कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हुन्डीबाट रकम नपठाउन अपिल

एनआरएन एसिया प्रशान्त सम्मेलन
कृष्ण आचार्य

क्वालालम्पुर (मलेसिया) — वैदेशिक रोजगारीको कमाइ हुन्डीमार्फत नेपाल भित्रने क्रम बढेपछि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बैंकिङ माध्यमबाट मात्रै कारोबार गर्न अपिल गरेको छ ।

हुन्डीबाट रकम नपठाउन अपिल

मलेसियाको क्वालालम्पुरमा भएको पाँचौं एसिया प्रशान्त सम्मेलनमा एनआरएनएले घोषणा पत्र जारी गर्दै वैदेशिक रोजगारीको कमाइ बैंकिङ माध्यमबाट मात्रै पठाउन अपिल गरेको हो । सम्मेलनमा श्रम समस्या, रोजगारीसम्बन्धी नीतिगत समस्या, कल्याणकारी कोष, नेपालमा भूकम्पपछिको पुनर्निर्माण र लगानी भित्र्याउनेलगायत विषयमा छलफल भएको थियो ।

‘नेपालको अर्थतन्त्रलाई सुदृढ बनाउन गैरआवासीय नेपालीहरूले पैसा पठाउँदा बैंकिङ च्यानल मात्र प्रयोग गर्न अपिल गर्ने,’ सम्मेलनपछि जारी घोषणा पत्रमा भनिएको छ । हुन्डीको कारोबार बढेपछि अर्थतन्त्रमा नै प्रभाव पर्ने गरेको छ ।

रेमिट्यान्स विगतको भन्दा घट्दै गएको र यसका कारण भूमिगत अर्थतन्त्रको विकास हुँदै जाने खतरा बढेको विज्ञहरूको चिन्ता छ । खासगरी वैदेशिक रोजगारीमा रहेकाहरूले आफ्नो कमाइ अनौपचारिक माध्यमबाट पठाउने गरेपछि यस्तो समस्या आएको हो । झन्डै ४० लाखभन्दा बढी नेपालीहरू विदेशमा छन् । सम्मेलनमा सहभागी हुन आएका राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले हुन्डीबारे बहस नै गरेका थिए । त्यसपछि एनआरएनले बैंकिङ माध्यम प्रयोग गर्न अपिल गरेको हो । सम्मेलनले श्रमसँग सम्बन्धित नीतिगत समस्याहरू सामधान गर्नका लागि अपिल गरेको छ ।

‘मध्यपूर्व, मलेसियालगायत विभिन्न मुलुकमा रोजगारमा ठगी, अनियमितता, अपारदर्शिताको अन्त्य गरी कामदारहरूको अधिकार र सुविधाको संरक्षण गर्दै वैदेशिक रोजगारलाई व्यवस्थित, मर्यादित, न्यायपूर्ण, सुविधायुक्त बनाउन न्यूनतम तलब, फ्री भिसा फ्री–टिकट लगायतका सरकारी निर्णयसहित मौजुदा कानुनको अक्षरश: कार्यान्वयन गराउन र दण्डहीनताको अन्त्य गरी पीडित कामदारहरूको शीघ्र उद्धार, न्याय र क्षतिपूर्तिको सुनिश्चिताका लागि आवश्यक कानुन संशोधन, स्रोत र संयन्त्रको विकासमा नेपाल सरकारसँग संस्थागत सहकार्य गर्न अन्तर्राष्ट्रिय समन्वय परिषद्लाई अनुरोध गर्ने निर्णय गरियो,’ घोषणा पत्रमा भनिएको छ ।

मलेसिया, थाइल्यान्ड र म्यानमारमा पुस्तौंदेखि बसोबास गर्दै आएका नेपाली मूलका बासिन्दाहरूलाई गैरआवासीय नेपाली परिचय पत्र उपलब्ध गराउन अन्तर्राष्ट्रिय समन्वय परिषद्मार्फत सरकारलाई अनुरोध गर्ने निर्णय पनि भेलाले गरेको छ । ‘वैदेशिक रोजगारमा जानेहरूलाई कतिपय नेपाली मूलका नागरिकहरूले नै गरिआएको शोषण र ठगी कम गर्न सम्बन्धित गन्तव्य मुलुकको राजदूतावास र संघको सम्पूर्ण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समन्वय परिषद्मार्फत पहल गर्ने निर्णय गरियो,’ घोषणापत्रमा भनिएको छ, ‘वैदेशिक रोजगारमा रहेका थोरै कमाइ भएका नेपालीहरूको सुरक्षित लगानीका निम्ति उपयुक्त क्षेत्र पहिचान गर्दै सामूहिक लगानीको प्रोत्साहन गरी साना तथा मझौला उद्योग तथा उत्पादनशील क्षेत्रहरूमा लगानी गर्न प्रोत्साहन गर्ने ।’ भूकम्पपछिको पुनर्निर्माणका लागि नेपालमा दक्ष कामदारको अभाव भएकाले वैदेशिक रोजगारमा रहेकाहरूलाई नेपाल फर्कन प्रोत्साहन गर्नेसमेत भएको छ ।

दुई दिन चलेको सम्मेलनको उद्घाटन परराष्ट्रमन्त्री प्रकाशशरण महत र राष्ट्र बैंकका गभर्नर नेपालले गरेका हुन् । उद्घाटन कार्यक्रममा मन्त्री महतले नेपालमा राजनीति स्थायित्व कायम भइसकेको र विवादका केही विषय चाँडै अन्त्य हुने जनाउँदै गैरआवासीयहरूलाई नेपालमा लगानी बढाउन आह्वान गरे । ‘संविधान कार्यान्वयनका केही प्रश्नचिह्नहरू बाँकी नै छन् । हामी तीन तहको निर्वाचनमार्फत विवादका विषयहरू टुग्याउँदै छौं,’ उनले भने ।

गभर्नर नेपालले सम्भावना नै सम्भावनाका क्षेत्रहरू भएको मुलुक नेपाल भएकाले नहिचकिचाई लगानी गर्न अनुरोध गरे । ‘हरेक हिसाबले नेपाल लगानीका लागि उपयुक्त मुलुक हो । निजी क्षेत्रका लागि आवश्यक नीति नियम कानुन बनिरहेका छन्,’ उनले भने, ‘निर्यातजन्य उद्योग स्थापनाका लागि अवसर नै अवसरहरू छन् । लगानीकर्ताका लागि हामी सहयोग गर्न चाहन्छौं, लगानी बढाउनुस् ।’

एनआरएनए मलेसियाका अध्यक्ष विश्व राईका अनुसार कामदारको काल्याणकारी कामका लागि एक कोष खडा भइसकेको र त्यसलाई थप प्रवद्र्धन गर्नु सम्मेलनको एक उद्देश्य हो । ‘४२ हजार रिंगेट (मलेसियन पैसा) जम्मा भइसकेको छ,’ उनले भने ।

कोषका लागि सहयोगको आह्वान गरिएको छ । सम्मेलनमा एसिया प्रशान्त क्षेत्रका करिब २० राष्ट्रहरूबाट गैरआवासीय नेपालीहरू सहभागी भएका थिए ।

सम्मेलनमा एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतो, पूर्वअध्यक्ष जीवा लामिछाने, वर्तमान अध्यक्ष शेष घलेसहित कार्यसमितिका पदाधिकारीहरू सहभागी भएका थिए । अध्यक्ष घलेले वैदेशिक रोजगारीमार्फत नेपालको अर्थतन्त्रलाई ठूलो योगदान गरिरहेको मलेसियाको विषयमा नेपाल सरकारले ध्यान दिन नसकिरहेको बताए । ‘मुलुकमा रोजगारीको सम्भावना नभएकाले बिदेसिनु बाध्यता हो,’ उनले भने, ‘तर, वैदेशिक रोजगारीबारे नेपाल सरकारले उचित सम्बोधन गर्नुपर्छ । बिदेसिने एकीकृत रूपमा नेपालको सम्भावना भएका क्षेत्रहरू कृषि, ऊर्जा पर्यटनमा लगानी बढाउनुपर्छ ।’

संस्थापक अध्यक्ष महतोले मेरो इज्जत नेपालको समृद्धिसँग जोडिएको छ भन्ने सोच राखी लगानी बढाउन आह्वान गरे । ‘कुरा हैन काम गरौं । हामी जुन अवस्थामा छौं, जे छ त्यही गरौं,’ उनले भने । पूर्वअध्यक्ष लामिछानेले मुलुक बाहिर रहेका नेपाली नागरिकले विश्वव्यापी सञ्जाल बनाएको र यसमार्फत मुलुकको समृद्धिमा सहयोग पुर्‍याउनुपर्ने धारणा राखे । ‘अन्य कुनै पनि मुलुकका नागरिकले यस्तो सञ्जाल बनाएका छन् भन्ने मलाई लाग्दैन,’ उनले भने ।

श्रम क्षेत्रमा देखिएको समस्याहरूको सूक्ष्म ढंगले छलफल भएको र त्यसलाई नीतिगत रूपमा सम्बोधन गर्ने पहल जारी रहने एनआरएनए मलेसियाका उपाध्यक्ष रमेश तिवारीले बताए । उनका अनुसार सम्मेलनमा झन्डै डेढ सय गैरआवासीय नेपालीहरू सम्मेलनमा सहभागी भए ।

रोजगारीको जानकारी मोबाइलमै

मलेसिया– वैदेशिक रोजगारी, गन्तव्य हुलुक र विद्यमान ऐन कानुनबारे एकै ठाउँमा जानकारी पाइने भएको छ । मलेसियास्थित पत्रकार रामचन्द्र गिरीले तयार पारेको ‘मुग्लान’ मोबाइल एप्लिीकेसन डाउनलोड गरी यसबारे जानकारी लिन सकिने भएको हो । एनआरएन एसिया प्रशान्त सम्मेलनको अवसर पारेर परराष्ट्रमन्त्री प्रकाशशरण महतले सोमबार उक्त एप्लिकेसनको सार्वजनिक गरेका छन् ।

प्रकाशित : चैत्र ७, २०७३ ०९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?