दुई तिहाइकै आसपास पुग्छौंः एमाले अध्यक्ष ओली

दमक — प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको चुनाव भइसकेको छ भने दोस्रो चरणको मतदान हुन ३ दिन मात्रै बाँकी छ । अब चुनिने नेतृत्वले संघीय शासन प्रणालीअनुसार मुलुकको बागडोर सम्हाल्ने अवसर पाउने भएकाले त्यसका लागि प्रमुख दलहरुको अन्तिम रस्साकसी जारी छ । कांग्रेसले राप्रपालगायत दलहरुसँग मिलेर लोकतान्त्रिक गठबन्धन बनाएको छ भने एमाले र माओवादीसहितका दलले वामपन्थी गठबन्धन निर्माण गरेका छन् ।

दुवै गठबन्धन अबको सरकार आफ्नै नेतृत्वमा बन्ने दाबी गरिरहेका छन् । चुनावपछिको राजनीतिक बाटो कता जाला भन्ने जान्नका वाम गठबन्धनका प्रमुख नेता एवं एमाले अध्यक्ष केपी ओलीसँग कान्तिपुर संवाददाताहरु माधव घिमिरे, लीलाबल्लभ घिमिरे र अर्जुन राजवंशीले झापाको दमकमा कुराकानी गरेका छन् । प्रस्तुत छ उक्त कुराकानीको सम्पादित अंश :

चुनावी अभियान कसरी चल्दैछ ?

चुनावी अभियान राम्रोसँग चलिरहेको छ । परिस्थिति ठीक छ । दैनिक रूपमा विभिन्न निर्वाचन क्षेत्रमा गइरहेको छु । म आफ्नो निर्वाचन क्षेत्रमा त्यति केन्द्रित हुनपाएको छैन । यहाँ त्यति केन्द्रित हुनुपर्ने जस्तो पनि लाग्दैन । त्यति आवश्यक छ जस्तो पनि लाग्दैन । त्यही भएर अन्य क्षेत्रतिर घुमेर कार्यक्रम गरिरहेको छु । देशका विभिन्न भागमा हिँडिरहेको छु । प्रतिक्रिया राम्रै पाएको छु । एमालेको पक्षमा जनलहर छ । जनतामा एमालेप्रति आकर्षण, विश्वास, आशा र भरोसा छ ।


उम्मेदवारी घोषणा गरेपछि झन्डै ४० ठूला आमसभालाई सम्बोधन गर्नुभयो, यति धेरै दौडधुप किन गरिरहनुभएको छ ?
एमालेका विरुद्ध, सत्यका विरुद्ध, अग्रगामी परिवर्तनका विरुद्ध, राष्ट्रिय हित, लोकतन्त्र र समृद्धि, एकता र स्थिरताका विरुद्ध विभिन्न प्रकारले भ्रम छर्ने तत्त्वहरू सक्रिय छन् । उनीहरूले नचाहिने ढंगले भ्रम पारिरहेका छन् । तसर्थ त्यसबाट जनतालाई मुक्त गर्न, आश्वस्त पार्न विभिन्न स्थानमा जानु, जनतालाई भन्नु र हाम्रा उद्देश्य बताउन जरुरी छ । त्यसैले हिँडिरहेको छु ।


देशभरको माहोल कस्तो पाउनुभयो त ?
यो नयाँ संरचना निर्माण गर्ने निर्वाचन हो, यसले सार्वभौमसत्ता सम्पन्न जनताका सार्वभौम अधिकार, राजनीतिक, मौलिक हक र स्वतन्त्रताका हकको जनताले प्रयोग गर्नेबारे व्यवस्था गरेको छ । जनताको अधिकारको बढीभन्दा बढी प्रयोग गर्न नीति निर्माण र शासनमा जनताको सहभागिताको यथोचित अभिवृद्धि गर्न आवश्यक छ । यो निर्वाचनबाट राजनीतिक र प्रशासनिक सबै हिसाबले संरचनागत परिवर्तनका साथ अघि बढ्न खोजिएको छ । यो एउटा नयाँ अभ्यास हो भन्ने जनताले बुझेको पाएको छु । 


वामपन्थी गठबन्धनको मत माग्ने मुख्य आधार के हो ? 
२००७ सालदेखि ६७/६८ वर्षसम्म देशमा कहिल्यै पाँच वर्ष सरकार टिकेन । कुनै सरकारले चार वर्ष देख्न पाएन । त्यसभन्दा छोटो अवधिमै हेरफेर भइरहने, अस्थिरता ल्याएर त्यो अस्थिरतामा खेलिरहने कामहरू भइरहे । त्यसकारण देशले सुस्पष्ट नीति, विचार र त्यसको कार्यान्वयन गर्न सकेन । प्रगतिशील, जनपक्षीय र देशभक्त शक्तिलाई पहिले अनेक प्रकारले कमजोर बनाइयो, विभाजित गरियो । त्यसबाट जनविरोधी शक्तिहरूले खेल्ने र अस्थिरता कायम गर्ने, अनि आफ्नो दुनो सोझ्याउने मौका पाए । त्यसकारण अब हामी त्यो अवसर दिन चाहँदैनौं । अब हामीसँग आन्दोलनको अनुभव भएको, वैचारिक हिसाबले संश्लेषण गर्न सक्ने, विचारहरूबाट निष्कर्ष निकाल्न सक्ने, देशको परिस्थिति, अन्तर्राष्ट्रिय परिस्थिति बुझ्ने, इतिहास र अनुभव भएको, संघर्ष र संगठनका अनुभव भएको, सरकार सञ्चालन जस्ता सबै अनुभव भएको पार्टी र नेतृत्व पनि छ । ती अनुभवहरूले सही निष्कर्ष निकालिएको सुस्पष्ट, नीतिगत स्पष्ट र मार्गचित्र छ । त्यसलाई कार्यान्वयन गर्न सशक्त देशव्यापी संगठन छ । त्यस संगठनप्रति व्यापक जनताको आशा, भरोसा, विश्वास छ । हाम्रा नीतिहरू, व्यवहारहरू र कामहरूले गर्दा आपसी विश्वास बनेको छ । 

त्यसकारण अब आधार तयार भएको छ । अब पनि विभाजित हुनु, फुटमा जानु र जनताका अपेक्षाप्रति बेवास्ता गर्नु वाञ्छनीय हुँदैन । त्यसकारण स्थिरता, स्थायित्वका लागि सही दिशामा देशलाई सुदृढ ढंगले अगाडि बढाउन विचार मिल्नेहरूका बीचमा एकता गर्नुपरेको हो । खास गरेर प्रगतिशील शक्तिबीच एकता गरेर अगाडि बढ्नु जरुरी थियो । त्यसैले हामीले पार्टी एकता गर्ने भन्यौं । चुनाव आइहाल्यो, भ्याइएन । हाल चुनावी तालमेलका साथ अगाडि बढ्ने काम गरेका छौं । चुनावपछि पार्टी एकता हुन्छ ।


एमाले र माओवादी कमजोर भएका कारण मिल्न खोजेको टिप्पणीबारे के भन्नुहुन्छ ?
मलाई त्यस्तो लाग्दैन । सधैं सोचाइको ढाँचा एकै हुन्छ भन्ने हुँदैन । छुट्टै पार्टी रहँदा आशा वा निराशाको कुरो हुन्छ । एउटै पार्टी हुने भएपछि त आशा–निराशाको प्रश्नै भएन । माओवादीमा असाधारण परिवर्तन आएको छ । माओवादी एक समय अतिवादी विश्लेषण, मनोगत विश्लेषण यस्तैमा रुमल्लियो । राष्ट्रिय/अन्तर्राष्ट्रिय परिस्थितिको त्रुटिपूर्ण विश्लेषणमा रुमल्लियो । त्यसकारण गलत निष्कर्षहरू निकाल्यो, गलत नीतिहरू तय गर्‍यो, गलत व्यवहारका साथ अभ्यासमा उत्रियो । तर त्यस अभ्यासबाट अहिले शान्तिपूर्ण बाटो र लोकतान्त्रिक अभ्यासमा सम्पूर्ण रूपमा आइसक्यो । नेकपा एमालेसँगको सहकार्य, अझ पार्टी एकता गर्ने भनेर धेरै कुराहरूलाई कबुल गरेपछि मात्रै पार्टी एकता हुन्छ नि । त्यो त कबुल गरिसक्यो माओवादीले । कांग्रेसले हिजो माओवादीसँग मिलेर स्थानीय तहको चुनाव लड्यो, तालमेल गर्‍यो । आज माओवादीले एमालेसँग तालमेल गर्दा अबचाहिँ लोकतन्त्रै खतरामा पर्‍यो भनेर रुवाबासी मच्चाउनुपर्ने ? यो उपयुक्त होइन । र त्यसमा कुनै सत्यता पनि छैन । त्यो खालि कांग्रेसको हतासाको अभिव्यक्ति मात्रै हो । कांग्रेसले यति हतास देखिन्छ, अचम्म लाग्छ । अरू सबै कुरा बिस्र्यो उसले । छटपटी, हतासा र निराशा मात्रै छ । अब आफ्ना कुराहरू केही पनि छैनन् । मैले धेरै ठाउँमा भन्ने गरेको छु, तपाईहरूका आफ्नाचाहिंँ कुरा के छन्, बताउनुहोस् न भनेंँ । तर उहाँहरूले त्यो बताउन सक्नुभएन । हुँदाहुँदा अस्तिको दिन वीरगन्ज पुगेपछि शेरबहादुरजीले भन्नुभयो– हामी पनि त विकास गर्छौं नि । उहाँले अस्तिका दिन सम्झनुभयो । कसैले चिटमा लेखेर दिएको थियो, उहाँलाई । ‘हामी पनि उद्योग स्थापना गर्छौं नि भनेर भन्नुस् न’ भनेर लेखेर कसैले दिएको थियो । अनि उहाँले त्यसै भन्नुभयो । एकछिन कसैले लेखेर दिएको कुरा पढ्नु बेग्लै कुरा हो, देश बनाउने कुनै सोच कतै उहाँहरूसँग छैन । 


एकीकरणपछि पार्टीको स्वरूप एमाले वा माओवादी कस्तो हुन्छ ?
माओवादीका हिजोका नीतिमा माओवादी नै छैन । उसका नीतिगत र व्यावहारिक केही अस्पष्टता थिए । ती कुरा छाडेर नै अब एमालेका परिपक्व नीतिहरू जुन छन्, ती नीतिहरूमा सहमत हुने कुरा हो । हामी अलिकति अन्योल पनि मिसाऊँ, अलिकति अस्पष्टता पनि मिसाऊँ भन्ने होइन । स्पष्टतामा जाने हो । नीतिगत हिसाबले भन्ने हो भने एमालेको नीति व्यवहारमा जान्छ कि माओवादीको ? स्पष्ट भए हुन्छ, एमालेको नीति व्यवहारमा जान्छ, यसैमा स्पष्टता छ ।


कुनै बेला माओवादीको कट्टर आलोचक हुनुहुन्थ्यो, अहिले उसैसँग मिल्नुभएको छ । यसको सैद्धान्तिक आधार के हो ? 
माओवादीलाई वैधानिकता त नेपाली कांग्रेसले, हामी सबैले शान्ति प्रक्रियामा आएर दिएको होइन र ? अनि समय–समयमा युद्धविराम गर्दै, शान्ति वार्ता गर्दै आएको होइन ? विस्तृत शान्ति सम्झौता गरेको होइन ? अनि सिक्लेसबाट हेलिकप्टरमा ल्याएर तत्कालीन गृहमन्त्रीले सवारीमन्त्री भएर बालुवाटारसम्म सवारी चलाएको होइन र ? त्यसपछि नेपाली जनताले भोटै हालेर प्रमुख पार्टी बनाएर सरकारको नेतृत्व गरेको होइन र ? पहिले अलिकति अनुभव भएन प्रचण्डजीलाई, अब अनुभवसाथ चलाउनुहोस्, केपी ओली प्रधानमन्त्री हुनुहुँदैन, यो देश चलाउनका लागि प्रचण्ड चाहिन्छ भनेर नेपाली कांग्रेसले पोहोरको साल भनेको होइन ? केपी ओलीबाट हुँदैन, प्रचण्डजी नै हुनुपर्छ भनेर केपी ओलीमाथि अविश्वास राखेर प्रचण्डजस्तो सही मान्छे, क्षमतावान मान्छे चाहिन्छ भनेर कांग्रेसले भनेको होइन ? यो त मौखिक होइन होला नि त । यो त लिखित, संसद्मा प्रस्ताव राखेर बहुमतले कांग्रेसले छानेको होइन र ? पोहोर साल त्यसो भन्ने अनि अहिले आएर अन्यथा कुरा गर्नु अलि स्मरणशक्तिमा न्यूनता देखिँंदैन ? त्यसकारण मलाई के लाग्छ भने अब पुराना कुरातिर अल्झने होइन, हामी नयाँ बाटोतिर अगाडि लाग्नुपर्छ । नयाँ दिशा समाउनुपर्छ । भविष्यतर्फ उन्मुख हुनुपर्छ । जतिबेला माओवादीले उग्रवामपन्थी गल्ती गथ्र्यो, त्यतिबेला आलोचना गर्न डराउँथे । त्यतिबेला उनीहरूको हातमा पिस्तोल थियो, अनि बोल्न डराउँथे । म मात्रै एउटा अलिक मूर्ख थिएँ, जो बोल्थेंँ । माओवादीको हातबाट पिस्तोल हटाइसकेपछि अरू बोल्न थाले । सक्छस् भने हान् भनेर छाती तान्न थाले । मैले भनेंँ– पिस्तोल हातबाट हटाएपछि अब छाती देखाएर सक्छस् भने हान् भन्नुको के अर्थ छ र ? हिजो त बोल्नसकेका थिएनन् । मलाई यो मौकापरस्त ढंगका शैलीहरू, तरिकाहरू, भाषाहरू र अभिव्यक्तिहरूमा त्यति रुचि छैन । जतिबेला उनीहरूलाई हतियार छोडाउनु थियो, त्यतिबेला मैले छोडाउने कुरा गरेंँ । गलत हो भनेर भनेंँ । जतिबेर छाडे, छोड्नु राम्रो भो भनेंँ । जहाँनेर गल्ती छ, गल्ती गरेको छ भनेंँँ । र जहाँनेर ठिक गरेको छ, म ठिक गरेको छ भन्छु । माओवादीले अब ठिक बाटो समातेको छ । ठिक बाटो समातेकै हुनाले हामी अब एकताबद्ध भएर अगाडि बढ्दैछौं । 


एमाले र माओवादीको गठबन्धन कहिलेसम्मका लागि हो ?
गठबन्धन त अब थोरै समयका लागि हो । चुनावसम्मका लागि हो । त्यसपछि त पार्टी एकता हुने हो ।

उम्मेदवार दर्तामा ६० र ४० प्रतिशतको भागबन्डा गर्नुभएको छ, त्यसै अनुसार परिणाम आएन भने तपाईहरूको गठबन्धन र एकता प्रक्रिया नै धरापमा पर्छ कि पर्दैन ?
नेकपा एमालेले जे काम गर्छ, इमानदारीका साथ गर्छ । जे बोल्छ, त्यो गर्छ । ६०/४० का हिसाबले हामीले उम्मेदवार उठाएका हौं, त्यसमा ६० प्रतिशत र ४० प्रतिशतको साथ–सहयोग गर्ने होइन । हिस्साचाहिंँ हामीले ६० र ४० गर्‍यौं । साथ–सहयोग र समर्थनचाहिंँ शतप्रतिशत हुन्छ । त्यसकारण यसलाई प्राविधिक हिसाबले ६० र ४० भनेर बुझ्नु हुँदैन । ४० प्रतिशत लिनेले ४० प्रतिशत सहयोग र ६० प्रतिशत लिनेले ६० प्रतिशत सहयोग भन्ने हुँदैन । 


कांग्रेस लगायत दलले सत्तामा जाने प्रयोजनका लागि एमाले–माओवादीले अवसरवादी गठबन्धन बनाएको टिप्पणी गरेका छन् नि ?
उहाँहरूले गौदानका लागि एउटा बनाउनुभएको छ– दक्षिणपन्थी गठबन्धन । सरकारमा जान होइन, चुनाव लड्न होइन, सत्तामा जान होइन । गौदान गर्ने, मन्दिरमा जाने, पूजाको थाली लिएर जाने, दानदक्षिणा गर्ने, बाटामा बस्ने । अक्षय तृतीयामा जस्तो सर्वत र सातु खुवाउने । पुण्य कार्यका लागि उहाँहरूले गर्नुभएको छ, हामीले चुनावका लागि गरेका हौं भन्ने उहाँहरूको भनाइ होइन ? अब...त्यो स्तरमा त के छलफल गर्नु ?


वामपन्थी गठबन्धनले जिते लोकतन्त्र नै धरापमा पर्छ, नागरिक स्वतन्त्रता नै हरण हुन्छ भनेर प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले भनिराख्नुभएको छ त ?
मैले अघि नै भनेंँ– उहाँहरूको हतासा र निराशाको जवाफ मैले दिइरहनु पर्दैन । दुईटा खेलाडी बक्सिङ खेल्न गएका, एउटाले हारेछ, अर्कोले जितेछ । अनि रिङबाट आउट भइसकेपछि ‘तिमीले त हार्‍यौ नि’ भन्दा ‘म हार्ने थिइन, प्वाक्क मेरो नाकमा हान्दियो, नाकैमा हान्दिएपछि मैले केही देख्दै देखिन, अनि हारियो’ भनेछ । उसले खेल कमजोर भएर भनेन, नाकैमा हानेर हारेको भन्यो । कुरो त साँच्चै हो । शेरबहादुरजीको कुरो त्यस्तै हो । 


चुनावमा तपाईहरूले भनेजस्तो परिणाम आयो भने नेतृत्व कसले गर्छ ? तपाई प्रधानमन्त्री हुने हो ?
प्रधानमन्त्री कत्रो ठूलो कुरो हो भन्या... । मुलुकको नेतृत्व एमालेले गर्छ । त्यति भए भइगो नि । 

तपाई नै प्रधानमन्त्री हुने भनेर मतदाताबीच प्रचार भइरहेको छ नि ?
मान्छेहरूले त्यस्तै हल्ला गर्छन् । तपाईहरूलाई कस्तो लाग्छ ? अँ, मैले पनि सुनेको छु, त्यो कुरा । ६० प्रतिशतको जुन हिस्साको कुरा छ, त्यसले पनि एमालेले नेतृत्व गर्छ भन्ने त देखिएकै छ । एमालेकै नेतृत्वमा सरकार बन्छ ।

प्रकाशित : मंसिर १८, २०७४ ०७:३३
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

मतदाता लोभ्याउन विकासे नारा

कान्तिपुर संवाददाता

भक्तपुर — निर्वाचन क्षेत्र नम्बर २ प्रदेश ‘क’ मा वाम गठबन्धनका उम्मेदवार शशिजंग थापा भोट माग्ने घरदैलो अभियानको पहिलो चरण सकाएर गाउँ, टोल, कोठेभेलामा व्यस्त छन् । उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार अंगत खडका घरदैलो र कोठेभेलालाई सँगै अघि बढाएका छन् ।

त्यही क्षेत्रबाट नेमकिपाले सञ्चारकर्मी सरोजराज गोसाईंलाई अघि सारेको छ । गोसाईं मत माग्दै समग्र प्रदेशको विकासका लागि जनपक्षीय नीतिको कक्षा सञ्चालन गर्छन् । 
भक्तपुर क्षेत्र नम्बर २ मा प्रदेश ‘क’ मा पर्ने सूर्यविनायक नगरको १ देखि १० वडा पर्छन् । प्रदेशसभा सदस्य उम्मेदवारहरू यतिखेर विकासे नाराले लोभ्याउँदै मतदातासमक्ष हात थापिरहेका छन् । थापा २०४९ र २०५४ को निर्वाचनमा सिरुटार गाविसका अध्यक्ष थिए । थापाले मतदातालाई भक्तपुरलाई ३ नम्बर प्रदेशको राजधानी बनाउने आश्वासनसमेत बाँडिरहेका छन् । प्रस्तावित भक्तपुर चक्रपथलाई पूर्णता दिने, आधुनिक प्रविधियुक्त सामुदायिक अस्पताल निर्माण गर्ने, प्राणी उद्यानको पूर्णता, बालकुमारी–बालकोट–घ्याम्पेडाँडा हुँदै साँगासम्म चार लेन सडक निर्माण, प्राविधिक शिक्षालय सञ्चालन गर्ने उनको प्रतिबद्धता छ । प्रदेशकै नमुना विश्वविद्यालय सञ्चालन, अन्तर्राष्ट्रिय स्तरको सभागृह निर्माणलाई चुनावी मुद्दा बनाएका छन् । 
 थापाका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार खडका पार्टीका क्षेत्रीय कोषाध्यक्ष हुन् । खडकाले राजनीतिमा देखिएको कमजोरी सुधार गरी आफ्नो प्रदेशको विकास गर्न उम्मेदवारी दिएको बताए । उनीहरूका प्रतिस्पर्धी नेमकिपाका केन्द्रीय सदस्य गोसाईं मजदुर दैनिकका सम्पादक हुन् । स्वरोजगार कोष स्थापना गर्ने र कृषि सहकारी सञ्चालन गरी प्रत्येक व्यक्तिलाई रोजगार बनाउने लोकतान्त्रिक गठबन्धनका उम्मेदवार खडकाको मुख्य चुनावी मुद्दा हो । खण्डीकृत जग्गा व्यवस्थित गर्ने, आधुनिक प्रविधियुक्त व्यावसायिक कृषिको प्रोत्साहन, घरेलु उद्योगको व्यवस्थापन तथा रोजगारमूलक सीप प्रवद्र्धनका लागि पार्टीले आफूलाई उभ्याएको खड्का बताउँछन् ।
संविधानअनुसार प्रदेशसभाको २१ अधिकार क्षेत्रभित्र रहेर जनपक्षीय कानुन निर्माण र कार्यान्वयनको दबाबमा सक्रियतापूर्वक लाग्ने उनको प्रतिबद्धता छ । गोसाईंले नीतिगत सिद्धान्तसँगै आर्थिक समानता, सामाजिक न्याय र व्यक्तित्व विकासमा समान अवसरको निम्ति आवश्यक कानुन बनाउन, शिक्षा, स्वास्थ्य, स्थानीयस्तरमै रोजगारको व्यवस्था गर्न पनि आफूलाई मत दिन भन्दै घरदैलो गरिरहेका छन् । भक्तपुर क्षेत्र नम्बर २ प्रदेश ‘क’ मा थापा, खडका, गोसाईंसहित १० उम्मेदवार छन् । 
मध्यपुरलाई नमुना क्षेत्र बनाउने
भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ प्रदेश ‘ख’ का उम्मेदवारहरू प्रदेशलाई नमुनायोग्य बनाउने प्रतिबद्धतासहित मतदाता भेटघाटमा व्यस्त छन् । मध्यपुर थिमी नगरपालिका यो प्रदेशमा पर्छ । वाम गठबन्धनका उम्मेदवार एमाले नेता राजेन्द्रमान श्रेष्ठले व्यवस्थित सडक सहज यातायात, व्यवस्थित आवास, सर्वसुलभ शिक्षा प्राविधिक ज्ञान, शुद्ध खानेपानी पोषणयुक्त खाद्य, कला, संस्कृति, सम्पदाको प्रवद्र्धनमा जोड दिएका छन् । उनले आफ्नो प्रदेशलाई नमुनायोग्य बनाउने योजना घोषणासहित मत माग्दै छन् । संविधान कार्यान्वयनमा सक्रिय रूपमा लागि प्रदेशको समस्या समाधानमा दिलो ज्यानले लाग्ने उनी बताउँछन् । 
लोकतान्त्रिक गठबन्धनका उम्मेदवार गणेशमान चक्रधरको चुनावी मुद्दा पनि लगभग उस्तै छ । उनी कांग्रेसका पूर्व जिल्ला सभापति हुन् । चक्रधर मध्यपुरलाई पर्यटकीय स्थल, आधुनिक कृषि परियोजना, हस्तकलाको प्रवद्र्धनलगायतको योजना अघि सार्दै चुनावी मैदानमा छन् । घरदैलो अभियान सकाएर कार्यकर्ता, शुभचिन्तकसँग चोक तथा कोठे भेटघाटमा व्यस्त रहेको बताउँछन् । स्थानीय निर्वाचनमा नगर प्रमुख पदमा एमाले निर्वाचित भए पनि ९ वटा वडामध्ये ६ वडा कांग्रेसले जितेको थियो । यसका आधारमा पनि आफ्नो जित सुनिश्चित रहेको चक्रधरले बताए । नेमकिपाका उम्मेदवार प्रेमजन थापाले मुलुक र प्रदेशको विकासको आर्थिक समानता, सामाजिक न्याय र व्यक्तिगत विकासमा समान अवसर प्रदान गर्ने कानुन बनाउन, स्वास्थ्य शिक्षा नि:शुल्क र स्वदेशमै रोजगारीको बन्दोबस्त गर्न भन्दै घरदैलो गरिरहेका छन् । विद्यार्थी राजनीतिबाट सक्रिय थापा २०४४ को स्थानीय निर्वाचनमा बोडे आदर्श गाउँ पञ्चायत वडा ४ मा उम्मेदवारी दिएका थिए । उनले महँगी, भ्रष्टाचार र कमिसनतन्त्र नियन्त्रण गराउन, नेपाल भारत खुला सीमा नियमित गराई दुई देशको हित गर्न, प्रतिनिधि र प्रदेशसभामा नेमकिपालाई प्रखर प्रतिपक्षको भूमिका निर्वाह गराउन आफूलाई मत दिन भन्दै उनले मतदातालाई आग्रह गरेका छन् ।

 

प्रकाशित : मंसिर १८, २०७४ ०७:२४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT