कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संस्थानले धान किन्न सकेन

पर्सा — निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्न नसक्दा खाद्य संस्थान वीरगन्ज शाखाले यो वर्ष लक्ष्यअनुसार धान खरिद गर्न सकेको छैन । शाखाले गत पुस १२ देखि हालसम्म १० हजार ८४ क्विन्टल ९५ किलो सोना मन्सुली खरिद गरे पनि जिरा मसिनो धान किन्न सकेको छैन ।

यस वर्ष चैत मसान्तसम्ममा सोना मन्सुली १० हजार र जिरा मसिनो २५ हजार क्विन्टल खरिदको लक्ष्य राखेको थियो । शाखा प्रमुख पवित्र गौतम यस अवधिमा लक्ष्यअनुरूपको जिरा मसिनो धान खरिद हुन नसकेको बताउँछन् । ‘हामीले सोना मन्सुली खरिद गर्न सफल भएका छौं,’ उनले भने, ‘किसानले जिरा मसिनो धान एक गेडा पनि बिक्री गर्न ल्याएका छैनन् ।’ यस वर्ष जिरा मसिनो खरिद हुन नसक्ने देखिएपछि संस्थान केन्द्रीय कार्यालयले बाँकी रहेको खरिदको लक्ष्य भेट्टाउन जिरा मसिनोको सट्टामा सोना मन्सुली खरिद गर्न निर्देशन दिएको उनले बताए ।

शाखाले सुरुमा सोनाको खरिद मूल्य प्रतिक्विन्टल २ हजार १ सय २५ र जिराको २ हजार ७ सय रुपैयाँ तोकेको थियो । त्यसलगत्तै तराईमा धानको मूल्य बढेकाले जिल्लास्तरीय प्राथमिक खरिद समितिको निर्णयले मूल्य बढाएर सोनाको प्रतिक्विन्टल २ हजार ३ सय र जिरा मसिनोको २ हजार ८ सय ७५ रुपैयाँ बनाएको थियो । त्यसपछि खाद्यले किसानको सोना मसिनो धान किन्न पाएको हो । यस भेगका किसानले जिरा मसिनोको खेती कम गर्न थालेकाले लक्ष्यअनुसारको धान खरिद हुन नसकेको शाखा प्रमुख गौतमले बताए ।

हाल बजारमा सोनाको खरिद मूल्य प्रतिक्विन्टल २ हजार ४ सय रुपैयाँ पुगेको छ । समितिबाट पटकपटक धानको खरिद मूल्य बढाउन गाह्रो हुने भएकाले शाखाले तत्काललाई एकपटक बढाएको सोनाको मूल्यमा खरिद गरिरहेको गौतम बताउँछन् । शाखाले गत वर्ष १० हजार क्विन्टल सोना मन्सुली र ५ हजार क्विन्टल जिरा मसिनो धान खरिद गरेको थियो ।

प्रकाशित : चैत्र ७, २०७३ ०९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?