कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लेक उक्लिँदै भेडीगोठ

आश गुरुङ

लमजुङ — गर्मीयाम सुरु भएसँगै गोठालाले भेडीगोठलाई लेकतिर सार्न थालेका छन् । भुजुङ, पसगाउँ, सिङी, घनपोखरा, ताघ्रिङ, भुलभुले, इलम पोखरीलगायत ग्रामीण क्षेत्रका बासिन्दाले भेडीगोठ बेंसीबाट सार्न थालेका हुन् ।

लेक उक्लिँदै भेडीगोठ

गर्मीयाममा तातो हावा चल्ने भएकाले गोठालाले लेकतिर भेडीगोठ लैजाने गर्छन् । घलेगाउँका केशमान गुरुङले भेडीगोठलाई गाउँमाथिको लेक रपुजुमा सारिसकेका छन् । त्यस गोठलाई जेठ मसान्तमा फेरि लेकमा लाने उनको तयारी छ । घलेगाउँकै टेकबहादुर न्यौपाने र बबिध्वज गुरुङले पनि गोठ लेकमा सार्ने भएका छन् । ‘अब गर्मीमा राख्यो भने भेडाबाख्रा बिरामी हुन्छन् । लेकको ठण्डा हावापानीमा लानुपर्छ,’ केशमानले भने ।

भदौ अन्तिमसम्म लमजुङ हिमालको काख ठुललेकमा रहेका गोठ चिसो बढ्न थालेपछि उनीहरूले कात्तिक–मसान्ततिर बेंसी झारेका थिए । घेर्मुका कर्म गुरुङका अनुसार पुस, माघ र फागुनमा लेकमा निकै चिसो हुँदा गोठ राख्न सकिन्न । त्यतिबेला गाउँतिर भेडाबाख्रा ल्याउने गरिन्छ । गर्मीयाममा गाउँमै तातो हावा आउने भएको चिसो ठाउँ खोज्दै जानुपर्छ । उनका अनुसार वर्षायाममा मनाङको सिमाना डोना ताल क्षेत्रसम्म गोठ पुग्छ । ‘पूरै शीत र हिउँ परेर भेडा र मान्छे दुवै बस्न सकिँदैन । त्यतिबेला गाउँमा झारेका थियौं । हाल गाउँको तल्लो क्षेत्रबाट माथिल्लो क्षेत्रबाट राखिएको छ । बिस्तारै लेकमा लाने हो ।’

लेकमा चिसो हुने भएपछि मनाङका भेडीगोठ पनि लमजुङका खेतहरूमा ल्याइएका थिए । हाल ती गोठहरू मनाङतर्फ लगिएको छ । धारापानीको ओडार गाउँका बेनबहादुर गुरुङले एक महिनाअघिसम्म लमजुङको खुदीस्थि काभ्रे गाउँमा रहेको भेडीगोठ हाल आफ्नै गाउँतर्फ लगिएको बताए । सिउरुङका उमरबहादुर गुरुङले बर्खायाममा थुर्जुसम्म पुग्ने भेंडीगोठ चिसोयाममा गाउँमुनि झारेका थिए ।

हाल लेकतर्फ लगिएको उनले बताए । ‘जनैपूर्णिमा नुहाएको एकदुई सातापछि भेडीगोठ बेंसी झारिन्छ । कात्तिकमा गाउँ वरिपरि आइपुग्छ,’ उनले भने, ‘अब माथि जान सुरु भयो । जेठ अन्तिममा त हिमालको फेदमै पुग्छ ।’ लमजुङको भुजुङ, पसगाउँ, सिङी, घनपोखरा, ताघ्रिङ, भूलभूले, इलमपोखरीका बासिन्दाको गोठ लेकतिर सारिएको छ । त्यसैगरी दूधपोखरी, पाचोक, बन्सार, फलेनी, ढोडेनीलगायतका ग्रामीण क्षेत्रका बासिन्दाका भेडीगोठ लेकतर्फ लगिएको गोठालाले बताएका छन् ।

पशु सेवा कार्यालयका अनुसार जिल्लामा ४० घुम्ती भेडी गोठहरू छन् । हाल सबै भेडीगोठहरू बिस्तारै लेकतर्फ लान थालिएको पशु चिकित्सक नारायण कुसुमले बताए । उनका अनुसार भेडाले गर्मी नसहने भएकाले हल्का चिसो भएको ठाउँ खोजेर लानुपर्छ । साह्रै चिसोमा पनि भेडा बस्न सक्दैन । ‘अब लेकमा हरियो घाँस पलाउने बेला हो । यही घाँस पछ्याउँदै भेडालाई लेक लाने गरिन्छ,’ उनले भने ।

प्रकाशित : वैशाख २६, २०७४ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?