कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भन्सार असुली घट्दो

मोरङ — विराटनगर भन्सार कार्यालयमा भन्सार महसुल असुलीमा कमी आएको छ । चालु आर्थिक वर्षको वैशाखसम्मको लक्ष्यभन्दा १ अर्ब ३४ करोड २२ लाख ३४ हजार कम असुली भएको छ ।


गत आर्थिक वर्षभन्दा पनि १ अर्ब ७ करोड ९२ लाख २० हजार कम भन्सार असुली भएको कार्यालयले जनाएको छ । चालु आर्थिक वर्षको वैशाखसम्म भन्सार असुली लक्ष्य २० अर्ब ८८ करोड ८९ लाख ३३ हजार रहेकामा १९ अर्ब ५४ करोड ६६ लाख ९९ हजार मात्रै असुली भएको हो ।
गत आर्थिक वर्षमा सोही समयमा १९ अर्ब ४५ करोड ८१ लाख ६४ हजार भन्सार असुली लक्ष्यमा २० अर्ब ६२ करोड ५९ लाख १९ हजार असुली भएको थियो । अवैध रूपमा भन्सार छलेर चोरी पैठारी भइरहेकाले भन्सार असुलीमा कमी आएको भन्सार कर्मचारीले बताएका छन् । खुला सिमानाको उपयोग गर्दै तस्करहरूले अवैध रूपमा चोरी निकासी गर्दै आएका छन् । विराटनगरमा समेत भन्सार छली ल्याएको विभिन्न सामग्री खुला बिक्री वितरण हुने गरेको छ । यहाँका व्यापारीहरूले केही सामान भन्सार कटाएर केही अवैध रूपमा तस्कर लगाएर आयात निर्यात गर्ने परम्परा रहेको भन्सार कर्मचारीहरूले बताए ।
व्यापारीहरूले खाद्यान्न, कपडा, इलेक्ट्रोनिक्स, शृंगारका सामानलगायतका सामानहरू चोरी पैठारी गर्ने पाइएको छ । सशस्त्र प्रहरी बल राजस्व तथा भन्सार सुरक्षा गुल्म रानी विराटनगरले भन्सार छलेर अवैध रूपमा चोरी पैठारी गर्ने क्रममा चालु आर्थिक वर्षको चैतसम्ममा १५ लाख ५४ हजार ६ सय ३० रुपैयाँ मूल्य बराबरको मात्रै सामान बरामद गरी भन्सार बुझाएको छ । गुल्मका प्रमुख डीएसपी तीर्थबहादुर थापाले व्यापक रूपमा गस्ती बढाउँदा अवैध रूपमा भन्सार छलेर सामान ल्याउनेहरू निरुत्साहित भएकाले चोरी पैठारीमा कमी आएको दाबी गरे । विराटनगर भन्सार कार्यालयका प्रमुख कृष्ण बस्नेतले साउनदेखि नै भारतबाट यो नाकाबाट गाडी नआएकाले भन्सार असुलीमा कमी आएको दाबी गरे । उनले यस्ता थुप्रै आइटमहरू छन्, जुन यो नाकाबाट आउन छोडेकाले भन्सार असुलीमा कमी आएको सुनाए । विराटनगर भन्सार कार्यालयको चालु आर्थिक वर्षको कुल भन्सार असुली लक्ष्य २५ अर्ब ८० करोड ४० लाख ३७ हजार छ ।

प्रकाशित : जेष्ठ २, २०७४ ०८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?