कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

घाँस मुठाको ५ रुपैयाँ

- सहरमा पालिएका खसी, बोका र गाईको आहारका लागि घाँस रोप्ने स्थानको अभाव
- मुठाको २ रुपैयाँबाट महँगियो
ठाकुरसिंह थारू

बाँके — गाउँघरमा जताततै पाइने घाँस नेपालगन्जमा मुठाको ५ रुपैयाँमा बिक्री हुन थालेको छ । सहरमा पाल्ने खसी, बोका र गाईको आहाराका लागि घाँस रोप्ने स्थान अभाव भएकाले महँगोमा किनबेच भएको हो ।

घाँस मुठाको ५ रुपैयाँ

नेपालगन्जमा मासुका लागि खसी, बोका र दूधका लागि गाई पाल्ने गरिए पनि सहरमा जोडिएर बनेका घरका कारण घाँस किन्ने बाध्यता छ । हरेक दिन बिहानै त्रिभुवनचोकमा घाँसको मेला नै लाग्छ । पशु चौपायाका लागि घाँस किन्ने र बेच्नेको भीड हुन्छ । एउटा बाख्राका लागि करिब १ सय रुपैयाँको घाँस किन्नुपर्ने पशुचौपाया पाल्नेहरू बताउँछन् ।

‘घरमा ५ बाख्रा पालेको छु । घाँस रोप्ने ठाउँ नभएपछि किन्नैपर्‍यो,’ नेपालगन्ज फुल्टेक्राका जिसान शेष भन्छन्, ‘घाँसको मूल्य बढेको छ । प्रत्येक दिन २ सय रुपैयाँको घाँस किन्नुपर्छ ।’ घाँस किन्नका लागि चौपायापालकहरू बिहानै ५ बजे त्रिभुवनचोक नपुगे चौपाया भोकै पर्न सक्ने उनीहरू बताउँछन् । नेपालगन्ज एकलैनिका रिन्कु हल्वाईले पनि बाख्राका लागि दैनिक १ सय रुपैयाँको घाँस किन्ने गरेको बताए ।

‘घरमा एउटा खसी पालेको छु । घरमा घाँस नभएपछि किन्नैपर्छ,’ उनले भने, ‘पहिले २ रुपैयाँ मुठामा पाइने घाँस ५ रुपैयाँमा किन्नुपर्छ ।’ बस्ती विस्तारसँगै नेपालगन्जमा खेतीपाती हुने जग्गा खाली छैन । जोडिएर निर्माण गरिएका पक्की घरका कारण घाँस रोप्ने स्थान अभाव छ ।

घाँस बिक्रीका लागि होलिया, हिरमिनिया, फत्तेपुरलगायतका स्थानीय नेपालगन्ज आउने गरेका छन् । त्यस्तै सीमावर्ती भारतीय किसानहरू पनि घाँस बिक्री गर्न यहाँ आउँछन् । रुपैडिहाका रहिस कवडिया हरेक दिन साइकलमा घाँस बोकेर बिहानै नेपालगन्ज आइपुग्छन् । ‘नेपालगन्जमा घाँसको माग धेरै छ । कोठीको जंगलबाटर घाँस काटेर ल्याउँछु,’ उनले भने, ‘बिहान घाँस बिक्री गरेर घर फर्किन्छु । कमाइ राम्रै छ ।’

घाँसको व्यवसाय गर्दै आएका डुडवा गाउँपालिका पिपरहवाका राजेश मौर्यले दैनिक २ सय मुठा घाँस बिक्री गर्दै आएको बताउँछन् । त्यसले राम्रो कमाइ भएको उनले सुनाए । ‘नजिकैको सामुदायिक वनमा घाँस खोज्छु । बिहानै आएर नेपालगन्जमा बिक्री गर्छु,’ उनले भने, ‘एकैछिनमा बिक्री हुन्छ । मागेजति पुर्‍याउन सकिँदैन ।’ गर्मी सुरु भएपछि घाँस कमै पाइने उनले बताए ।

प्रकाशित : जेष्ठ १०, २०७४ ११:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?