कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जहाज चढ्ने बढे

भरतपुर — जिल्लामा जहाज चढ्ने यात्रुको संख्या बढेको छ । नारायणगढ–मुग्लिन सडकको मर्मत र सवारी दुर्घटना बढेपछि यात्रुहरू जहाज चढ्न थालेका हुन् ।

भरतपुर विमानस्थल कार्यालय प्रमुख शिव उपाध्यायका अनुसार सन् २०१७ को जनवरी महिनामा १६ हजार २ सय यात्रुले जहाज चढेका थिए । यहाँबाट एकतर्फी मात्र ८ हजार १ सय ५२ ले यात्रा गरे । ‘सडकलगायत विभिन्न कारणले जहाज चढ्नेको संख्या बढेको हो,’ उनले भने, ‘एक वर्षको अवधिमा हवाई यात्रुको संख्या चार गुणाले बढेको छ ।’ यात्रुको चाप र जहाज उडान संख्या बढेपछि विमानस्थलमा पूर्वाधार विकासको आवश्यकता खडकिएको छ । २५ वर्ष अगाडिको उडान क्षमता हेरेर भौतिक संरचना तयार पारिएको विमानस्थलमा यात्रुको चापअनुसार पूर्वाधार थप गर्नुपर्ने प्रमुख उपाध्यायले बताए ।

बुद्ध र अग्नि एयरले सेवा दिँदै आएकामा अब सिम्रिकले समेत उडान भर्न लागेको छ । यहाँबाट राजधानीको भाडा ३ हजार ५ सय छ । सन् २०१६ को जनवरी महिनामा हवाई यात्रुको संख्या जम्मा २ हजार ३ सय ४९ थियो । एक वर्षमा बढेर १६ हजार पुगेको हो । यसै वर्षको फेब्रुअरीमा ७ हजार ७ सय ४० जनाले यात्रा गरेको विमानस्थलको तथ्यांक छ । हाल दैनिक यतीले ३ र बुद्ध एयरले ४ वटा उडान गरिरहेका छन् । वर्षातको समय १२ वटासम्म उडान भएको थियो । तालिकाबाहेक दैनिक २ वटा जहाज चार्टर उडान हुने गरेको छ ।

कार्यालयका अनुसार सिम्रिक एयरलाइन्सले एउटा उडान भर्नका लागि अनुमति लिइसकेको छ । सिम्रिकले बिच क्राफ्ट जहाज (सानो) उडाउने भएको हो । उडान चाप र जहाज थपिएपछि ठूला जहाज (एटीआर) पार्किङमा समस्या पर्ने भएको छ । पछिल्लो समय हवाई यात्रुको संख्या बढेसँगै जहाज थपिने क्रम पनि बढेको छ । दिनहुँजसो खस्ने पहिरो र सवारी जामले सडक मार्ग यात्रा जोखिम भएपछि जहाज चढ्नेको संख्या ह्वात्तै बढेको हो ।

प्रकाशित : चैत्र ७, २०७३ ०९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?