कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

६६% संस्थान नाफामा

राजु चौधरी

काठमाडौं — आर्थिक वर्ष ०७२/७३ मा करिब ६६ प्रतिशत सार्वजनिक संस्थाानहरू नाफामा गएको ‘सार्वजनिक संस्थानहरूको वार्षिक स्थिति समीक्षा’ प्रतिवेदनले देखाएको छ । अर्थ मन्त्रालयका अनुसार सञ्चालनमा रहेका ३५ संस्थानमध्ये २३ वटा नाफामा छन् ।

६६% संस्थान नाफामा

१२ वटा भने घाटामा रहेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनअनुसार यी संस्थानबाट ३४ अर्ब ९६ करोड ९ लाख रुपैयाँ खुद नाफा भएको छ । ०७१/७२ मा खुद नाफा ३४ अर्ब ४० करोड ६५ लाख रुपैयाँ थियो । समीक्षा अवधिमा नेपाल आयल निगमको खुद नाफा अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेपछि बढेको प्रतिवेदनमा छ । 

निगमको खुद नाफा १९ अर्ब ३५ करोड ९१ लाख रुपैयाँ पुगेको छ । निगमको नाफा बढेसँगै अन्य संस्थानको खुद नाफामा वृद्धि भएको आकलन प्रतिवेदनले गरेको छ । नाफामा गएका संस्थानहरूमा नेपाल दूरसञ्चार कम्पनी, नेपाल बैंक लि, कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक, नागरिक उड्डयन प्राधिकरण, राष्ट्रिय बिमा संस्थान, जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र कम्पनी लिमिटेड र हेटौंडा सिमेन्ट उद्योगलगायत छन् । ०७१/७२ मा राष्ट्रिय बिमा संस्थान, जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र र हेटौंडा सिमेन्ट नोक्सानमा थिए । पछिल्लो समीक्षा प्रतिवेदन ०७२/७३ मा यी संस्थानहरू नाफामा गएको उल्लेख छ । 

घाटामा जाने संस्थानहरूमा नेपाल विद्युत् प्राधिकरण, उदयपुर सिमेन्ट, नेसनल ट्रेडिङ, नेपाल औषधि लिमिटेड, जनक शिक्षा सामग्री, नेपाल खाद्य संस्थानलगायतका छन् । ०७१/७२ मा भने यीमध्ये नेपाल खाद्य संस्थान नाफामा थियो । ‘समग्रमा सार्वजनिक संस्थानको खुद नाफाको अवस्था सुधारोन्मुख छ,’ प्रतिवेदनमा भनिएको छ । सरकारले संस्थानको कार्यप्रकृतिका आधारमा औद्योगिक, व्यापारिक, सेवा, सामाजिक, जनउपयोगी र वित्तीय क्षेत्र गरी ६ भागमा विभाजन गरेको छ । औद्योगिक क्षेत्रअन्तर्गत दुग्ध विकास संस्थान, जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी, हेटौंडा सिमेन्ट, जनकपुर चुरोट कारखाना, नेपाल औषधि लि, उदयपुर सिमेन्ट र नेपाल ओरिन्ड म्याग्नेसाइट लिमिटेड गरी ७ वटा छन् । यीमध्ये जनकपुर चुरोट कारखाना लिमिटेड बन्द छ । 

औद्योगिक संस्थानको खुद नाफा २४ करोड ७२ लाख रुपैयाँ पुगेको प्रतिवेदनमा उल्लेख छ । ०७१/७२ मा यस क्षेत्रका संस्थानको खुद नोक्सान ६० करोड ८९ लाख रुपैयाँ थियो । जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्रले आफ्नो स्वामित्वमा रहेको जग्गा बिक्री गरी प्राप्त रकमलाई सञ्चालन आयमा समावेश गरेकाले नाफामा गएको जनाएको छ । ‘दुग्ध विकास संस्थान र हेटौंडा सिमेन्ट नाफामा रहेकाले पनि औद्योगिक संस्थानको खुद नाफा बढेको हो,’ प्रतिवेदन भनिएको छ । जनकपुर चुरोट कारखाना बन्द र दुग्ध विकास संस्थान र हेटौंडा सिमेन्टको सञ्चालन आयमा कमी आएकाले यस क्षेत्रलाई प्रभावित पारेको छ । यी ६ वटा संस्थानले चालु आर्थिक वर्ष ०७२/७३ मा ६ अर्ब ४३ करोड ४६ लाख सञ्चालन आय आर्जन गरेका छन् । ०७१/७२ मा ६ अर्ब ६२ करोड ८० लाख आय आर्जन थियो । प्रतिवेदनअनुसार नेपाल औषधि लिमिटेड र उदयपुर सिमेन्टले भने आयमा सुधार गरेको जनाएको छ । औद्योगिक क्षेत्रका संस्थानको कुल सञ्चित नोक्सानी ११ अर्ब २९ करोड ४९ लाख रुपैयाँ पुगेको प्रतिवेदनमा छ । ‘धेरै ठूलो रकम सञ्चित नोक्सानीमा रहेका हुनाले औद्योगिक क्षेत्रका संस्थानहरू समस्याग्रस्तमा रहेको निष्कर्ष निकाल्न सकिन्छ,’ प्रतिवेदनमा भनिएको छ । व्यापारिक क्षेत्रका संस्थानहरूको खुद नाफा १९ अर्ब २४ करोड ७० लाख रुपैयाँ पुगेको छ । आर्थिक वर्ष ०७१/७२ मा खुद नाफा १५ अर्ब ९ करोड ८५ लाख रुपैयाँ थियो । 

प्रतिवेदनअनुसार व्यापारिक क्षेत्रमा कृषि सामग्री कम्पनी लिमिटेड, राष्ट्रिय बिउबिजन कम्पनी, नेसनल ट्रेडिङ लिमिटेड, आयल निगम, खाद्य संस्थान र दि टिम्बर कर्पोरेसन अफ नेपाल छन् । समीक्षाअनुसार २०७२/७३ मा १ खर्ब ७ अर्ब १८ करोड ४६ लाख रुपैयाँ सञ्चालन आय आर्जन गरेका छन् । २०७१/७२ मा आय १ खर्ब ५० अर्ब ९३ करोड ५ लाख रुपैयाँ थियो । समीक्षाअनुसार राष्ट्रिय बिउबिजन कम्पनी लिमिटेड र खाद्य संस्थानबाहेक अन्य सार्वजनिक संस्थानहरूको सञ्चालन आय घटेको छ । व्यापारिक क्षेत्रका संस्थानको कुल सञ्चित नोक्सान पनि घटेको समीक्षामा उल्लेख छ । २०७२/७३ मा कुल सञ्चित नोक्सनी ५७ करोड ५४ लाख पुगेको जनाएको छ । २०७१/७२ मा १७ अर्ब ७९ करोड ६३ लाख रुपैयाँ थियो । समीक्षाअनुसार निगम सञ्चित नाफामा जाँदा यस क्षेत्रका संस्थानको सञ्चित नोक्सानी घट्न गएको हो । गत वर्षको तुलनामा खुद स्थिर सम्पत्ति ८० लाख रुपैयाँले बढेर १ अर्ब ९८ करोड ८७ लाख पुगेको उल्लेख छ । ‘कृषि सामग्री कम्पनी लिमिटेड र आयल निगमबाहेकका संस्थानहरूको स्थिर सम्पत्तिमा वृद्धि भएकाले यस क्षेत्रका सम्पूर्ण स्थिर सम्पत्तिमा वृद्धि भएको हो,’ समीक्षामा भनिएको छ । 

सेवा क्षेत्रका संस्थानको खुद नाफामा १ अर्ब ५१ करोड ८७ लाख रुपैयाँ पुगेको उल्लेख छ । २०७१/७२ मा खुद नाफा १ अर्ब ४३ करोड १ लाख रुपैयाँ थियो । २०७२/७३ मा १४ अर्ब ५५ करोड ५४ लाख सञ्चालन आय आर्जन गरेका छन् । यो २०७१/७२ को तुलनामा १४ प्रतिशतले बढी हो । सेवा क्षेत्रमा नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल वायुसेवा निगम, औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड, नेपाल पारवाहन तथा गोदाम व्यवस्था कं.लि., राष्ट्रिय उत्पादकत्व तथा आर्थिक विकास केन्द्र छन् । २०७२/७३ मा यस क्षेत्रको कुल सञ्चित नाफा १० अर्ब ६८ करोड ३१ लाख रुपैयाँ पुगेको छ । सामाजिक क्षेत्रका संस्थानको कुल सञ्चित नोक्सानी २ अर्ब २४ करोड ३४ लाख रुपैयाँ पुगेको छ । 

‘सार्वजनिक संस्थानहरूको वार्षिक स्थिति समीक्षा’ प्रतिवेदनअनुसार गोरखापत्र संस्थानबाहेक सबै सार्वजनिक संस्थानहरू खुद नोक्सानमा रहेका छन् । यस क्षेत्रमा सांस्कृतिक संस्थान, गोरखापत्र, जनक शिक्षा सामग्री, नेपाल टेलिभिजन र राष्ट्रिय आवास कम्पनीहरू छन् । आर्थिक वर्ष ०७२/७३ मा खुद नोक्सानी बढेर १८ करोड २१ लाख रुपैयाँ पुगेको छ । २०७१/७२ मा १२ करोड ५ लाख रुपैयाँ थियो । जनोपयोगी क्षेत्रका संस्थानहरूको नाफा ५४ दशमलव ८३ प्रतिशतले घटेको छ । प्रतिवेदनअनुसार ०७१/७२ मा खुद नाफा ९ अर्ब ५७ करोड रुपैयाँ थियो । ०७२/७३ मा घटेर ४ अर्ब ३२ करोड रुपैयाँमा झरेको प्रतिवेदनमा छ । यसअन्तर्गत नेपाल दूरसञ्चार कम्पनी, नेपाल विद्युत् प्राधिकरण र नेपाल खानेपानी संस्थान छन् । यस क्षेत्रका संस्थानहरूले ७३ अर्ब ५ करोड ६७ लाख सञ्चालन आय आर्जन गरेका छन् । यस क्षेत्रका सबै संस्थानहरूको सञ्चालन आय वृद्धि भएको प्रतिवेदनले देखाएको छ । विद्युत् प्राधिकरणको खुद नोक्सानी ७९ प्रतिशत र खानेपानी संस्थानको नोक्सानी ९९ प्रतिशत बढेकाले नाफा घटेको हो । 

वित्तीय क्षेत्रतर्फ ११ संस्थानहरू छन् । वित्तीय क्षेत्रका संस्थानहरूको खुद नाफा ९ अर्ब ८० करोड ६१ लाख रुपैयाँ पुगेको जनाइएको छ । ०७१/७२ मा ९ अर्ब ३ करोड ४५ लाख रुपैयाँ थियो । समीक्षाअनुसार अधिकांश संस्थानहरू खुद नाफामा छन् । यो क्षेत्रको कुल सञ्चित नोक्सान ०७२/७३ सम्म ३ अर्ब ८ करोड ३४ लाख रुपैयाँ पुगेको छ । 

सरकारको सेयर तथा ऋण बढ्यो
सार्वजनिक संस्थानहरूमा सरकारको सेयर लगानी र ऋण क्रमश: १३ दशमलव ८० र शून्य दशमलव ४२ प्रतिशत बढेको प्रतिवेदनमा उल्लेख छ । आर्थिक वर्ष ०७२/७३ मा कुल सेयर लगानी १ खर्ब ४३ अर्ब ५६ करोड ८२ लाख र कुल ऋण लगानी १ खर्ब ३० अर्ब ५० करोड ६८ लाख रुपैयाँ छ । २०७१/७२ मा सरकारको सेयर लगानी १ खर्ब २६ अर्ब १६ करोड ३ लाख र ऋण १ खर्ब २९ करोड ९६ लाख रुपैयाँ थियो । सार्वजनिक संस्थानमा सरकारबाट प्रवाहित सेयर तथा ऋण लगानीको महालेखा नियन्त्रक कार्यालयका अभिलेखबाट देखिने सेयर तथा ऋण लगानी हिसाब र सार्वजनिक संस्थानहरूको अभिलेख फरक–फरक विवरण देखिएको उल्लेख छ । 

संस्थानको स्थिर सम्पत्ति घट्यो
गत आर्थिक वर्षमा संस्थानको खुद स्थिर सम्पत्ति घटेको छ । प्रतिवेदनअनुसार आर्थिक वर्ष ०७१/७२ मा संस्थानको खुद स्थिर सम्पत्ति २ खर्ब ४४ अर्ब १३ करोड ८८ लाख रुपैयाँ थियो । ०७२/७३ मा खुद स्थिर सम्पत्ति घटेर २ खर्ब २५ अर्ब १० करोड ५५ लाख रुपैयाँ पुगेको छ । प्रतिवेदनअनुसार अधिक स्थिर सम्पत्ति भएका ५ वटा संस्थानमा नेपाल विद्युत् प्राधिकरण, नेपाल दूरसञ्चार कम्पनी, नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल वायु सेवा निगम र उदयपुर सिमेन्ट छन् । 

प्रकाशित : जेष्ठ १५, २०७४ ०९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?