कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२०

मैथिलीले उचित स्थान पाएन

राजीव रञ्जन

काठमाडौँ — सीताका धेरै उपनामहरुमध्ये भूमिजा र मैथिली पनि हो । संस्कृत र संस्कृतिले सु–सज्जित मिथिलाको पौराणिक एवं वैज्ञानिक तथ्यहरु मैथिलीमा गुञ्जायमान छ । 

मैथिलीले उचित स्थान पाएन

सीताको जन्मथलो जनकपुर संसारका हिन्दुहरुको पावन धरती हो । मैथिली सरल, सुरिलो र लिपीमय भाषा हो । नेपालका रैथाने मुस्लिमहरुको पनि मैथिली र मिथिला प्रति अदम्य प्रेम मिथिलामा महसुस गर्न सकिन्छ । तथापि राजनैतिक लाभको लागि गरिने हिन्दी भाषाको प्रयोगले सीताले बोलेको भाषाको अपमान मात्र हुन्छ ।


विश्व भाषाको सन्दर्भमा अंग्रेजहरुले अंग्रेजीलाई अन्तर्राष्ट्रियकरण गर्दै अद्भुत नमूना पेस गरेका छन् । साम्राज्यवादी, यथास्थितिवादी तथा अतिवादी ताकतहरु कुनै पनि देशलाई उपनिवेश बनाउन ‘भाषा’ले प्रमुख भूमिका निर्वाह गरेको देखिन्छ ।


नेपालजस्तो सानो देशमा पनि १२३ भाषाहरु छन् । जहाँ ४४.६५ प्रतिशतले मातृभाषा नेपाली रोजेका छन् । ११.७५ प्रतिशतको मातृभाषा मैथिली हो, जुन रोजेका होइनन् । अब तथ्यांककै आधारमा हेर्दा ३५ बज्जिका पनि मिथिलीकै प्रकार हुन् । थारु र भोजपुरी मातृभाषाको रुपमा प्रयोग गर्नेले मैथिली स्पष्टरुपमा बोल्न सक्छन् । ३ लाखको हाराहारीमा रहेको कोचिला थारुहरुले लगभग मैथिली संयोजन गरेका छन् । तर, हिन्दी हाम्रो देशमा मातृभाषाको रुपमा प्रयोग गर्ने नगन्य मात्रामा छन् ।

नेपाली भाषा र हिन्दी भाषामा फरक छुट्टयाउँदा भौगोलिक अन्तर हुन सक्छ । तर, दुवैको परस्पर विकासमा धेरै अन्तर छैन । भारतमा ६०.५ आवादिले हिन्दीलाई पहिलो भाषा रोजेका छैनन् । भारतमा १.१८५ प्रतिशतले मैथिली र ०.२८५ प्रतिशतले नेपाली पहिलो भाषाको रुपमा बोल्दछ ।


मध्यकालीन नेपालमा मैथिलि कला, संस्कृति र साहित्यकै बोलवाला थियो । करिब ५–६ सय वर्षसम्म राज गरेका मल्लहरुको प्रमुख भाषा मैथिली र संस्कृत नै थियो । लिच्छवीहरु पनि धेरै टाढाबाट आएका होइनन्, करिब ४०० ई.पु. पौराणिक मिथिलाको बैशालीबाट आएका थिए । लिच्छवीकाललाई नेपालको स्वर्णकाल भनिन्छ । सेनहरु पनि बंगालबाट नै आएका हुन् । जसको कला संस्कृति र भाषा मिथिला र मैथिलीभन्दा धेरै फरक छैन । भूपतिन्द्र मल्लले २३ वटा रचना मैथिली र ४ वटा नेवारीमा लेखेका थिए । नेपाल मण्डलका नेवारहरु पनि विभिन्न मल्लकालीन दस्ताबेजहरुबाट अनभिज्ञ छैनन् । इतिहासलाई आफ्नै ढंगले लेखाउने कला शाहवंशीहरुको वंशानुगत गुण नै हो ।


ट्यूबरक्लोसिसबाट पीडित पत्नीलाई जोगाउने प्रयासमा रणबहादुर शाहले एउटा बिधवा ब्राह्मणसँग बिहे गरे, ताकि मिथिलाका वैद्यहरुको मदतले उनको पत्नी निको होउन् । तर, कालको मुखबाट बैधहरुले बचाउन सकेन । पत्नीको देहान्तबाट बहुलाएका राजाले सम्पूर्ण बैधहरुमाथि दमन गर्न बाँकी राखेनन् ।


जयस्थिति मल्लबाट चौधों शताब्दीतिर मनु स्मृतिबाट प्रभावित भई कान्यकुब्ज र मैथिल ब्राह्मणहरुको मदतले नेपलारास्त्रशास्त्र नामांकित ग्रन्थमा विभिन्न जातजातिहरुमा वर्गीकरण गरेका थिए । एकीकरणपश्चात् सन् १८०१ मा पर्वते बाहून अर्थात् खसहरुले नेवारहरुलाई मतवाली अर्थात् जाँडरक्सी खाने जातमा परिणत गरिदिएका थिए । तिन्ताक मिथिला र मैथिलीको पनि उपत्यकाबाट पकड छुट्यो । यो बिभेदको अन्त अहिले पनि भएको छैन ।


दुर्गानन्द झा, लक्ष्मीनारायण, रामराजा प्रताप सिंहजस्ता अनेकौ व्यक्तित्वहरु छन् । जसले शाहवंशीहरुसँग सिधा सामना गरे । आज त्यो मानसिकता शाहवंशको राज्य सत्ता अन्त भए पनि खस माझ जिउँदै छ । मधेस, तराई, पहाड़, हिमाल–भूगोल मात्र हुन् । मिथिला र मैथिली सभ्यता र संस्कृति, साहित्य कलाहरु मेट्ने प्रयास हुँदैछ । मधेसको अधिकारको लड़ाइँ आधुनिक संविधानका बुँदाहरु हुन सक्छ । तर, मौलिक, सांस्कृतिक, पहिचानको हक र अधिकार सम्पन्न हुन मिथिलाको सांस्कृतिक, पहिचान र भाषालगायत मैथिलीको जनजागरण गर्नु अति आवश्यक छ ।


काठमाडौं, ललितपुर, भक्तपुर, नेपालमण्डलदेखि पूर्व र पश्चिम समतल भूमिसम्म संस्कृत, मैथिली, नेवारी र अन्य थुप्रै भाषाहरुको महात्मय थियो । तथापि शाही पाठ गर्ने इतिहासकारहरुले आफ्नो वर्चस्व कायम गर्न र आडम्बर गर्न मिथिला शब्द प्रयोग नगरी मधेस र तराई शब्द उपयोगमा लाएका हुन् । सिद्धार्थ शाक्य आज गौतम बुद्धको नामले प्रसिद्ध छन् र बुद्ध नेपालमा जन्मेको हो भन्ने नाराले राष्ट्रिय पहिचान बनाएका छन् ।


वैदिककालको संस्कृतबाट अपभ्रंषित भाषाहरु यस्तै गरी बन्ने क्रममा हिन्दी, मैथिली, नेपाली, भोजपुरी, अवधी इत्यादि र अन्य तिब्बती बर्मन भाषाहरुमा मैथिली सहज सहिष्णुता राख्दै आर्यन, द्रविड़ियन एवं मंगोलियन सबैको ऐतिहासिक, सांस्कृतिक र भौगोलिक रूपले भाषाहरुको मिलनको केन्द्र बिन्दु बुझिन्छ । ४०० ई. पु. सुल्व सूत्र र सतपथ ब्राह्मणमा दिएको साध्य आज पैथागोरोउसको नामले प्रख्यात भए जस्तै विभिन्न खोज, अनुसन्धान, साहित्य, कला एवं अन्य विधि विधाहरुमा हस्तक्षेप गर्ने चलन धेरै नै पुरानो छ । देखेको छैन, तर मुहम्मदले शिवलाई मक्कामा कैद गरेको र आफ्नो धर्मको प्रचार गरेको सुनिन्छ । २५० वर्षदेखि नेपाली लाद्न खोजे पनि नेपालीय मैथिली अथवा मैथिलीय नेपालीमा फरक देखिन्छ । अवधीमा लेखिएको हनुमान चालिसा आज विश्वको सबै हिन्दूले पढ्ने गर्छ । तर जब भाषाको कुरा हुन्छ भने नेपालीबाहेक नेपालको कुनै भाषालाई चल्नै नदिने मानसिकता कायम छ । कसैले यसो प्रयास गर्न खोजे विभिन्न आरोप-प्रत्यारोपमा बल्झाई दिन्छन् । मिथिला र मैथिलीको स्वर पटक पटक दबाइएको महसुस हुन्छ ।


सन् १९५० देखि नेपालको राजनीति पनि भारतमुखी भएपछि र नेपालमा प्रजातन्त्र र आधुनिक शासन प्रणालीको चरमबद्ध आन्दोलन र व्यापारमा भारतप्रतिको निर्भरताले नेपाललाई उपनिवेश बनाउन मात्र हिन्दीलाई मिथिलाको सम्पर्क भाषा रूपमा लाद्न खोजिएको हो ।

हिन्दी सिनेमा देखेर हुर्केका र भारतको चौतर्फी हस्तछेप हुँदा हिन्दीलाई सम्पर्क भाषाको रूपमा सोच्नु मानसिक यातनाबाट उब्जेको भ्रम हुनसक्छ । हामी संघर्ष गर्दागर्दै एक उपनिवेशको ज्यादतीबाट बच्न अर्को उपनिवेशलाई अन्तर्ग्रहण गर्ने प्रयास गर्दैछौं । नेपालमा मैथिलीले उचित स्थान पाएन भने ससाना भाषाहरु पनि बिस्तारै लोप हुँदै जाने सम्भावना बढ्दै जानेछ ।


प्रकाशित : पुस १३, २०७४ २०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?