कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गाजा क्षेत्रमा दीर्घकालीन युद्धविराम घोषणा

गाजा नगर (एएफपी) — गाजा क्षेत्रमा दीर्घकालीन युद्धविराम घोषणा भएपछि यस क्षेत्रको आकाश बुधबार शान्त देखिएको छ। एक दशकमा सबैभन्दा घातक देखिएको हिंसा अन्त्य भएपछि इजरायल तथा हमास दुवैले ५० दिने युद्धमा आफू विजयी भएको दाबी गरेका छन्।

गाजा क्षेत्रमा दीर्घकालीन युद्धविराम घोषणा

युद्धग्रस्त क्षेत्रमा बसोबास गर्ने दसौं लाख जनताले शान्तिपूर्ण रात बिताउन पाएका छन्। यसबीच गाजामा कुनै पनि आक्रमण भएको छैन। प्यालेस्टाइनीले पनि रकेट प्रहार नगरेको इजरायली सेनाले जानकारी दिएको छ।
दुबै पक्षमा बन्दुक शान्त देखिएको अवस्थामा सेनाका एक प्रवक्ताले युद्धविराम लागू भएको १२ घन्टामा गाजामा आईडीएफका क्रियाकलाप नदेखिएको र इजरायलमा रकेट आक्रमण नभएको बताए। १६०० जीएमटीमा मंगलबार उक्त युद्धविराम लागू भएको थियो। त्यसलाई वासिङ्टनका साथै राष्ट्रसंघका महासचिव बान कि-मुनले स्वागत गरेका छन्। उनले यसबाट इजरायल तथा प्यालेस्टाइनबीच शान्तिवार्ता पुनः सुरु हुने आशा व्यक्त गरेका छन्।
यो युद्धविराम आफ्नो विजय भएको दाबी इजरायल तथा इस्लामिक हमास आन्दोलन दुवैले गरेका छन्। गाजामा हमासको नियन्त्रण छ। मारिभ समाचारपत्रले यस युद्धविरामलाई वस्तुस्थितिवादी धारणाले बराबरीको रूपमा लिएको छ।
विशेषज्ञहरूले सात सातासम्मको युद्धमा २ हजार १ सय ४३ प्यालेस्टाइनी तथा ७० इजरायली नागरिकको मृत्यु तथा थकानपछि उनीहरूले युद्धविराम गरेको बताएका छन्। मध्यपूर्वका विशेषज्ञ आयल जिसरले ५० दिनसम्मको युद्धपछि दुवै पक्ष थाकेकाले उनीहरू युद्धविराममा पुगेको बताए।
राजनीतिक रूपमा हमासले केही पनि प्राप्त गरेको छैन। ऊ वास्तवमै कमजोर भएको छ। इजारायलले पश्चिमी सरकारले समर्थन गरेको प्यालेस्टाइनी प्राधिकरणसँग शान्तिवार्ता पुनः सुरु गर्नुपर्छ। प्यालेस्टाइनी पक्षले यसलाई स्थायी युद्धविराम मानेका छन् भने एक इजरायली अधिकारीले यो निःसर्त तथा असीमित समयको युद्धविराम भएको बताए।
युद्धविरामको सम्झौता अनुसार इजरायलले वस्तु, मानवीय सहयोग तथा निर्माण सामग्रीको प्रवेशमा प्रतिबन्ध खुकुलो बनाउनेछ। प्यालेस्टाइनी माझीहरूका लागि क्षेत्र विस्तार हुनेछ। बन्दरगाह तथा विमानस्थल निर्माण गर्नुपर्ने तथा बन्दी रिहा हुनुपर्ने हमासको माग तथा लडाकु समूहलाई निःशस्त्र बनाउनुपर्ने इजरायलको मागका विषयमा भने वार्ता हुन बाँकी छ। यसका लागि आउँदा दिनमा वार्ताकारहरू कायरोमा आइपुग्नुपर्नेछ।
युद्धविराम भएपछि गाजामा खुसी मनाइएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका प्रवक्ता लिरान डानले सैनिक रेडियोमा हमासले निकै वर्षदेखि इजरायलसँग युद्धका लागि रकेट तैनाथ गर्ने, सुरुङ खन्ने तथा आतंकवादी क्रियाकलाप गर्ने अनेकौं तयारी गरेको तर यसलाई आईडीएफले नियन्त्रणमा लिएको बताए।
हमासले पनि आफूले इजरायलमाथि निकै क्षति पुर्‍याएको दाबी गरेको छ। गाजामा जीवन सामान्य हुँदै गएको छ। विद्युत् कम्पनीका कामदारहरू इजरायलसम्मको दुई प्रमुख लाइन मर्मत गर्न घरबाट बाहिरिएका छन्। यी लाइन युद्धमा क्षतिग्रस्त भएका थिए। फोन कम्पनीका प्राविधिकहरू पनि क्षति पुगेका संरचनाहरू मर्मत गर्दै रहेको देखिएका छन्।








 

प्रकाशित : भाद्र १२, २०७१ ०९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?