कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मध्यपहाडी लोकमार्ग ११३ किमि कालोपत्रे

दीपेन्द्र विष्ट

काठमाडौं — भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मध्यपहाडी लोकमार्गको १ सय १३ किमि सडक कालोपत्रे गर्ने काम सकिएको जनाएको छ । कुल १ हजार ७ सय ५६ किमिमध्ये पूर्वी ६१ र पश्चिम खण्ड ५२ किमि कालोपत्रे भएको हो । पाँचथरको चियोभञ्ज्याङबाट सुरु हुने यो राजमार्ग बैतडी झुलाघाटमा टुंगिन्छ ।

मध्यपहाडी लोकमार्ग ११३ किमि कालोपत्रे

 

लोकमार्गले २४ जिल्ला र १९ जिल्लाका सदरमुकाम छिचोल्लेर जानेछ । सडक विभागका अनुसार पूर्वदेखि पश्चिमसम्मको सबै खण्डमा ट्रयाक खोल्ने काम सकिएको छ । आगामी ४ वर्षभित्र सम्पूर्ण सडक कालोपत्रे गरिने विभागको दाबी छ । ‘मुख्य समस्या बजेटको हो, विनियोजन गरियो भने समस्या छैन,’ विभागका एक अधिकारीले भने । मध्यपहाडी लोकमार्ग पश्चिम खण्डका प्रमुख सूर्य रानाभाटका अनुसार बाग्लुङ, रुकुम, जाजरकोट दैलेख, गोरखालगायतका जिल्लामा कालोपत्रे गर्ने काम भइरहेको छ । ‘केही टेन्डर भइसकेको छ,’ उनले भने, ‘साँगुरो सडक भएको स्थानमा चौडा पार्ने काम भइरहको छ । काम तीव्र रूपमा अघि बढेको छ ।’ लमजुङको केही खण्डमा मुआब्जा विवादले काम अलि ढिलाइ भएको उनले बताए । ‘८ किमिमा बजार छ, त्यहाँ केही घर भत्काउनुपर्ने हुनाले मुआब्जा विवाद छ,’ उनले भने, ‘त्यो पनि चाँडै समाधान होला ।’ पश्चिम खण्डमा १४ जिल्ला पर्छन्, तीमध्ये १० जिल्लामा कालोपत्रे भइरहेको उनले बताए । हालसम्म ६ अर्ब रुपैयाँ खर्च भइसकेको उनले जनाए । सम्पूर्ण राजमार्ग कालोपत्रे गर्न १५ अर्ब रुपैयाँ लाग्ने उनको भनाइ छ । 

च्याङथापुदेखि पश्चिम झुलाघाट ट्रयाक जोडिइसकेकाले यातायात सञ्चालन भइरहेको उनले बताए । नुवाकोटको पाटी भन्ज्याङदेखि बैतडीको झुलाघाटसम्मको १ हजार ९७ किमि पश्चिम खण्डमा पर्छ भने ६ सय ५९ किलोमिटर पूर्वी खण्डमा पर्छ । उनका अनुसार यस खण्डमा साना ठूला गरी ८० वटा पुल पर्छन् । तीमध्ये २७ वटा पुलको निर्माण कार्य सम्पन्न, ८ वटा निर्माणाधीन र अन्यको टेन्डर प्रक्रिया अघि बढेको उनले बताए । पूर्वी खण्डको चियोभज्याङमा ट्रयाक खोल्ने काम भए पनि कालोपत्रे गर्न समस्या भएको पूर्वी खण्डका प्रमुख सतेन्द्र शाक्यले बताए । 

जोरसालदेखि तमोरको गणेशचोकसम्म कालोपत्रे सम्पन्न भइसकेको भन्दै उनले अन्य भागमा टेन्डर प्रक्रिया अघि बढेको बताए । पाँचथर खण्डमा पर्ने सिवा, मुसेपा, फलामे, सिलसिले, मेवा र ओयामसहित ६ वटा खोलामा २० देखि ४० मिटरसम्म लम्बाइका पुल निर्माण गर्ने क्रम जारी रहेको उनले बताए । यस खण्डमा जम्मा ४० पुल रहेको उनले बताए । तीमध्ये २० को निर्माण सम्पन्न, ११ निर्माणाधीन र ९ वटा ठेक्का प्रक्रियामा छन् । 

हालसम्म करिब ७ अर्ब ५१ करोड रुपैयाँ खर्च भइसकेको छ भने सम्पूर्ण खण्ड कालोपत्रे गर्न थप १२ अर्ब रुपैयाँ चाहिने उनले बताए । सम्पूर्ण राजमार्ग कालोपत्रे भए मध्यपहाडी भेगमा बस्ने मानिसको जीवनस्तरमा परिवर्तन आउने उनले जानकारी दिए । यस लोकमार्ग १० नयाँ सहरको पनि पर्छन् । सरकारले २० वर्षमा प्रत्येक सहरमा १ लाख जनसंख्या अटाउने महत्त्वाकांक्षी योजनासाथ पाँचथरको फिदिम, तेह्रथुमको वसन्तपुर, सिन्धुलीको खुर्कोट, धादिङको बैरेनी गल्छी, तनहुँको डुम्रे, बागलुङको बुर्तीबाङ, रुकुमको चौरजहारी, दैलेखको राकम, अछामको साँफेबगर र बैतडीको पाटनलाई नयाँ सहर घोषणा गरिसकेको छ ।

प्रकाशित : वैशाख ८, २०७४ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?