कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ग्रिस मध्यावधिको संघारमा

एथेन्स (एएफपी) — ग्रिसका सांसदहरू सोमबार नयाँ राष्ट्रपति निर्वाचन गर्न तेस्रोपटक पनि असफल भएका छन् । यसले मुलुकलाई मध्यावधि निर्वाचनमा लगेको छ । यस निर्वाचनबाट मितव्ययी अर्थतन्त्रको विरोध गर्ने तथा आर्थिक सुधार खारेज गर्ने चेतावनी दिने दल शासनमा पुग्न सक्ने देखिन्छ ।

ग्रिस मध्यावधिको संघारमा

प्रधानमन्त्री आन्तोनिस समरासले प्रस्ताव गरेको जनवरी २५ को संसदीय निर्वाचनले विश्वव्यापी वित्तीय बजारलाई अझै प्रभाव पार्ने अनुमान गरिएको छ । यस मुलुकको कठिन वित्तीय अवस्थाले युरो क्षेत्रलाई सन् २०१२ मा निकै प्रभाव पारेको थियो ।
मितव्ययी व्यवस्था खारेज गर्न सक्ने कट्टर वामपन्थी सिरिजा दलले निर्वाचनमा विजय हासिल गर्न सक्ने शंकामा गि्रसको सेयर बजार सोमबार पाँच प्रतिशतले घटेको छ । गत साता गि्रस सरकारको १० वर्षे धितोपत्रको दर ८.५ प्रतिशतबाट ९.५५ प्रतिशतमा बढेको थियो ।
युरोपेली महासंघले ग्रिसका मतदातालाई सुधार कायम गर्नेमा अडिग रहन आग्रह गरेको छ । गि्रसलाई आर्थिक सुधारका लागि अन्तर्राष्ट्रिय समुदायले व्यापक रूपमा सहयोग गरेको छ । सिरिजाले राष्ट्रपति पदको निर्वाचनमा मतदान गर्न अस्वीकार गरेकाले नै मध्यावधि निर्वाचन गर्नुपरेको हो । यसले कर्मचारीको तलब तथा अवकाश प्राप्तको निवृत्तिभरण बढाउने, कर्मचारी हटाउने काम रोक्ने, तथा सरकारी सम्पत्ति निजीकरण रोक्ने अडान लिएको छ । युरोपेली महासंघ तथा अन्तर्राष्ट्रिय मुद्रा कोषले यी सुधारलाई कायम राख्न माग गरेका छन् ।
राष्ट्रपति कारोलोस पपुलियासलाई प्रतिस्थापन गर्ने भनिएका स्ताभ्रोस दिमासले तेस्रो चरणको मतदानमा आवश्यक १ सय ८० मतको स्थानमा केवल १ सय ६८ मत प्राप्त गरे । उनी महासंघको पूर्ववातावरण आयुक्त हुन् । संविधानअनुसार संसद् आउँदो १० दिनमा विघटन हुनुपर्छ । प्रधानमन्त्री समारासले राष्ट्रपति पपुलियासलाई जनवरी २५ मा निर्वाचन गराउन आग्रह गर्ने बताएका छन् ।
 

प्रकाशित : पुस १५, २०७१ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?