कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारतले दियो तटबन्धको बक्यौता

६१ करोड ९६ लाख
३० हजार हस्तान्तरण

काठमाडौं — भारतले कमला, वाग्मती र लालबकैया नदीमा तटबन्ध निर्माणको बक्यौता अनुदान ६१ करोड ९६ लाख ३० हजार रुपैयाँ दिएको छ ।

जल उत्पन्न प्रकोप व्यवस्थापन विभागको वैदेशिक सहायता शाखाका प्रमुख सिनियर इन्जिनियर अरविन्दकुमार सिंहले सम्पन्न भइसकेको कामको भुक्तानीका लागि बाँकी रहेको रकम प्राप्त भएको बताए । सिँचाइ मन्त्रालयमा बुधबार आयोजित कार्यक्रममा मन्त्री दीपकराज गिरीलाई नेपालका लागि भारतीय राजदूत रणजित रायले अनुदान राशीको चेक हस्तान्तरण गरेका हुन् ।

भारतको सहयोगमा सन् १९९९ मा ती तीनवटै नदीमा तटबन्ध निर्माण थालिएको थियो । १७ वर्षभन्दा बढी भइसक्दा पनि काम सकिएको छैन । डेढ वर्षअघि सम्पन्न भएको कामको भुक्तानीका लागि नेपाल सरकारले भारतलाई पटक–पटक ताकेता गर्दै आएको थियो । पछिल्लो समय प्रधानमन्त्री, परराष्ट्रमन्त्रीलगायत अन्य उच्चस्तरीय भ्रमणमा नेपाल पक्षले उक्त रकमबारे कुरा राख्दै आएको थियो ।

विभाग स्रोतका अनुसार काम सक्दै जाने र त्यसको बिल भर्पाइ बनाएर भारत सरकारलाई पठाएर भुक्तानी माग्ने गरिएको छ । १७ वर्षको अवधिमा यसअघि पटक–पटक गरेर ४ अर्ब २३ करोड ७९ लाख रुपैयाँ भारतबाट प्राप्त भएको जानकारी सिंहले दिए । भारतबाट हुने भुक्तानीको ढिलाइले नै निर्माणको अवधि लम्बिँदै गएको छ ।

पूर्वपश्चिम राजमार्गदेखि दक्षिण भारतीय सीमासम्म दुवै किनारामा लालबकैयामा ६२ किलोमिटर, वाग्मतीमा ४० किलोमिटर र कमलामा ६८ किलोमिटर तटबन्ध निर्माणको लागत अनुमान ६ अर्ब ४३ रहेकामा भारतले ५ अर्ब ५६ करोड रुपैयाँ व्यहोर्ने गरी सम्झौता भएको थियो । विभागका अनुसार ती नदीमा तटबन्ध निर्माणको काम करीब ९५ प्रतिशत सम्पन्न भएको छ ।

काम एकदमै ढिलो भइरहेकाले बाँकी ५ प्रतिशत काम सक्न पनि कति वर्ष लाग्ने हो विभागका अधिकारीहरू भन्ने सक्ने स्थितिमा छैनन् ।

प्रकाशित : पुस २८, २०७३ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?