कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

विदेशी मुद्रा कारोबारको विवरण अनलाइनबाटै

काठमाडौं — विदेशी मुद्राको कारोबार गर्ने संघसंस्थाहरूले अब अनलाइनबाट मात्रै राष्ट्र बैंकलाई विवरण बुझाउनुपर्ने भएको छ ।


ती कम्पनीहरूले यसअघि भौतिक रूपमा (राष्ट्र बैंकमै उपस्थित भएर) यस्तो विवरण बुझाउँदै आएका थिए । राष्ट्र बैंकले आइतबार परिपत्र गरी सम्बन्धित कम्पनीहरूलाई उक्त निर्देशन दिएको हो । विदेशी विनिमय कारोबारलाई सरल, पारदर्शी र व्यवस्थित बनाउने उद्देश्यले अनलाइनबाटै विवरण बुझाउन सकिने सुविधा दिइएको राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभाग प्रमुख भीष्मराज ढुंगानाले बताए । ‘यो व्यवस्थाले विदेशी विनिमयको कारोबार गर्ने संस्थाहरूलाई राष्ट्र बैंकसमक्ष मासिक विवरण बुझाउन सजिलो र छिटो हुन्छ,’ उनले भने । विदेशी विनिमयको कारोबार गर्ने संघसंस्थाले मासिक रूपमा राष्ट्र बैंकलाई विवरण बुझाउनुपर्छ ।
‘रेमिट्यान्सको कारोबार गर्ने बैंक तथा वित्तीय संस्था, रेमिट्यान्स कम्पनी, सटही कारोबार गर्ने मनी चेन्जर, विदेशी विनिमयको कारोबार गर्ने होटल, ट्राभल्स, ट्रेकिङ, कार्गोलगायत निकायहरूले ०७४ वैशाखदेखि आफूले गरेको विदेशी विनिमयको मासिक कारोबार विवरण अनलाइनमार्फत मात्र पठाउन अनुरोध छ,’ राष्ट्र बैंकले जारी गरेको निर्देशनमा उल्लेख छ । यो व्यवस्थाको कार्यान्वयनका लागि इजाजतप्राप्त कम्पनीले राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागबाट ‘युजर नेम’ र ‘पासवर्ड’ लिई सोही माध्यमबाट अनलाइन रिपोर्टिङ गर्न राष्ट्र बैंकले आग्रह गरेको छ । हाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको कारोबार विवरण पनि अनलाइनबाटै प्राप्त गर्दै आएको छ । सोहीअनुरूप विदेशी विनियमको कारोबार विवरण पनि अनलाइनमार्फत पेस गर्न संघसंस्थालाई निर्देशन दिएको हो ।
राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्था, रेमिट्यान्स कम्पनी, सटही कारोबार गर्ने मनी चेन्जर, विदेशी विनिमयको कारोबार गर्ने होटल, ट्राभल्स, ट्रेकिङ, कार्गोलगायत गरी साढे ५ हजार संघसंस्थाले विदेशी मुद्राको कारोबार गर्न अनुमति पाएका छन् । जसमध्ये अधिकांश बैंक तथा वित्तीय संस्था, ४९ रेमिट्यान्स कम्पनी, साढे ४ हजार मनी चेन्जर कम्पनी, १ सय ७० होटल र बाँकी अन्य कम्पनी रहेको राष्ट्र बैंकले बताएको छ ।

प्रकाशित : जेष्ठ २, २०७४ ०८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?