कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कामदारका छोरा अर्बपति

दिनेश यादव

धेरै पुरानो एउटा भनाइ– ‘पैसाले पैसालाई तान्छ’ सबैले कुनै न कुनै बेला सुनैकै हुनुपर्छ । तर, सधैं यो भनाइ लागू नहुन सक्छ । हरेक धनाढ्य व्यक्ति सुरुदेखि नै धनी हुन्छ भन्ने पनि छैन । विश्वमा यस्ता धेरै उदाहरण छन्, पहिले गरिबीको रेखाभन्दा निकै तल रहेका व्यक्ति आज विश्वकै नामुद अर्बपति बनेका छन् ।

कामदारका छोरा अर्बपति

अथक परिश्रम र लगनशीलता तथा केही गर्ने चाहनाका साथ अघि बढ्दा मानिस सफल भएकै छन् । त्यसरी सफल भएका आदर्श व्यक्तित्व विश्वमा धेरै छन् । तीमध्येका केन्नी ट्राउट पनि एक हुन् । एउटा भोजनगृहमा नोकरी गर्थे केन्नी ट्राउटका पिता । परिवारको आर्थिक अवस्था अत्यन्तै दयनीय थियो ।

परिवारका सदस्यलाई दुई छाक टार्नसमेत धौधौ थियो । खानैलाई नपुग्ने अवस्थामा महँगो पढाइ त उनका लागि एकादेशको कथा जस्तै थियो । प्रारम्भिक शिक्षा जसोतसो हासिल गरेपछि बाँकी पढाइका लागि रकम जुटाउन उनले एउटा जुक्ति निकाले । उनी कलेजको शुल्क तिर्नका लागि एउटा इन्स्योरेन्स कम्पनीमा बिमा बेच्ने काम थाले । त्यसबाट आर्जन गरेको रकम मितव्ययी भई खर्च गर्थे ट्राउट । त्यही रकमबाट अमेरिकाको दक्षिणी इलिनाइस विश्वविद्यालयमा आफ्नो शुल्क तिर्थे । बचेको रकम अनापसनापमा खर्च गर्नुको साटो सञ्चित गरेर राख्थे । तिनै ट्राउट आज ‘एक्सेल कम्युनिकेसन्स’ कम्पनीका मालिक बनेका छन् । सन् १९८८ मा खोलिएको यो कम्पनी लामो दूरीमा फोन सम्पर्क गर्ने सहयोग पुर्‍याउने गर्छ । सन् १९९६ मा उनले कम्पनीको विस्तारको प्रयास थाले । दुई वर्षपछि उनले टेलिग्लोबसँग ३ दशमलव ५ अर्ब डलरको सम्झौता गर्दै कम्पनीलाई विलय गराए । उनले आफ्नो आम्दानी सेयर बजार, बन्धकी र घोडाहरूमा लगानी गरे । उनले आफ्ना दुई छोरालाई संलग्न गराउँदै राष्ट्रियस्तरको शक्तिशाली युवा बास्केटल टिमको प्रायोजन गरे । उक्त टिमले प्रतियोगिता जितेपछि प्राप्त रकम पहुँच नभएका परिवारको सहयोगमा खर्च गर्ने गर्छ । भर्साइलीमा उनको आफ्नै घोडाको तबेला छ, जहाँ ३ सयदेखि ५ सयसम्म घोडा छन् । घोडा दौडमा उनको औधि रुचि भएकाले यसको प्रतियोगिताको समेत आयोजना गर्ने गर्छन् । अमेरिकी अखबार ‘फोब्र्स’ का अनुसार ट्राउटको कुल १ दशमलव ४१ अर्ब (रियल टाइम १४ अप्रिल २०१७) रहेको छ । इलिनोइस राज्यको माउन्ट भर्नोनमा जन्मेका ६९ वर्षीय अमेरिकी उद्यमी केन्नी ट्राउटको कम्पनीको मुख्यालय टक्सासमा छ । 

यसैगरी अर्का आदर्श व्यक्तित्व हुन्, होवार्ड स्कुल्टज । अमेरिकाको न्युयोर्क राज्यको न्युयोर्क सिटीमा अत्यन्तै गरिब परिवारमा जन्मेका होवार्डको बाल्यकालदेखि नै धनाढ्य बन्ने चाहना थियो । किनभने उनले बालक छँदै परिवारको दयनीय आर्थिक अवस्था देखे भोगेका थिए । ब्रुकलिन हाउजिङ प्रोजेक्टमा उनका पिता कपडा बेच्ने काम गर्थे । तलब, बिमा र नोकरीको कुनै ग्यारेन्टी नभए पनि परिवारको दुई छाक टार्नकै लागि उनका पिताले त्यहाँ काम गरेका थिए । होवार्ड स्कुल्टजले जसोतसो प्राराम्भिक शिक्षा ग्रहण गरे । त्यसपछि उच्च शिक्षा कसरी हासिल गर्ने भन्ने चिन्तामा थिए, उनी । ‘भाग्यमानीको भुतै कमारो’ भन्ने नेपाली उखान ठ्याक्कै उनीमा चरितार्थ भयो । चिन्तामै रहेका बेला उनले फुटबल छात्रवृत्तिमा उत्तरी मिचिकन विश्वविद्यालयमा पढ्ने मौका पाए । त्यो मौका गुमाउन चाहेनन्, उनी । किनभने पढाइसँगै परिवारमा पहिलो स्नातक गर्ने सदस्यसमेत बन्ने अवसर पनि थियो, त्यो । आफ्नो पढाइ पूरा गरेपछि उनले ‘स्टारबक्स’ नामक एउटा कफी पसलमा जागिर थाले । थोरै रकममा उनले त्यहाँ काम गरे । बेरोजगार बस्नुभन्दा केही रकम भए पनि आफ्नो हातमा परोस् भनेर उननले उक्त पसलमा काम सुरु गरेका हुन् ।

जुन बेला उनले ‘स्टाबक्स’ मा जागिर थालेका थिए, त्यसताका उक्त कम्पनीको ६० वटा मात्रै शाखा थियो । आफ्नो परिश्रमकै बलमा होवार्ड ‘स्टाबक्स’ का सीईओ बन्न सफल भए । यति मात्रै होइन, सन् १९८७ मा उनी कम्पनी खरिद गर्ने हैसियतमै पुगे । हाल उनी उक्त कम्पनीका अध्यक्ष हुन । विश्वभरि यो कम्पनीको झन्डै १६०० शाखा फैलिएको छ । होवार्ड आफ्नो कम्पनीलाई विभेदरहित अर्थात ‘रेस रिलेसन’ र युवाहरूका लागि राम्रो कार्यस्थल बनाउने प्रयासमा सधै छन् । कलेज पढ्न चाहने आफ्ना कर्मचारीलाई मौकासमेत दिन्छन् । उनी सामाजिक परिवर्तनका पृष्ठपोषकका रूपमा आफूलाई उभ्याउन चाहन्छन् । समाजमा कुनै पनि खाले विभेद रहनु हुन्न भन्ने सोच उनमा छ । परिश्रमलाई आफ्नो प्रगतिको मूलमन्त्र ठान्दै अघि बढेकाले उनको कम्पनी हाल पाँच गुणाले धनार्जन गरिसकेको छ । फोब्र्सका अनुसार ६३ वर्षीय होबार्डको कुल सम्पत्ति ३ अर्ब डलर (रियल टाइम, १४ अप्रिल २०१७) रहेको छ । अझै पनि उनी एउटा ‘लक्का जवान’ झैं सक्रिय र क्रियाशील छन् । 

स्रोत : एजेन्सी

प्रकाशित : वैशाख २, २०७४ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?