कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मलाला र सत्यार्थीलाई नोबेल शान्ति

(एजेन्सीहरू)

ओस्लो — भारतका बाल अधिकारकर्मी कैलाश सत्यार्थी र पाकिस्तानकी बालिका शिक्षा अभियन्ता मलाला युसुफजाईलाई संयुक्त रूपमा यस वर्षको नोबेल शान्ति पुरस्कार दिने घोषणा भएको छ ।

मलाला र सत्यार्थीलाई नोबेल शान्ति
केही सातायता भारत-पाक सीमामा दुवै पक्षबाट भइरहेको आक्रमणले अशान्ति छाइरहँदा यो सम्मानले ठूलो सन्देश दिन खोजेको छ ।
'सत्यार्थी हिन्दु हुन्, मलाला मुस्लिम । सत्यार्थी पुरुष हुन्, मलाला महिला,' विश्लेषकहरूले भनेका छन्, 'यो छनोटले शान्तिसँगै समानता, धार्मिक सद्भाव र एकतालाई पनि बल दिएको छ । झगडा गरिरहेका दुवै मुलुकलाई यसले सचेत गराउने छ ।' सत्यार्थी र मलालालाईर् बालबालिका र युवा वर्गको शोषणविरुद्ध सर्वोपरि शिक्षा उत्थानमा लागिपरेबापत उक्त सम्मान दिइएको हो । उनीहरूले ११ लाख अमेरिकी डलर (८ लाख ७४ हजार युरो) राशिको पुरस्कार बाँडेर लिनेछन् । उक्त पुरस्कार पाउने मलाला सबभन्दा कम उमेरकी व्यक्ति हुन् ।
सत्यार्थीले सन् १९८० देखि 'बचपन बचाओ (बाल्यकाल जोगाऔं)' नामक गैरसरकारी संस्था सञ्चालन गर्दै आएका हुन्, जसले बाल श्रमविरुद्ध काम गर्छ ।
पाकिस्तानको आदिवासी क्षेत्रमा बालिका शिक्षानिम्ति आवाज उठाइरहेकी १७ वर्षे मलालाले तालिवानको गोली खानुपर्‍यो । गत वर्ष उनलाई कम उमेर भएकै कारण उक्त पुरस्कार दिइएको थिएन । यसपटक पनि उनको उमेर नोबेल शान्तिजस्तो विश्वकै सबैभन्दा प्रतिष्ठित र सर्वाधिक राशिको पुरस्कार पाउन योग्य भइनसकेको भन्ने चर्चा उठेको थियो ।
'सवा सय करोड भारतीयका लागि यो गर्वको विषय हो । उद्योग र अर्थ व्यवस्थाले यति धेरै प्रगति गरिसक्दा पनि दासत्वको जीवन जिउन बाध्य बालबालिकाको यसले सम्मान बढाउनेछ,' सत्यार्थीले भने ।
सत्यार्थीले विश्वका सबै बालबालिकालाई उक्त सम्मान समर्पित गर्न चाहेको उल्लेख गरे । उनले मलालालाई आफ्नी राम्री बहिनी भन्दै अब दुवै जना मिलेर शान्तिका लागि काम गर्ने बताए । उनले सञ्चारमाध्यमबाट खबर पाएका थिए ।
 'विश्वका गरिब मुलुकहरूको ६० प्रतिशत जनसंख्याको उमेर २५ वर्षभन्दा कम छ । विशेष गरी संघर्ष जारी मुलुकमा बालबालिकालाई उपेक्षा गरिँदा हिंसाको समस्या हरेक पुस्तासँगै बढै गइरहेको छ,' नोबेल शान्ति समितिले भनेको छ, 'सत्यार्थीले महात्मा गान्धीको शान्तिपथको अनुशरण गर्दै आर्थिक फाइदाका लागि बालबालिकासँग हुने निकृष्ट शोषणविरुद्ध विभिन्न खाले शान्तिपूर्ण प्रदर्शन गरे ।'
भारतको मध्यप्रदेशको विदिशामा सन् १९५४ को ११ जनवरीमा जन्मिएका सत्यार्थी बाल श्रमविरुद्धको आन्दोलनका चर्चित नाम हुन् । पेसाले विद्युत् इन्जिनियर उनी २६ वर्षको उमेरमा करियर त्यागेर बालबालिकाको हक संरक्षणमा होमिएका हुन् । बालश्रम र बेचबिखनविरुद्धको उनको अभियानले थुप्रैलाई पुनर्जीवन दिएको छ । प्रचारबाजीबाट टाढै रहने ६० वर्षे सत्यार्थी यतिबेला ग्लोबल मार्च अगेन्स्ट चाइल्ड लेबर (बाल श्रमविरुद्ध विश्व अभियान) का अध्यक्ष पनि हुन् । उक्त संस्थामा १ सय ४० मुलुकका करिब दुई हजार सामाजिक संस्था तथा संगठन आबद्ध छन् ।
व्यापारी, भूमिपति तथा अन्यले दास बन्न बाध्य बनाएका लाखौं बालबालिकालाई मुक्त गराएको श्रेय उनलाई दिइएको छ । उनले भारतीय टेलिभिजनमा 'भारतमा जन्मेको केही कुरा विश्वव्यापी भएको र अब आफूहरूसँग बाल श्रमविरुद्ध विश्वव्यापी अभियान भएको' बताए ।
सत्यार्थीको आधिकारिक वेबसाइटअनुसार बाल श्रमिकलाई छुटाउने क्रममा उनीमाथि धेरै पटक सांघातिक आक्रमण भयो । सन् २०११, १७ मार्चमा दिल्लीको एक कपडा कारखानामा छापा मार्दा उनीमाथि आक्रमण भएको थियो । सन् २००४ मा ग्रेट रोमन सर्कसबाट बाल कलाकारलाई मुक्त गराउन खोज्दा उनीमाथि आक्रमण भएको थियो । उनले यसअघि थुप्रै पुरस्कार पाइसकेका छन् । जर्मनीको 'द एयकनर इन्टरनेसनल पिस अवार्ड (१९९४), अमेरिकाको 'रोबर्ट अफ क्यानेडी ह्युमन राइट्स अवार्ड (१९९५), 'डिफेन्डर्स अफ डेमोक्रेसी अवार्ड (२००९) र मेडल अफ इटालियन सिनेट (२००७)' लगायत अन्तर्राष्ट्रिय सम्मान पाइसकेका छन् ।
पछिल्लो समय बेलायतको बरमिंघम सहरमा बस्दै आएकी मलालाले विद्यालयबाट निवास फर्केपछि आफू पुरस्कृत भएको सुनेकी हुन् । रसायनशास्त्रको कक्षामा रहेका बेला यसबारे थाहा पाउँदा चकित परेको उनले बताइन् । भारतका सत्यार्थीसँग पुरस्कार पाएकोमा उनले खुसी प्रकट गरेकी छन् । हरेक बालबालिकाको गुणस्तर शिक्षा दिलाउन यो पुरस्कार प्रोत्साहित गर्ने उनले भनेकी छन् । विश्वभरका बालबालिकालाई आफू उनीहरूसँग खडा रहेको बताउन चाहेको उनले बताइन् । आमा, बहिनी र श्रीमतीभन्दा पनि बढी छोरासरह बराबर छोरी भएको हरक्षण अनुभूति गराउने पितालाई यो उपलब्धिका लागि धन्यवाद दिन चाहेको उनले धारणा राखिन् । उनलाई दुई वर्षअघि जीवनदायक उपचारका लागि पाकिस्तानबाट बेलायत ल्याइएको थियो । उनले कठोर मुसलमान गृह क्षेत्रमा बालिका शिक्षाका लागि वर्षौंसम्म संघर्ष गरिन् । सन् २०१२ को अक्टोबरमा तालिवानले गोली प्रहार गरेपछि उनलाई संसारले चिन्न पुग्यो । स्वात उपत्यकामा मलाला चढेको विद्यालयको बसमा प्रवेश गरी तालिवान आतंककारीहरूले 'मलाला को हो ?' भनी सोधेरै टाउकोमा गोली हानेका थिए । बेलायतमा उपचारपछि उनी बाँचिन् । उनले त्यसपछि आत्मकथा पनि लेखिन् ।
पिता युसुफ जियाउद्दिन युसुफजाईले पुरस्कारले मलालालाई प्रोत्साहित गर्ने र बालिका शिक्षाको अभियानलाई बल पुर्‍याउने बताए । मलाला सन् २००९ तिर उत्तर पश्चिम पाकिस्तानमा जारी तालिवान शासनविरुद्ध बीबीसी उर्दू सेवामा अज्ञात नामले लेख्थिन् । सन् २०१३ मा टाइम म्यागजिनले उनलाई विश्वै प्रभावकारी व्यक्तिको सूचीमा राखेको थियो । उनले त्यही वर्ष युरोपेली महासंघको प्रतिष्ठित साखारोभ मानव अधिकार पुरस्कार पनि हात पारिन् ।
नोबेल समितिले मलालाको अभियान सबैभन्दा डरलाग्दो परिस्थितिमा सञ्चालन भएको जनाएको छ । समितिले उनी बहादुरीपूर्वक संघर्षबाट बालिका शिक्षाको प्रमुख प्रवक्ता बनेको उल्लेख गरेको छ ।
यति कम उमेरका विजेताको छनोट विश्वभर चर्चाको विषय बनेको छ । साथै विजेताद्वय कटु छिमेकी मानिने भारत तथा पाकिस्तानका नागरिक हुनु अर्को असामान्य घटना हो । बितेका केही दिनमा विवादास्पद कश्मीर क्षेत्रमा १७ जनाको मृत्यु भएको छ । त्यसलाई त्यहाँ केही वर्षयताकै सबैभन्दा नराम्रो द्वन्द्वका रूपमा लिइएको छ ।
एमनेस्टी इन्टरनेसनलका महासचिव सलिल सेट्टीले विजेता छनोटमा व्यक्तिको उमेर, लिंग, मुलुक वा क्षेत्रभन्दा विषयवस्तु महत्त्वपूर्ण भएको देखिएको बताए । विजेताहरू डिसेम्बर १० का दिन ओस्लोमा उपस्थित भई पुरस्कार स्विकार्ने छन् ।
पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफले मलाला आफ्नो मुलुकका लागि गौरवको विषय भएको बताए । सरिफले विज्ञप्तिमार्फत मलालाले पाकिस्तानी जनतालाई गौरवान्वित बनाएको, उनको प्राप्ति अतुलनीय भएको र विश्वका बालबालिकाले उनको संघर्ष अनि दृढताबाट केही सिक्नुपर्ने बताए । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त महत्त्वपूर्ण उपलब्धिप्रति पूरा राष्ट्रले गर्व महसुस गर्ने भन्दै सत्यार्थीको प्रशंसा गरे । असिम धैर्य र हिम्मतिलो यात्राका लागि उनले मलालालाई पनि बधाई दिए ।
राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्त जेइद राद अल हुसेनले विजेताहरू मानव अधिकार संरक्षणमा अग्रपंक्तिमा रहेको, उनीहरूले शक्तिशाली शत्रुमाझ ठूलो साहस देखाएको बताए । राष्ट्रसंघको शैक्षिक संस्था युनेस्कोका महानिर्देशक इरिना बोकोभाले शान्तिपूर्ण तथा दिगो समाज विकासका लागि शिक्षाको महत्त्वका विषयमा यस पुरस्कारले ठूलो सन्देश दिएको बताउँदै दुवै विजेताको प्रशंसा गरे ।
बेलायतका पूर्वप्रधानमन्त्री तथा राष्ट्रसंघका विश्वव्यापी शिक्षा प्रतिनिधि गोर्डन ब्राउनले विजेताद्वय बालबालिकाका क्षेत्रमा ठूला अभियानकर्ता भएको बताए । फ्रान्सका राष्ट्रपति फ्रान्स्वाँ ओलान्डले बालअधिकारका लागि मलालाको व्यापक साहस तथा सत्यार्थीको अथक प्रयासको प्रशंसा गरे । राष्ट्रसंघका महासचिव बान कि मुनले मलालालाई शान्तिका बहादुर र भद्र प्रवक्ता एवं सत्यार्थीलाई बाल शोषणविरुद्धको नायक भन्दै प्रशंसा गरे । 'साँच्चै भन्ने हो भने विश्वकै बालबालिका साँचो विजेता हुन्,' उनले थपे । विश्वका अझै ६ करोड ५० लाख बालिका विद्यालय शिक्षाबाट वञ्चित छन् । पाकिस्तानमा ५ देखि १६ वर्ष उमेर समूहका २ करोड ५० लाख बालिका विद्यालय जाँदैनन् ।
नर्वेको नोबेल समितिका अध्यक्ष थोर्बजोर्न जगल्यान्डले मलालाको युवापना पुरस्कार प्रदान गर्ने कुनै आधार नभएको बताए । उनले बालश्रमविरुद्ध उभिएर बाल अधिकारका लागि काम गरेका एक युवा तथा एक प्रौढको कामलाई प्रकाश पार्न चाहेको बताए । उनले मलालाले अन्य अनेकौं पुरस्कार प्राप्त गरेको कुरालाई पनि ध्यानमा राखेको तर कट्टरपन्थीविरुद्धको युद्धमा युवामा आशा जगाउनु सबैभन्दा महत्त्वपूर्ण भएको बताए । बालबालिका र युवा वर्गले आफ्नो स्थिति सुधार्ने दिशामा योगदान दिन सक्छन् भने उदाहरण स्थापित गरिएको उनले बताए । 'बच्चाहरूलाई विद्यालय पठाउनै पर्छ, आर्थिक शोषण गर्न पाइन्न,' उनले भने । विश्वभर अझै १६ करोड ९० लाख बाल श्रमिक रहेको उनले बताए ।
मृत्युसँगको संघर्षपछि मलाला अन्तर्राष्ट्रिय बहादुर व्यक्तित्व बनेकी हुन् । उनले सन् २०१३ मा राष्ट्रसंघको महासभामा सम्बोधन गर्दा सबैले बसेको ठाउँबाट उठेर सम्मान व्यक्त गरेका थिए । त्यसबखत पनि उनले आफू कहिल्यै चुप नलाग्ने बताएकी थिइन् । उनले गत वर्ष नै नोबेल शान्ति पुरस्कार प्राप्त गर्ने अपेक्षा गरिएको थियो ।

सत्यार्थी नेपालीका सहयोद्धा
नोबेल शान्ति पुरस्कार विजेता कैलाश सत्यार्थीले बाल अधिकार रक्षाका लागि छेडेको लडाइँले नेपाललाई पनि छोएको छ । उनले ठीक दशकअघि भारतको उत्तरप्रदेशमा जबर्जस्ती सर्कसमा लगाइएका ११ जना नेपाली बालिकाहरूको रिहाइका लागि आमरण अनशन बसेका थिए ।

उत्तरप्रदेशको गोन्डा जिल्ला, कर्नालीगन्जमा भएको 'ग्रेट रोमन सर्कस' मा दुव्र्यवहारपूर्वक काममा लगाइएको नेपाली बालिकाहरूको रिहाइ पहलनिम्ति सत्यार्थीको 'बचपन बचाओ आन्दोलन' -बीबीए) अभियानले निकै कष्ट उठाएको थियो । सत्यार्थी आमरण अनशनमा रहँदा स्थानीय अपराधीहरूले अभियानमा संलग्न अधिकारकर्मी, बालिकाका अभिभावकहरू माथि आक्रमणसमेत गरेका थिए ।
उत्तरप्रदेशको उक्त घटनासँगै सत्यार्थीले सर्कसमा अत्याचार र शोषण खेपिरहेका बालिकाहरूको रिहाइ र हितका लागि भारतभर अभियान सञ्चालन गरेका थिए । भारतमा सयौंका संख्यामा नेपाली बालिकाहरू सर्कसमा जबर्जस्ती वा प्रलोभनमा लगाइएको बीबीएको आँकडा छ । सत्यार्थीको त्यतिबेलाको अनशन र आन्दोलनले केही नेपाली बालिका रिहा भई आफ्ना अभिभावकको जिम्मामा आएका थिए ।

घोषणा अगाडि
नोबेल शान्ति पुरस्कार यस वर्ष कसलाई दिइँदै छ भन्नेमा कसैले ठोकुवा गर्न सकेका थिएनन् । प्रबल प्रत्याशीका रूपमा ट्युनिसियाका प्रजातान्त्रिक नेता, त्यहाँको एक मजदुर युनियन, पाकिस्तानी युवती मलाला युसुफजायी र पोप फ्रान्सिसको नाम अगाडि थियो ।
नर्वेली नोबेल समितिले यसपटक उक्त पुरस्कारका लागि २ सय ७८ को नाम प्राप्त भएको र त्यसबाटै छानिने मात्र भनेको थियो । अन्य विधाको तुलनामा शान्तिका लागि दिइने यस पुरस्कारको छनोट प्रक्रिया निकै कठिन हुन्छ । यसका लागि अन्तिम समयसम्म सघन छलफल हुने गर्छ । नर्वेको एक सार्वजनिक प्रसारण संस्था एनआरकेले ट्युनिसियाली नेताको नाम अघि सारेको थियो । त्यहाँको एक शक्तिशाली मजदुर युनियन युजिटिटीका नेताको पनि सम्भावना बढी रहेको उक्त प्रसारण संस्थाले भनेको थियो ।
गत वर्ष रासायनिक हतियार निषेध संगठनले नोबेल शान्ति पुरस्कार पाएको हो । युक्रेनमा रूसी नीतिको आलोचक बनेका रूसी विपक्षी नेतालाई समेत यो पुरस्कार जान सक्ने सम्भावनाबारे चर्चा भएको थियो । पुरस्कारका अन्य प्रतिस्पर्धीका रूपमा कंगोका स्त्रीरोग विशेषज्ञ डेनिस मुकवेज, पूर्वअमेरिकी गुप्तचर एडवार्ड स्नोडन र रूसी पत्रिका नोभाया गजेटा देखिएका थिए ।


 
 
 
 
 

प्रकाशित : आश्विन २५, २०७१ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?