कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ब्रोकर कम्पनीको पुँजी १० गुणा बढ्यो

काठमाडौं — सेयर ब्रोकर कम्पनीहरूको चुक्ता पुँजी १० गुणा बढेको छ । ‘धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता नियमावली) २०६४’ संशोधनमार्फत चुक्ता पुँजी बढाइएको हो । धितोपत्र बोडर्डले बिहीबार उक्त नियमावली स्वीकृत गरेको हो । यो सँगै सेयर ब्रोकर कम्पनीहरूले न्यूनतम चुक्ता पुँजी २ करोड रुपैयाँ पुर्‍याउनुपर्नेछ । यसअघि ब्रोकरको न्यूनतम चुक्ता पुँजी २० लाख हुनुपर्ने व्यवस्था थियो ।

नयाँ व्यवस्थापछि ब्रोकर कम्पनीहरूले आगामी दुई महिना (०७४ असार मसान्त) भित्र न्यूनतम चुक्ता पुँजी २ करोड रुपैयाँ पुर्‍याउनुपर्ने बोर्डका प्रवक्ता निरज गिरीले बताए । ‘ब्रोकरको पुँजी बढाउने नेप्सेको प्रस्ताव बोर्डले स्वीकृत मात्र गरेको हो,’ उनले भने । धितोपत्र दलाल व्यवसायीको पुँजी, आवश्यक पूर्वाधार र जनशक्ति व्यवस्थापनलगायतका विषयहरूमा आवश्यक व्यवस्था गरी सो नियमावलीमा संशोधन गरिएको बोर्डले बताएको छ ।

नियमावली संशोधन गर्दै बोर्डले ब्रोकरको शाखा स्थापनाको प्रक्रियामा केही कडाइ गरेको छ । अब ब्रोकरहरूले शाखा सञ्चालन गर्दा बोर्डबाट पूर्वस्वीकृति लिनुपर्छ । यसअघि शाखा सञ्चालन पछि बोर्डलाई जानकारी दिनुपर्ने व्यवस्था थियो । ‘बोर्डको स्वीकृति लिएर मात्र शाखा कार्यालय खोल्न सक्ने र आवश्यक पूर्वाधार तथा अन्य सर्तहरू बोर्डले तोक्न सक्नेछ,’ बोर्ड द्वारा बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ । यस्तै ब्रोकरको मुख्य कार्यालयमा कम्तीमा वाणिज्य शास्त्र, अर्थशास्त्र, व्यवस्थापन, कानुन विषयमा स्नातक वा चार्टर्ड एकाउन्टेन्सी गरेको व्यक्ति प्रमुख हुनुपर्ने र परिपालन अधिकृत तथा सूचना प्रविधिसहित पाँच कर्मचारी हुनुपर्ने व्यवस्था गरिएको छ । यसअनुसार शाखा कार्यालयका लागि बोर्डले यस्ता कर्मचारी तोक्नेसमेत व्यवस्था गरिएको विज्ञप्तिमा उल्लेख छ । संशोधित व्यवस्थाले धितोपत्र व्यवसायीको शाखा व्यवस्थापनलाई अझ व्यवस्थित र सुदृढ गर्ने बोर्डको दाबी छ । हाल ५० वटा ब्रोकर कम्पनी सञ्चालनमा छन् । तीमध्ये ४२ वटाले उपत्यका बाहिर शाखा स्थापना गरिसकेका छन् ।

प्रकाशित : जेष्ठ ५, २०७४ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?