कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘सामूहिक लगानी, स्मार्ट एनआरएनए, एकेडेमी एजेन्डा’

कान्तिपुुर कुराकानी
कान्तिपुर संवाददाता

काठमाडौं — गैरआवासीय नेपाली संघ (एनआरएनए) को आठौं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय साधारणसभा राजधानीमा चलिरहेको छ । यो महाधिवेशनबाट संघको नेतृत्वमा पुग्न एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष भवन भट्ट र सदस्य जमुना गुरुङ चुनावी मैदानमा छन् ।

‘सामूहिक लगानी, स्मार्ट एनआरएनए, एकेडेमी एजेन्डा’

अस्ट्रेलियाका दुई सय धनीहरुको सूचीमा परेकी गुरूङ र जापानमा व्यवसायरत भट्टसँग गैरआवासीय नेपाली अभियान र चुनावी एजेन्डामा केन्द्रित रहेर कान्तिपुरका गोकर्ण अवस्थी र कृष्ण आचार्यले गरेको कुराकानी :

.....

एनआरएनएको चुनाव संघारमा छ । तयारी कस्तो गरिरहनुभएको छ ?

साथीहरू आउन थाल्नुभएको छ । चुनावको अघिल्लो दिन नेपाल आउने चलन बढी भएकाले भेटघाट अलि बढिरहेको छ ।

 

त्यसो भए अब अध्यक्ष बन्न साथीहरू ल्याउने, राख्ने र धेरै खर्च गर्ने काम भइरहेको छ ?

त्यस्तो हैन । यो भन्ने मात्रै हो । म अध्यक्ष बन्न दुई वर्षअघि नै तयार थिएँ । वर्तमान अध्यक्ष शेष घलेको विशेष अनुरोधले म अघिल्लोपटक निर्वाचनमा नउठेको हुँ । किनभने उहाँले सुरु गरेका कामहरू सकिएका थिएनन् । एनआरएनए अविरल वा दुई–दुई वर्षमा नेतृत्व परिवर्तन भइरहने संस्था हो । नयाँ नयाँ अनुहार आइरहन्छन् । हामी नेतृत्वले पनि लामो समय एकै ठाउँमा बसिरहनु हुँदैन । मैले पनि त्यसैअनुसार दुई वर्षअघि तयारी गरेको थिएँ । सबै साथीको सदाशय र वर्तमान अध्यक्षको विशेष अनुरोधले छाडेको हुँ । चार वर्षको तयारीका साथ म आएको हुँ । 

 

पहिले उहाँलाई छाडेको भन्नुहुन्छ । अहिले उहाँ तपाईंंसँग हुनुहुन्न नि ?

आआफ्नो सोचाइ हो । हालको अध्यक्ष मसँगै हुनुहुन्छ भन्ने म ठान्छु । म सकारात्मक सोच राख्छु । मलाई थप बलियो बनोस् भनेर उहाँले अभ्यास गर्न खोज्नुभएको हुन सक्छ ।

 

तपाईंका एजेन्डा के छन् ?

मेरा चारवटा एजेन्डा छन् । एउटा ‘एनआरएनए भर्जन टु’ राखेको छु । ‘नयाँ युगको सुरुवात सबै हात एकै साथ’ भन्ने नारा बनाएको छु । यो ‘भर्जन टु’ हो । अहिलेसम्म हामीले संस्था स्थापना, सदस्यता वितरण तथा कार्यक्रम गर्‍यौं । यी काम पहिलो भागमा थिए । अब राष्ट्रले हामीसँग जे अपेक्षा गरेको छ, त्यो काम गर्नु दोस्रो भर्जन हो । युवाको एउटा ठूलो जमात एनआरएनएमा जम्मा भइसकेको छ । एनआरएनएको भविष्य हुनुहुन्छ उहाँहरू । अर्को महिला सशक्तीकरण हो । पहिला विदेश जानेमा महिलाको नाम बिरलै सुनिथ्यो । तर अहिले करिब–करिब पुरुषकै हाराहारीमा महिला पनि विदेश जान थालेका छन् । उहाँहरू पनि हाम्रो एउटा ठूलो शक्ति हो । एनआरएनएको सदस्यता वितरण पनि थप गर्नु छ । यो पनि भर्जन टुमा पर्छ । 

दोस्रो, यो संस्था आर्थिक बल भएका मानिसको संगठन भन्ने आरोप छ । यसलाई तोड्न आवश्यक छ । त्यसलाई मैले लगानीसँग जोडेको छु । सामूहिक लगानी तयार गर्ने । यसमा मासिक एक हजार रुपैयाँदेखि लिएर लाखौं हाल्न सक्नेहरूलाई एकै ठाउँमा राख्नु छ । उपेन्द्र महतोजी र भर्खर खाडी मुलुक जानुभएका साथी पनि एउटै ठाउँमा रहेर स्वामित्व लिनसक्ने गरी लगानी जुटाउनु छ । 

तेस्रो, ‘स्मार्ट एनआरएनए’ भनेको छु । ‘एस’ भन्नाले ‘स्पेसिफिक’, ‘एम’ भन्नाले ‘मेजरेबल’, ‘ए’ भन्नाले ‘एचिभेबल’, ‘आर’ भनेको ‘रियालिस्टिक’ र ‘टी’ भन्नाले ‘टाइमलाइन बाउन्ड’ भनेको छु । अहिले संसारमा बौद्धिक ह्रास भइरहेको छ । बौद्धिक ह्रासलाई कसरी फर्काउन सकिन्छ भनेर पनि सोचिरहेको छु । एनआरएनए एकेडेमी मेरो चौथो एजेन्डा हो । राष्ट्रलाई आवश्यक पर्दा स्वयंसेवी वा केही न्यूनतम शुल्क लिएर प्रयोग गर्न मिल्ने बनाउने छु । हाम्रो नीति, नियममा उहाँहरूलाई लगाउने सोच हो । 

 

- म अध्यक्ष बन्न दुई वर्षअघि नै तयार थिएँ । वर्तमान अध्यक्ष शेष घलेको विशेष अनुरोधले छाडेको थिएँ । 
अहिलेसम्म संस्था स्थापना, सदस्यता वितरण तथा कार्यक्रम गर्‍यौं । अब राष्ट्रले गरेको अपेक्षाको काम गर्नुपर्छ । 
हाम्रो चुनावसँगै राष्ट्रको पनि चुनाव भएकाले हस्तक्षेप हो कि भन्ने देखिएको हुन सक्छ ।
 फुत्त उठेर आएको व्यक्तिलाई नेतृत्व दिएर लौ त चलाऊ भन्ने अवस्था छैन ।

 

तपाईं अध्यक्ष भएमा एनआरएनएको भवन निर्माण र लाप्राकको पुनर्निर्माणको काम छाड्नुहुन्छ भन्ने आरोप छ नि ?

यी दुवै आयोजना कसले सुरु गर्‍यो भन्ने तपाईंहरूलाई थाहै होला । एनआरएनएको भवन निर्माण म कोषाध्यक्ष हँ‘ुदा सुरु भएको हो । त्यतिबेला म ‘स्टाबिलिटी’को अध्यक्ष थिएँ । मेरो प्रमुख एजेन्डा भवन बनाउने भन्ने थियो । भवन बनाउन मैले आजसम्म ३० लाख रुपैयाँ सहयोग गरिसकेको छु । मैले आफैंले रोपेको बिउ फुलेको देख्न पाउने भएको छु । लाप्राक बस्तीको अवधारणा पनि मैले तयार पारेको हो । एक हजार घर बनाउने भन्ने कुरा थियो । हामीसँग ३५ करोड रुपैयाँ थियो । ३ लाख ५० हजार रुपैयाँका दरले बाँसको घर बनाउने भन्ने मैले एनआरएनए बैठकमा प्रस्ताव गरेको हुँ । त्यो बैठकमा यो एजेन्डा पारित भएर अघि बढेको हो । कुन मान्छेले भन्छ आफूले जन्माएको ‘प्रोजेक्ट’ अलपत्र पार्छ ?

 

तपाईंहरूमाथि यो संस्थालाई राजनीतीकरण गर्नुभयो भन्ने आरोप छ नि ?

त्यस्तो राजनीति लागेको छ जस्तो मलाई लाग्दैन । तर सदाशय भन्ने हुन्छ । मैले त नेताहरूलाई भेट्दा एनआरएनए चुनावबारे कुनै घोषणा नगरिदिनुस् भनेर अनुरोध गरेको छु । तर व्यक्तिगत सम्बन्धका आधारमा माया भने हुन्छ । जितौं भन्ने अभिलाशा जसलाई पनि रहन्छ । राजनीतिक पार्टीका झुन्डहरू लागिरहेका छन् भन्ने मलाई लाग्दैन । हाम्रो चुनावसँगै राष्ट्रको पनि चुनाव भएकाले हस्तक्षेप हो कि भन्ने देखिएको हुन सक्छ । तर यो फरकफरक हो ।

तपाईंमाथि अलि लापरवाह प्रवृत्ति रहेको र संस्था हाँक्ने क्षमता नभएको भन्ने आरोप पनि छ ?

कसरी लापरवाही हुन्छ ? एउटा मान्छे ३० वर्षमा ३ सय मिलियन, अहिलेको राष्ट्रका हिसाबले भन्नुपर्दा ‘टर्नओभर’ तीन नम्बरमा आएको संस्था हाँकिरहेको मान्छे, संसारको ८० औं मुलुकबाट आठौंमा स्थापित मुलुकमा छ । त्यहीअनुसार नेपालमा पनि व्यवसाय विस्तार गरिरहेको छ । सक्रिय एनआरएनएका रूपमा समाजमा प्रस्तुत भइसकेको छु । ‘रोटरियन’ भएर काम गरिरहेको छु । आफ्नो जिम्मेवारी पूरा गरिरहेको छु । कसरी गैरजिम्मेवारपूर्ण भन्ने ?


तर नेपालमा तपाईंंको व्यवसाय त्यति सफल छैन भनिन्छ नि ?

पाँच वर्षअघि जापानमा तपाईंहरू कसैलाई पनि मेरो व्यवसायबारे थाहा थिएन । यसले के गर्दै छ, कति खोल्यो, कति डुब्यो, कतिवटा बन्द भए भन्ने पनि थाहा थिएन । तर ‘रिजल्ट’ जे देखियो, त्यसमा तपाईंहरूले सफलता देख्नुभएको हो । हो, त्यसैगरी मैले अहिले नेपालमा पनि वीजारोपण गरिरहेको छु । ५/६ वर्ष भयो, नेपालमा मैले लगानी गर्न सुरु गरेको । यो ठाउँमा कतिपय कुरा सिकिँदै पनि छ । नेपालमा आफ्नो देश र भाषा मिल्दैमा सफल नै भइन्छ भन्ने छैन । वातावरणसँग भिज्न सक्नुपर्छ । त्यसपछि मात्रै सफल भइन्छ । मेरो बीबी एयरवेज आइसकेको छ । चाँडै अगाडि बढ्दै छ । होटल, बु्रअरी बिजनेस नाफामै छ । काठमाडौं–हेटौंडा सुरुङ मार्गमा लगानी जुटाएर अघि बढ्ने क्रममा छौं । 

तपाईंको प्रगतिलाई रहस्यमयी भन्नेहरू पनि छन् । यसबारे तपाईंको कुनै टिप्पणी छ ?

म सकारात्मक सोच्ने मान्छे हुँ । संसारभरिमा ४० वर्षको इतिहासमा जापान कहाँदेखि कहाँ पुगिसक्यो । संसारकै दोस्रो आर्थिक समुन्नत राष्ट्रमा परिणत भयो । त्यो ठाउँमा प्रशिक्षित भएको मान्छे हुँ म । प्रविधिका क्षेत्रमा दुई/तीन वर्षमा अर्बपति भएकाहरू छन् । हाम्रामा १० वर्षमा कोही पनि त्यस्तो नभएकाले मलाई त्यस्तो भनेका हुन् । मेरा आँखाअगाडि दुई/तीन वर्षमा कहाँदेखि कहाँ पुगिसकेका साथीहरू देखेको छु । त्यो हिसाबले म त आफूलाई अझै पछाडि परेको ठान्छु ।


चुनावमा कति खर्च गर्दै हुनुहुन्छ ?

खर्च त भइहाल्छ । चुनाव लड्ने भनेपछि खानुपर्छ, साथीहरूलाई भेट्नुपर्छ । अमेरिकाको राष्ट्रपतिको चुनावभन्दा हाम्रो चुनावको दायरा बढी छ । अमेरिका एउटै देशभित्र हो, हाम्रो त ७७ राष्ट्रमा छ । त्यसैले केही खर्चिलो भएकै हो । खर्च पनि व्यक्तिअनुसार फरक पर्छ । मतदातालाई पैसाले प्रभावित पार्ने भन्ने कुरा आउँदैन । हाम्रामा सक्षम मान्छे नै मतदाता छन् । हिंड्ने–खाने मुख्य कुरा हो । कहींकतै प्रायोजक बन्नुपर्छ, सहयोग गर्नुपर्छ । यो सामान्य नै हो ।


अन्त्यमा भन्नैपर्ने बाँकी केही छ ?

एनआरएनए महान् विषय हो । हामी राष्ट्रका सहयोगी हात हौं । दुई वर्षमा संसारमा धेरै उथलपुथल हुन्छ । दुई वर्ष भनेको एनआरएनएलाई राष्ट्रसँग जोडेर राष्ट्रिय अर्थतन्त्रसँग जोड्ने भन्ने हो । यो अत्यन्तै महत्त्वपूर्ण विषय हो । फुत्त उठेर आएको व्यक्तिलाई नेतृत्व दिएर लौ त चलाऊ भन्ने अवस्था छैन । जिम्मेवारीपूर्ण ढंगले एनआरएनए के हो, कर्तव्य के हो, कसरी अघि लैजाने भन्ने सबैले बुझ्न जरुरी छ । वास्तविक एनआरएनहरू संस्थामा आऊन् । सबैलाई हौसला मिलोस् । यसबाहेकका गतिविधिलाई निरुत्साहित गरौं । समुन्नत एनआरएनए बनाऔं । एनआरएनए सम्मुन्नत बने सम्मुनत राष्ट्र बनाउन सहयोग पुग्छ ।

प्रकाशित : आश्विन २९, २०७४ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?