कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कृषि उत्पादन बढ्यो

आयात पनि बढ्दो

काठमाडौं — आर्थिक सर्वेक्षणले यस आर्थिक वर्षमा ६ वटा खाद्यान्न (धान, मकै, गहुँ, कोदो, जौ र फापर) को उत्पादन १३ प्रतिशतले वृद्धि हुने देखाएको छ ।

कृषि उत्पादन बढ्यो

यो वृद्धि अंक हासिल भए चालु आर्थिक वर्षमा यी खाद्यान्नको उत्पादन ८६ लाख १४ हजार टन पुग्ने देखिन्छ । खाद्यान्न उत्पादन बढ्दै गएको सर्वेक्षणले देखाए पनि कृषि उपजको आयात त्यही अनुपातले हरेक वर्ष बढ्दो छ । सरकारले हरेक वर्ष बजेटमा वृद्धि गरिरहँदा कृषितर्फको निर्यात भने झिनो अंकले बढेको अर्थ मन्त्रालयद्वारा जारी आठ महिनाको तथ्यांक समेटिएको आर्थिक सर्वेक्षणमा देखाएको छ ।

चालु आर्थिक वर्षको पहिलो नौ महिना नेपालीहरूका लागि विभिन्न मुलुकबाट १ खर्ब २७ अर्ब ५६ करोड ८६ लाख रुपैयाँ बराबरको खाद्यान्न आयात भएको थियो । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार अघिल्लो वर्षको तुलनामा यस वर्षको पहिलो नौ महिनामा दुई दर्जन बढी मुलुकबाट २१ दशमलव ६९ प्रतिशतले कृषिजन्य वस्तु आयात गरिएको छ । यस अवधिमा कृषिसहितको वस्तुगत आयात गत वर्षको पहिलो आठ महिनाको दाँजोमा ४४ दशमलव २ प्रतिशतले बढेको छ । यो भनेको ६ खर्ब २८ अर्ब ५६ करोड रुपैयाँ बराबर हो ।

सर्वेक्षणले यस वर्ष धानको उत्पादन गत वर्षको दाँजोमा २१ दशमलव ६ प्रतिशतले वृद्धि भई ५२ लाख ३० हजार टन पुग्ने अनुमान गरेको छ । अघिल्लो वर्ष ४२ लाख ९९ हजार टन धान उत्पादन भएको थियो । त्यस्तै दोस्रो मुख्य बाली मानिने मकैको उत्पादन यस वर्ष ३ दशमलव ९७ प्रतिशतले बढेर २३ लाख २० हजार टन, गहुँको उत्पादन ६ प्रतिशतले बढेर १८ लाख ४१ हजार टन पुग्ने अनुमान छ । त्यस्तै यस वर्ष कोदो र फापर, दलहन बाली (मसुरो, चना, अरहर, भटमास, गहत) उत्पादन पनि झिनो अंकले बढ्ने अनुमान गरिएको छ ।

तर, विभिन्न भन्सार विन्दुबाट व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले संकलन गरेको तथ्यांक हेर्दा यता कृषि उत्पादन बढ्दो छ    उता भन्सारबाट कृषि उपज र वस्तु आयात पनि विगतका वर्षको तुलनामा बढेको देखिन्छ । केन्द्रका अनुसार चालु आर्थिक वर्षको पहिलो नौ महिनामा २४ अर्ब ९० करोडको कच्चा तेल, १८ अर्ब ५० करोडको चामल, १४ अर्ब ३० करोडको तरकारी, ७ अर्ब ४८ करोडको मकै र ५५ अर्ब ४४ करोड मूल्य बराबरको अन्य कृषि उत्पादन आयात भएको देखिन्छ । 

जीडीपीमा कृषिको योगदान घट्यो
यस वर्ष कुल गार्हस्थ उत्पादन (जीडीपी) मा २ दशमलव २ प्रतिशतले कृषिको योगदान घट्ने भएको छ । यो अंकको आधारमा यस वर्ष जीडीपीमा कृषिको योगदान २८ दशमलव ९ प्रतिशत मात्रै रहनेछ ।

०७२/७३ को जीडीपीमा कृषिको योगदान ३१ दशमलव १ प्रतिशत थियो भने त्यसअघिको वर्ष ३२ दशमलव १२ प्रतिशत थियो । तीन वर्षयता कृषिमा बजेट, लगानी र अनुदानका क्रार्यक्रम बढ्दै गइरहँदा कृषिको योगदान घट्दै आएको देखिन्छ । त्यस्तै यस वर्ष कृषि क्षेत्रको वार्षिक वृद्धिदर ५ दशमलव ३ प्रतिशत हुने अनुमान छ । गत वर्ष यो अंक ०.०३ प्रतिशत थियो । त्यस वर्ष १ दशमलव १४ प्रतिशत पुग्ने अनुमान थियो । अघिल्लो वर्षको सर्वेक्षणले ‘कृषि क्षेत्रको वार्षिक वृद्धिदर अपेक्षाकृत सन्तोषजनक हुन नसकेको’ उल्लेख गरेको थियो ।

यस्तो छ अवस्था
     - कृषियोग्य जमिन २६ लाख ४१ हजार हेक्टर : १७ लाख ६६ हजार हेक्टरमा मात्रै सिँचाइ 
     - यस वर्षको पहिलो आठ महिनामा ८५ अर्ब ४५ करोड ३१ लाख रुपैयाँ कृषिजन्य क्षेत्रमा ऋण प्रवाह 
    - रासायनिक मलको बिक्री (हिउँदे बालीबाहेक) मा १ लाख ८७ हजार १ सय ३१ टन पुग्यो 

प्रकाशित : जेष्ठ १५, २०७४ ०९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?