कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जुटमा लगाइएको अन्त:शुल्क हट्यो

विराटनगर — नेपाली जुट सामग्रीमा भारतले लगाउँदै आएको साढे १२ प्रतिशत अन्त:शुल्क हटाएपछि निर्यात सुचारु भएको छ । अन्त:शुल्क र एन्टी डम्पिङ शुल्क लगाएपछि नेपाली जुटका सामग्री ४ महिनादेखि भारत पठाउन रोकिएको थियो ।

जोगबनीस्थित भारतीय भन्सार अधिकारीले गत वर्षको साढे १२ प्रतिशत अन्त:शुल्क बक्यौता नतिरेको भन्दै नेपाली जुटका सामग्री निकासीमा अवरोध गरेका थिए ।

निकासीमा साढे १२ प्रतिशत अन्त:शुल्क र एन्टी डम्पिङ शुल्क लगाएपछि यहाँका जुट उद्योग संकटमा परेका थिए । ‘भारतले अन्त:शुल्क हटायो,’ नेपाल जुट उद्योग संघका अध्यक्ष राजकुमार गोल्छाले भने, ‘एन्टी डम्पिङ शुल्क कायमै छ ।’ अन्त:शुल्क हटेपछि निकासी सुचारु भएको उनले बताए ।

भारतले नेपालमा उत्पादन भएर निकासी हुने सुतलीमा ३ देखि ४ प्रतिशत, बोरामा ४ देखि ५ प्रतिशत र हेसियन चट्टीमा ० देखि २ प्रतिशत एन्टी डम्पिङ शुल्क लगाएको छ । अन्त:शुल्क र एन्टी डम्पिङ शुल्क हटाउन राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल, परराष्ट्रमन्त्री प्रकाशशरण महत र भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले भारतसमक्ष पहल गरेका थिए ।

नेपाली जुट उद्योगले भारत र बंगलादेशबाट कच्चा जुट आयात गरी हरेक वर्ष ठूलो परिमाणमा जुट सामग्री भारत निकासी गर्दै आएका छन् । सरकारी अनुदान नपाउँदा र ऊर्जाको संकटका कारण भारत र बंगलादेशमा उत्पादित जुटसँग प्रतिस्पर्धा गर्न नसक्दा नेपालमा खुलेका दर्जन जुट उद्योगमध्ये आधा बन्द भइसकेका छन् ।

प्रकाशित : वैशाख १३, २०७४ ०९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?