले २०७५ सालमा राममाया बुढाले राखेको १० मिनेट ५७.२ सेकेन्डको कीर्तिमान तोडिन् । लुम्बिनीकी गुन्जा यादव दोस्रो र कर्णालीकी कल्पना बुढा तेस्रो बने ।

छात्रतर्फ ३ हजार मिटर दौडमा कर्णालीका अजय विकले ९ मिनेट २४.२ सेकेन्डबाट स्वर्ण जितेका थिए । वाग्मतीका विश्वराम कुँवरले रजत र कर्णालीका अक्कल बडुवालले कांस्य जिते ।

कर्णाली प्रदेशको छात्रा टिमले ४ गुणा ४ सय मिटर रिलेमा कीर्तिमानी स्वर्ण जित्यो । भावना फरसाल, सरिता खड्का, हिमाली शाही र कृष्णा रानासम्मिलित टिमले निर्धारित दूरी ४ मिनेट १७.२ सेकेन्डमा पूरा गरेको थियो ।

कर्णालीका छात्राले लुम्बिनीका अरुणा रिजाल, पूर्णिमा खड्का, पूजा चौधरी र करुणा रिजालको नाममा रहेको ४ मिनेट २३.८ सेकेन्डलाई तोडेका थिए । यसपालि लुम्बिनी दोस्रो र सुदूरपश्चिम तेस्रो स्थानमा रहे । सोही स्पर्धाको छात्र रिलेमा सुदूरपश्चिम पहिलो, मधेश दोस्रो र वाग्मती प्रदेश तेस्रो हुन सफल भयो ।

राष्ट्रपति रनिङ सिल्डको एथलेटिक्समा यसपालि ५ विधामा जुनियर राष्ट्रिय कीर्तिमान स्थापित भएको छ । पहिलो दिन छात्र हाइजम्पमा गण्डकीका गणेश बिकले १.८१ मिटर जम्प गर्दै कीर्तिमानसहित स्वर्ण जितेका थिए । दोस्रो दिन कर्णालीकी सरिता खड्काले ८ सय मिटर दौडमा कीर्तिमान बनाइन् । उनको कीर्तिमानी समय २ मिनेट २८.५ सेकेन्डको थियो ।

बिहीबार सटपुट छात्रमा कर्णालीका बालकुमारले स्वर्ण जिते । उनले १२.९५ मिटर सटपुट फाले । सुदूरपश्चिमका गणेश बिक दोस्रो र लुम्बिनीका सुराज थापा तेस्रो भए । छात्रामा सुदूरपश्चिमकी कृष्णा बलले १०.५७ मिटरसहित स्वर्ण जितिन् । सुदूरकै पूजा साउद रजत र वाग्मतीकी एलिना बिक कांस्य जित्न सफल भए ।

छात्र २०० मिटर दौडको स्वर्ण मधेशका आदेशकुमार यादवले जिते । उनको टाइमिङ २२.८ सेकेन्ड थियो । सुदूरपश्चिमका चन्द्र बोहरा रजत र वाग्मतीका सन्तबहादुर दराई कांस्य जित्न सफल भए । सोही विधाको छात्रातर्फ कोशीकी आरती चौधरीले २८.२ सेकेन्डमा दुरी पूरा गर्दै स्वर्ण जितिन् । सुदूरपश्चिमकी रितु जोशीले रजत र गण्डकीकी एञ्जल अधिकारीले कांस्य जिते ।

२६ स्वर्णको प्रतिस्पर्धामा सुदूरपश्चिम र कर्णालीले समान ७ स्वर्ण जित्दै पदक तालिकामा शीर्ष दुई स्थान ओगटेका थिए । वाग्मती, लुम्बिनी, गण्डकीले समान ३ स्वर्ण जित्दा मधेश २ र कोशी प्रदेश १ स्वर्ण पदक जित्न सफल भयो ।

प्रकाशित : वैशाख ७, २०८१ ०६:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?